मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

आगामी नेतृत्वका लागि सोच्दैछु : पूर्वउपाध्यक्ष पोखरेल

आगामी नेतृत्वका लागि सोच्दैछु : पूर्वउपाध्यक्ष पोखरेल


लामो विवादपछि आएको एनआरएन अमेरिकाको नयाँ नेतृत्वको कार्यशैलीप्रति  विस्तारै असन्तुष्टिहरु बढ्न थालेका छन् ।
 
नयाँ नेतृत्वले अहिलेसम्म कुनै उल्लेख्य काम गर्न नसकेको,  नेपाल र नेपालीलाई जोडने तथा अझ बलियो बनाउने मामिलामा केही गर्न नसकेकोजस्ता टिप्पणीहरु सुनिन थालेका छन् । 
 
निर्वाचनको परिणामप्रति प्रश्न उठाउँदै अध्यक्षका तत्कालीन प्रत्याशी रवीना थापाले कानुनी उपचारको बाटो समात्ने संकेत दिएकी छन् भने यो बीचमा, कार्यसमितिभित्रै पनि एकअर्काप्रतिका गुनासाहरु बढ्न थालेका छन् ।
 
वर्तमान नेतृत्वप्रति असन्तुष्टि
 
यसैबीच, एनआरएन अमेरिकाको कार्यशैलीलाई नजिकबाट नियालीरहेका पूर्वउपाध्यक्ष राम सी पोखरेलले वर्तमान नेतृत्वले, नेतृत्वको गुण देखाउन नसकेको टिप्पणी गरेका छन् । 
 
गत निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी भई झण्डै एक हजार मत प्राप्त गरेका पोखरेलले दुई वर्षको नेतृत्व–अनुभव, डा केशव पौडेलले उपयोग गर्न नसकेको बताएका छन् । 
 
हिमालय खबरसँग कुरा गर्दै उनले भने– “नेतृत्वले, काम गर्न सक्ने र चाहनेलाई सँगै लिएर हिँड्न सकेको छैन । एनआरएन अमेरिका भन्ने संस्था सबैको होस् भन्ने समुदायको चाहना छ तर, नेतृत्वले यसअनुसार काम गर्न सकेको छैन ।” 
 
वर्तमान अध्यक्षले अघिल्ला दुइ वर्षको अनुभवबाट सिकेर यसपटक बलियो एनआरएन अमेरिका बनाउँछु भनेको सन्दर्भ उल्लेख गर्दै पोखरेल भन्छन्– “बलियो हुनुको साटो, थप बितृष्णा पैदा भएको छ । अनुभवी र परिपक्व नेतृत्वले गर्नेजस्ता कुनै पनि काम भएका छैनन् ।” 
 
निर्वाचनको परिणामको सन्दर्भमा, अध्यक्षका प्रत्याशी रवीना थापालाई कानुनी बाटो अबलम्बन गर्नेतर्फ धकेल्नु पनि नेतृत्वको कमजोरी भएको पोखरेलको ठम्याइ छ । पोखरेल भन्छन– “रवीना थापाले उठाएका विषयलाई नेतृत्वले समयमा नै सल्टाउन सक्नुपथ्र्यो ।”
 
“चुनावका वेला नक्कली मतदाताले भोट हालेको रवीना थापाले  प्रश्न उठाउनु भएको थियो, यसको जवाफ कतैबाट पनि  नपाए पछि अहिले कानुनी प्रकृयाअनुसार जवाफ माग्नुभएको छ । यदी यसको सही जवाफ दिइएन भने थप कानुनी झमेला आउन सक्छ–”पोखरेलले भने । 
 
“एनआरएन पहिला पनि विवादित भएको थियो, अमेरिकी अदालतसम्म  मुद्दा पुग्यो । यो कसैको हितमा भएन”–पोखरेलले भने – “यसपटक पनि त्यस्तो नहोस् भन्ने मेरो चाहना हो । वर्तमान नेतृत्वले सबैलाई समेटेर लैजानसके यस्तो अवस्था आउँदैन  ।” 
 
आईसीसी र क्षेत्रीय संयोजक गौरी जोशीको काम
 
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिको क्षेत्रीय समितिले पनि नयाँ काम गर्न नसकेको पोखरेलको टिप्पणी छ । 
 
पोखरेलकै शब्दमा “क्षेत्रीय संयोजक गौरी जोशीको मूल्याकंन गर्ने बेला त भएको छैन । पहिला एनआरएनमा काम गरेको भए पनि बीचमा उहाँ निष्कृय हुनुभयो, त्यसैले अहिले नयाँ हुनुहुन्छ । उहाँले एनआरएन अमेरिकालाइ अभिभावकत्व दिन सक्नुपर्छ । र , त्यो काम र व्यवहारमा देखिनुपर्छ ।”
 
एनआरएन अमेरिकाज क्षेत्रीय समन्वय समितिले गर्न लागेको विज्ञ सम्मेलन एउटा सकरात्मक कदम भएको उल्लेख गर्दै पोखरेलले सम्मेलनको सफलता त्यो कुन रुपमा संचालन हुन्छ र त्यसबाट आएको निष्कर्ष कति प्रभावकारी हुन्छ त्यसमा भरपर्ने बताए ।
 
उनले भने– “एनआरएन अमेरिकाभित्र थुप्रै समस्या छन । मैले पहिला नै भनेको थिएँ यो संस्था झोलावाट हार्ड डिक्स्कमा गयो ।  गौरीजी, आफैं आईटी कम्पनीमा संलग्न हुनुहुन्छ । मेरो अझै आशा छ योलगायत अन्य समस्या समाधानका लागि गौरीजी सफल हुनुहुन्छ ।” 
 
विज्ञ सम्मेलन एनआरएन अमेरिकाका लागि एउटा राम्रो मौका भएको पोखरेलले वताए । उनको विचारमा “विज्ञ सम्मेलनलाई राम्रोसँग सम्पन्न गर्ने हो भने यो नेपाललाई समृद्ध वनाउन उपयोगी प्रयास हुनसक्छ ।” 
 
अझै नेतृत्व गर्ने सोच 
 
निर्वाचनमा पराजित भएपछि त्यति नसुनिएका र नदेखिएका पोखरेलले  एनआरएन अमेरिकालाई फरक र सशक्त ढंगले हाँक्न सकिन्छ भन्ने आत्मविश्वास अझै पनि आफूमा रहेको पनि बताएका छन् । 
 
यसको अर्थ उनी फेरि अध्यक्षमा भिड्न चाहन्छन् ? जवाफमा पोखरेल भन्छन्– “अध्यक्षमा फेरि उठछु भनेर अहिले नै घोषणा गर्ने बेला भएको छैन । चाँडै चुनावमा होमिनु समयको बर्बाद गर्नु हो । उपयुक्त समयमा म निर्णय गर्छु । मेरा शुभचिन्तकहरुले अहिलेदेखि नै तपाईं अग्रसर हुनुपर्छ भनेका छन् । यसप्रति म सकारात्मक छु । मैलै पहिले पनि भनेको थिएँ विवादरहित र चलखेलरहित, नेपाल र नेपालीलाई जोडने साझा संस्थाको रुपमा एनआरएन अमेरिकालाई स्थापित गर्न म सदैव लागिरहने छु अहिले म केही पनि घोषणा गर्दिनँ ।”
 
उनले भनेका छन्, “मेरो विचारमा हामीले अहिले वर्तमान नेतृत्वलाई नै सफल वनाउन सहयोग गर्नुपर्छ । वर्तमान नेतृत्वले गर्ने राम्रा काममा मेरो सहयोग र समर्थन रहने छ । विज्ञ सम्मेलन र साधारण सभा सफल होस् मेरो शुभकामना छ ।”