मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यसरी सम्झियो ड्यालसमा स्वर सम्राटलाई (भिडियो सहित)

यसरी सम्झियो ड्यालसमा स्वर सम्राटलाई (भिडियो सहित)


ड्यालस (अमेरिका) – नत नारायण गोपालको जन्मदिन । नत उनको स्मृति दिवस अर्थात उनको निधन भएको दिन । तरपनि अमेरिकाको ड्यालसमा रहेका नेपालीहरुले आइतबार साँझ स्व. स्वर सम्राट नारायण गोपाललाई सम्झिए । उनको सम्झनामा उनले गाएका गीत गाए । उनीसँगको स्मृतिलाई अगाढी ल्याए र उपस्थित समुदायसँग साटासाट गरे ।
 
श्रष्टा मञ्च ड्यालस र हिमालयखबरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आइतबार उनलाई धेरैले सम्झिए । बयोवृद्धदेखि लिएर पाँच वर्षिय बालकले समेत उनले गाएका गीतहरु गाए । 
 
नारायण गोपालले धर्तीबाट बिदा लिएको पनि २७ वर्ष पुरा भैसकेको छ । २०४७ मंसिरमा देहत्याग गरेका स्वर सम्राटलाई सझिनुको कारणबारे हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले भने–‘हामीले समाजलाई गतिलो योगदान गरेकालाई सधैंभरि सम्झिरहनुपर्छ । जन्मदिन र निधन भएको दिनमा मात्र होइन । त्यही भएर हामीले नत उनको जन्मदिन, नत उनको निधन भएको दिन, आजै कार्यक्रम गरिरहेका छौँ ।’
 
आचार्यले नारायण गोपालसँग गरेका संगत, उनका गीतका बारेमा चर्चा गरेका थिए । 
 
त्यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार विनोदमणि दीक्षितले नारायण गोपालसँग अध्ययन गर्दाको स्मरण सुनाएका थिए । 
 
स्व. नारायण गोपालले गाएको ‘वीरताको चिनो, वीरको सन्तान…’ बोलको गीतलाई स्थानीय गायक भीम चापागाईले सुरुवातमै गाएर कार्यक्रमको रौनकता सुरु गरेका थिए । त्यसपछि टुङ्गनाथ उपाध्यायले नारायण गोपालले गाएका आधा दर्जन गीत प्रस्तुत गरेका थिए । उनले ‘मेरो वेहोशी आज’, ‘पोखिएर घामका झुल्का..’, ‘मैले पुण्य मन पराए, या पाप मन पराएँ..’ लगायतका चर्चित गीत गाएका थिए । 
 
त्यस्तै स्थानीय गायीका समिक्षा दाहालले ‘यति चोखो यति मिठो दिउँला तिमीलाई मायाँ..’ बोलको गीत गाउँदा हल पुरै सन्नाटा छाएको थियो । त्यस्तै हास्य कलाकार नारायण त्रिपाठी, गणेश थापा, सीमा पोखरेल, विलोल पोखरेल  लगायत दर्जनौले नारायण गोपालको स्मृतिमा उनीद्वारा गाइएका गीतहरु गाएका थिए । नेपालवाट प्रत्यक्ष वार्ता गर्दै बरिष्ट गीतकार दिनेश अधिकारीले नारायण गोपालसंग आफ्नो संगत स्मरण गर्नु भयो । उहॉले भन्नुभयो “आधुनिक नेपाली कविताको प्रतिनिधित्व नारायण गोपालको गायनले गर्दछ ।”
 
कोलाराडोबाट आएकी सीमा पोखरेलले नारायण गोपालसँग संगीत सिक्दाको अनुभव साटेकी थिइन् । सुरुवातमा उनले ‘एउटा मान्छेको मायाले कति..’ बोलको गीत गाएकी थिइन् । 
 
साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रम लगातार ९ बजेसम्म चलेको थियो । स्थानीय समुदाय उनका गीत सुन्न निकै ढिलासम्म पनि बसेका थिए । युलेसस्थित फिस्टेल रेष्टँुरामा आयोजित कार्यक्रममा श्रष्टा मञ्चका प्रभात दीक्षितले उपस्थितहरुको स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्वेश्य बारेमा प्रकाश पारेका थिए । 
 
श्रष्टा मञ्चले हरेक महिना साहित्यिक तथा सांगितीक माहौल आयोजना गरेर ड्यालसलाई तताउने काम गर्दै आएको छ ।