विचार / ब्लग

एनआरएनको मनोनयन आतङ्क

827 पटक पढिएको

-विजयराज भट्टराई

29th Apr 2018, Sunday | २०७५ बैशाख १६, आईतवार १९:५३
म मधेशमा जन्मेर हुर्केको । सानो हुँदा गाउँमा हाटबजार लाग्थ्यो । हरेक शनिबार लाग्ने त्यही हाटबजार हाम्रो गाउँमा किनमेल, भएका सामान बेच्ने थलो थियो । हाटबजारमा थरिथरिका चटकहरू पनि हेर्न पाइन्थ्यो । त्यहाँ चिठ्ठा पनि खोलिन्थ्यो । अघिल्तिर राम्रा सामानहरू (त्यतिखेरका राम्रा सामानमा साइकल, क्यासेट प्लेयर, रेडियो, साइको फाइभ घडी लगायत) हुन्थे । 
 
'लैा हजुर अाउनुस्, चिठ्ठा किन्नुस् । हात खाली जाँदैन । ल अाउनुस्, अाउनुस्' यस्तैयस्तै भन्दै चिठ्ठा बेच्नेहरूले हाटमा जानेहरूलाइ अाफूतिर तान्थे । राम्रा र लोभलाग्दा सामान देखाउँदै उनीहरू दिनभरि चिठ्ठा बेच्थे । बेलुकी चिठ्ठा खोल्दा महंगा चिजजति के कसरी मिलाएर हो अाफैँलाइ पार्थे । कतिपय चाहि बिक्री नभएको चिठ्ठा नम्बरलाइ मिलाउँथे । हात खाली हुँदैन भनेर चिठ्ठा किनेका हामीहरू बेलुकी हाटबजारमा खान भनेर लगेको पैसा समेत गुमाएर फर्किन्थ्यैाँ । हामी साथीभाइ दैाँतरीहरू चिठ्ठा किनेको कुरा घरमा कसैलाइ पनि नभन्ने नि भन्दै अमिलो मुख लगाएर अाउँथ्यैाँ ।
 
तीन दशक अघिको ती दिनका यादहरूलाइ अहिले एनअारएनले ताजगी गराइदिएको छ । एनअारएनका विभाग, समिति, उपसमिति गठनले यस्तो लाग्दैछ, हाटबजारको हात खाली नजाने भनिएको ती चिठ्ठा जस्तै त होइन ? पद व्यापक रूपमा वितरण भैरहेको छ । तर पद पाएका धेरैले अाफूलाइ थाहा नभएको भन्दै पन्छिइरहेका छन् । 
 
अघिल्लो हप्ता ड्यालसमा भएको नेपालीहरूको ठूलै जमघटमा एकजनाले सुनाए–'हिजो-आज कसैलाइ भेट्नुभयो भने पहिले बधाइ दिइहाल्नुस् । पाँच जना जम्मा भएको ठाउँमा नमस्कार आदान प्रदानकै क्रममा चारजनालाइ बधाइ दिनुस् । तपाइलाइ पक्कै पनि सबैले, नभएपनि कम्तिमा तीनजनाले ‘धन्यवाद‘ फिर्ता गर्नेछन् ।'
 
किन भन्दा उनले यही एनअारएनकै विभाग, समिति र उपसमितिमा मनोनयनको जारी श्रृङ्खलालाइ जोडे ।  
 
यतिखेर अमेरिकाको नेपाली समुदायमा अलिकति चिनिएकाहरू पनि कोही हात खाली छैनन् । सबैलाइ पदको भाग पुगेको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) को अन्तर्राष्ट्रिय समितिदेखि लिएर एनआरएन अमेरिकाको राष्ट्रिय समितिसम्म अहिले विभाग गठन र व्यापक ढंगले पद बाँडफाँड भैरहेको छ । नेपाली समुदायमा थोरै पहिचान बनाएकाहरू सबैले ती विभाग, कमिटीहरूमा अवसर पाएका छन् । 
 
काम गर्लान, नगर्लान ? एउटै पनि बैठक बस्ला, नबस्ला ? एकै समितिमा रहेकाहरूबीच पनि आपसमा चिनजान होला, नहोला ? यो अलग विषय हो । तर एनआरएनको मनोनयन आतंकले भने अहिले अमेरिकाको नेपाली समुदायमा गतिलै चर्चा पाएको छ । 
 
पदमा मनोनित व्यक्ति उक्त पदका लागि इच्छुक हो, होइन ? उसको विज्ञता, दक्षता त्यो पदका लागि हो, होइन ? कुनै विचार र विवेक समेत नपुर्याइ यसरी मनोनित गरिएको छ कि अमेरिकाका रहेका सबै नेपालीलाइ कम्तिमा एक व्यक्ति एक पद दिने नीति लिएजस्तो धेरैले महसुस गरेका छन् ।
 
विगत दुइ महिनादेखि सुरू भएको एनआरएनको मनोनयन अहिलेसम्म पनि जारी छ । थाहा छैन कतिसम्म मनोनित हुन्छन्, कहिलेसम्म र कहाँसम्म यो सिलसिला चलिरहन्छ।  को व्यक्ति एनआरएनको कहाँ मनोनित भयो भन्ने जानकारीका लागि हिजोआज संबन्धित संस्थाको विज्ञप्ति,  वेबसाइट अपडेट कुर्नुनै पर्दैन । कसले फेसबुकको वालमा पहिलेनै फोटो टाँसेर बधाइ दिने भनेर लिगलिगे प्रतिस्पर्धा छ । सामाजिक संजाल खोल्ने बित्तिकै सबैभन्दा पहिले देखिने स्ट्याटस नै '…… एनआरएन आईसीसी/एनसीसीको …… कमिटिको …… पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु।'
 
औपचारिक निर्णय पूर्वनै भएका फोन/इमेल सुझावलाई आधार बनाई  एनआरएनकै जिम्मेवार कमिटिका सदस्यहरुले कसले पहिले थाहा पाउने र पोष्ट गर्ने भन्ने तछाड मछाड गरेर मनोनयनमा परेकाहरुलाई आफूले सिफारिस गरेको भनेर क्रेडिट लिन मारामार छ। 
 
अहिले संसारभरि तीनहजार भन्दा बढी नेपाली संघ संस्थाहरु होलान (यो आधिकारिक तथ्याङ्क हैन, अनुभवी अनुमान मात्र हो)। यति धेरै संघसंस्थाहरुमा 'नेपाल सरकार, परराष्ट्र मन्त्रालय, काठमाण्डौ'को छाप लागेको संस्था एनआरएन मात्र हो। धन माथीको रातीगेडी हुनुपर्ने यो संस्थामा आफ्नै सदस्यले यस्तरी कुरा काट्ने अवस्था सिर्जना हुनु सुखद् सन्दर्भ हुँदै होइन । 
 
जम्बो मन्त्रीमण्डल बनाएर सरकार टिकाउन बाध्यतामा जकडिएको हङ्ग पार्लियामेन्टबाट निर्वाचित प्रधानमन्त्रीलाई झैँ के गाह्रो पर्यो एनआरएनलाई नुन र सुनलाई एउटै बकेटमा राख्नुपर्ने ? लगामबाट छुटेको घोडा जस्तैगरि जसलाइ मन लाग्यो उसैलाइ र जुन पदमा इच्छा जाग्यो त्यही पद बाँडिदिने यो कस्तो परिपाटी विकास हुँदैछ ? हुन त नेतृत्वको आफ्नै बाध्यता पनि होलान तर प्रश्नहरु धेरै उब्जिए। 
 
 मनोनयन भएका अधिकांश व्यक्तिहरू तर्फ हेर्दा महसुस हुन्छ यो अतिनै भएको छ । मेगावाट र किलोवाट नबुझ्नेहरु जब बिधुत उत्पादनमा, प्राबिधिक तथा ब्याबसायिक शिक्षा नै नबुझेकाहरू प्राबिधिक शिक्षा ब्यबस्थापनमा, अर्थ नबुझ्नेहरु अर्थ ब्यबस्थापनमा, एउटा कविता समेत नलेखेकाहरू साहित्यिक उपसमितिमा मनोनित भएका छन् । 
 
एनआरएन विधानको परिच्छेद २ को खण्ड ५ परिभाषाको बुँदा नं. ५.१ अनुसार 'गैर आवासीय नेपाली' को परिभाषाले गैर आवासीयनै नभएकाहरु जब जिम्मेवार पदमा मनोनयन हुन्छन अनि सामाजिक सञ्जाल बधाईले भरिन्छ त्यसले पैदा गरेको सामाजिक बितृष्णालाइ गलत नाजायज भन्न मिल्दैन ।  
 
गत अक्टोबर तेस्रो साता काठमाडैाँमा भएको सम्मेलनबाट पारित गैर आवासीय नेपाली संघ २००३ को २०१७ को संसोधन सहित बनेको बिधान अनुसार यतिखेर १४१ सदस्यीय अन्तर्रष्ट्रिय समन्वय परिषद कार्यकारिणी समिति, सो कमिटिलाई सहयोग गर्न १६ सदस्यीय प्याट्रन तथा सल्लाहकार समिति अनि ५१ सदस्यीय अनररी काउन्सिल गठन भैसकेको छ। 
 
सोही विधानको दफा १७.८ अनुसार कार्यदल तथा टास्कफोर्सहरू गठन बेजोड गठन भैरहेका छन् । हाल सम्म १४ वटा कमिटि निर्माण भैसकेका छन् । १४ मध्ये ८ कमिटि अन्तर्गत ३७ उप-कमिटि गठन भैसकेको छन्। त्यसै गरि तीनवटा टास्कफोर्स गठन भैसकेको छ। अन्य कमिटि बन्ने क्रममा छन । 
 
 
हालसम्म गठित उप-कमिटिहरु मध्ये सदस्य तथा सल्लाहकार गरि 'ओपन युनिभर्सिटी' कमिटि-५२, स्पोर्ट्स एण्ड युथ-४९, फाइनान्स एण्ड सस्टेनिबिलिटि-४५, पोलिसी एण्ड प्रोसिड्युर-४४, फोरेन इम्प्ल्योइमेण्ट एंड रिलिफ-४६, वन एनसीसीवन च्यारिटि-४२, टुरिजम प्रोमोसन-४९, उज्यालो नेपाल-४४, प्रोमोसन अफ नेपाली गुड्स अब्रोड-४४, हेल्थ एण्ड हाइजिन-४१ सदस्यीय (यहाँ सम्पूर्ण संख्या राख्दा लामो हुने भएकोले प्रस्तुत नगरिएको) एबम रितले कमिटिहरु गठन भएका रहेछन। 
 
दक्ष, सक्षम र अनुभवीहरुले प्राय: कमिटि तथा टास्क फोर्सको नेतृत्व गरेको हुँदा परिणामको अपेक्षा भने गर्न सकिन्छ तर कमिटिको साइज हेर्दा कतै काम गर्न सक्ने र चाहनेलाई पनि त्यो भीडले अप्ठेरो पार्ने त हैन भन्ने सहज आशंका हुन्छ।  
 
सर्सर्ती हेर्दा एनआरएन आईसीसीको कार्यकारिणी समितिदेखि टास्कफोर्स सम्म मात्र एकहजारका हाराहारीमा सदस्य हुने देखिन्छ।  संख्या आफैँमा शक्ति हो जब यो सदुपयोग हुन्छ र अर्थपूर्ण ढंगले निर्माण गरिन्छ। आशंका यति मात्र हो जम्बो कमिटिहरु निर्माणको पछि अर्को चुनावको प्रपञ्च त छैन ? यतिखेर सबै कमिटिहरुका बाँकी डेढ बर्षमा २/३ वटा मिटिङ्ग बसोस्, कम्तिमा कमिटीमा भएका सबैले एक अर्काको परिचय पाउन, अनि जे जति सकिन्छ आफ्नो कार्यक्षेत्रमा छलफल होस् । 
 
यी त भए आईसीसीका कुरा । ७८ देशमा रहेको राष्ट्रिय समन्यव परिषदले अन्तराष्ट्रिय समन्यव परिषदको सिको गरेर त्यसैगरी समिति, उपसमितिहरू गठन गरिरहेका छन् । मेरो उद्देश्य कमिटि निर्माणमा असहमति जनाउनु हैन । मात्र जथाभावी योग्य-अयोग्य सबै एउटै बकेटमा राख्दा हाल सदस्य नरहेको तर बाहिर बसेर गतिबिधि नियालिरहेको निमित्त संस्थाप्रतिको आकर्षण भन्दा विकर्षण पो हुने हो कि भन्ने डर र शंका मात्र हो।  
 
राम्रा काम गरेको छ एनआरएन आईसीसीले। सन् २०१५ को भुकम्पमा नेपाल सरकार भन्दा पहिला उध्दारमा जुट्नेहरु थिए एनआरएन।  नेपाल सरकारको पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेर लाप्राकमा ५७३ घर निर्माण कार्यको जिम्मा लिएको छ। बागमती शंखमूलघाट नजिकै एनआरएनए पार्क निर्माण भइरहेको छ। एनआरएनकै १५ करोड आर्थिक सहयोगमा निर्माण हुने यो पार्क सम्भवत नेपालकै नमुना हुनेछ ।
 
नेपाल हाउस अर्को उत्कृष्ट प्रोजेक्ट हो। नेपाली हस्तकला, संस्कृति र पहिचान को परिचय गराउन सकिने प्यागोडा शैलीका नेपाल चिनाउने भवन नेपालीहरु को बसोबास रहेको देशमा निर्माण गर्ने यस योजना अन्तर्गत हाल सम्म जापान, दक्षिण कोरिया, रसियामा निर्माण भैसकेका छन्। अन्य मुलुक पनि अर्थ संकलनमा जुटेको छ। 
 
त्यसैगरी पशुपति क्षेत्रमा निर्मित किरियापुत्री भवन, त्रिभुवन बिमानस्थलमा ट्रली वितरण, नेदरल्याण्डको हेगमा अन्तरराष्ट्रिय न्यायालय अगाडी प्रतिस्थापन गरिएको शान्तिका प्रतीक बुद्धको प्रतिमा, नेपालकै देबघाटमा निर्माणाधिन बृध्दाश्रम, बाढीपहिरोको आकस्मिक कोषमा संकलित चार करोड सहयोग, नेपालकै सुर्खेत, कञ्चनपुर, नुवाकोट र दमकमा संचालित प्राबिधिक तालिम केन्द्रबाट हालसम्म ११९८ ले तालिम तथा रोजगारी प्राप्त गरिसकेका छन। 
 
त्यसै गरि एनआरएन अमेरिकाकाज क्षेत्रका निबर्तमान क्षेत्रीय संयोजक सोनाम लामाको एक करोड ४० लाख सहयोगमा मुक्तिनाथमा निर्माणाधिन ३२ फिट अग्लो ढुङ्गाको बुद्ध मूर्ति स्थापना, ब्लड ट्रान्स्फ्युजन एजुकेशनका सम्बन्धमा रेडक्रस संग सम्झौता भइ अघि बढेको कार्य, खुल्ला बिश्वबिद्यालयको अबधारणामा द्रुत गतिमा अघिबढिरहेको छ।  त्यसैगरी एनसीसीले पनि राम्रा कार्यहरु गरेका छन् । 
 
तर  यी सबै हुँदाहुदै पनि, भएका कामले भन्दा मनोनयनले प्राथमिकता पाएको छ। मनोनयनमा परेकाहरूले पनि गर्वसाथ आफू मनोनित भएको भन्न पनि सकिरहेका छैनन् । म होइन, मलाइ नसोधि राखेछन्, म बस्दिन, मलाइ जानकारी छैन, म इन्ट्रेस्टेड छैन भनेर साथीभाइ, आफन्त, पत्रकारहरूसँग टकटकिइरहेका छन् । मनोनयनमा परेकाहरू लाज मानिरहेका छन् ।
 
दिनैपिच्छे सामाजिक संजाल मार्फत मनोनयनका समाचार आउनुभन्दा सम्पूर्ण कमिटि पुरा भैसकेपछि एकैपटक यी मनोनयनहरु सार्वजनिक हुनसकेको भए जिम्मेवारी दिने र पाउने सवैको निमित्त उत्तम हुने मात्र हैन अहिले सर्वसाधारणले महसुस गरेको एनआरएन सामाजिक संजाल आतंकबाट सबैले राहत पाउने थिए। किस्तावन्दीमा नभै एकमुष्ठ नियुक्ती भैदिएदेखि हामीले बधाइ र शूभकामना पनि एकमुष्ठै दिन पाउने थियैाँ । 
 
(लेखक एएनए अमेरिकाजका महासचिव हुन् । bijay.nst@gmail.com)