मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

स्वीट्जरल्याण्डमा ‘वीरेन्द्र बियर’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल

स्वीट्जरल्याण्डमा ‘वीरेन्द्र बियर’ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल


काठमाडौँ । नेपालका स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको तस्बिर राखेर स्वीट्जरल्याण्डको एक मदिरा कम्पनीले बियर उत्पादन गरेर बिक्री गरिरहेको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । 
 
राजा वीरेन्द्रले बियर बियरको गिलास हातमा लिएर मुस्कुराइरहेको तस्बीरसहित ‘वीरेन्द्र बियर’ सार्वजनिक भएपछि कसैले स्व राजाप्रति सम्मान प्रकट गरिएको ठानेका छन् भने अधिकांशले चर्को आलोचना गरिरहेका छन् । यस विषयमा सामाजिक सञ्जालमा बहस पनि चलिरहेको छ ।
 
स्वीस कम्पनीले बियरलाई स्पाइस्ड–हर्ब्ड स्टाइलको बियरको श्रेणीमा राखेको छ । उसको वेबसाइटमा उल्लेख भएअनुसार उक्त बियरको एक बोतलको मूल्य स्वीस फ्रयाङ्क ४४.४० अर्थात ४ हजार ८२७ नेपाली रूपैयाँ पर्न आउँछ । यस्तै सस्तोमा निकालिएको अर्को एक बोतलको मूल्य भने १.८५ अर्थात करिब दुईसय नेपाली रुपैयाँ पर्न आउने उल्लेख गरिएको छ ।
 
यसरी स्वर्गीय राजाको नाम र तस्बिरसमेत राखेर बियर उत्पादन गरेपछि राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्तिमार्फत आपत्ति प्रकट गरेको छ । 
 
सो संगठनका अध्यक्ष महेशबहादुर सिंहले विज्ञप्ति जारी गरी स्वीट्जरल्याण्डको एक मदिरा कम्पनीले स्वर्गीय शाहको मदिरा पिउन लागेको फोटो राखेर ‘वीरेन्द्र बियर’ नाम ब्राण्डमा बियर उत्पादन गरिरहेको खबर सत्य हो भने त्यो आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।
 
संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यदि यो विषय साँचो हो भने यो नेपालको राष्ट्रिय अस्मिता र पुर्खाहरूमाथिको नाँगो बलत्कार हो । तसर्थ, यस विषयमा सत्यतथ्य बुझि उक्त गलत कार्यलाई बन्द गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपालस्थित स्वीस राजदूतावास, जेनेभास्थित नेपाली प्रतिनिधिको कार्यालय, उत्पादक कम्पनीलगायत सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’
 
सो विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनीसमेत दिएको छ ।
 
स्वीस कम्पनीले पूर्वराजा वीरेन्द्रको नाममा बियर बिक्री गरेको विषयले सामाजिक सञ्जालहरुमा तीव्र आलोचना गरिएको छ । कम्पनीले उत्पादन गरेको बियरको बोटलमा स्वर्गीय पुर्व राजा वीरेन्द्र ढाकाटोपीमा मुस्कुराइरहेका देखिन्छन् । हल्का दाह्री पालेको तस्बिरका साथै हातमा बियरको गिलाससमेत समातेको देखाइएको छ ।
 
"बियरमा दिस बियर इज किंग" भन्ने नारासमेत राखिएको छ । यसका तस्बिरहरु विभिन्न वेभसाइटहरुमा प्रष्टसँग देख्न सकिन्छ ।