मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एकताका लागि आयोजित कार्यक्रममा व्यानर विवाद, ओली–प्रचण्डबीच कटाक्ष

एकताका लागि आयोजित कार्यक्रममा व्यानर विवाद, ओली–प्रचण्डबीच कटाक्ष


हिमालय खबर संवाददाता-
काठमाडौँ । वैशाख ९ गते पार्टी एकता हुने उद्घोष गरेका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै पार्टी एकताका विषयमा अलमलमा परेका छन् । 
 
पार्टी एकता घोषणा गर्ने भनिएको दिनमा एकताको कुनै संकेत नै नभेटिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब नभनेको दिनमा पार्टी एकता हुने बताएका छन् ।
 
पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले अलिकति खटपट हुनुलाई अविश्मरणीय परिघटनाका रुपमा लिन आग्रह गर्दै यसबाट शिक्षा लिनुपर्ने बताए । 
 
पार्टी एकता संयोजन समितिको कार्यक्रम स्थलमा लेनिन जयन्तीका दिन कार्यक्रम आयोजना गरे पनि व्यानरमा लेनिनकै तस्बिर नभएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले चर्को नाराबाजी गरे । मञ्चमा टाँगिसकिएको व्यानर झिकेर अर्को व्यानरसमेत राखिएको थियो । 
 
एकताबारे बलियो सन्देश दिन आयोजना गरिएको कार्यक्रममा दुईवटा व्यानर हुन पुगेपछि कार्यक्रम खल्लोमात्र भएन । प्रचण्ड र ओली कटाक्षमा उत्रिए । 
प्रचण्डले पार्टी घोषणाको अन्तिम तयारीमा रहेको र दह्रो संकल्प रहेको भन्न छुटाएनन् । अब मैले र केपीले दायाँबायाँ गरे पनि जनताले छुट दिँदैनन् भनेर व्यंग्यसमेत प्रहार गरे । 
 
उनले भने, “सम्मानजनक ढंगले एकता गर्ने हो, विभेद र अपमानित हुनका लागि होइन । समानताको सिद्धान्त र आधारमा, न्यायोचित किसिमले पनि एकता गर्नुपर्ने हुन्छ ।”
 
प्रचण्डको भनाइले माओवादी केन्द्रले राख्दै आएको अडानकै प्रतिबिम्बित गरेको थियो । सम्मानजनक  र समानताको सिद्धान्तको सोझो अर्थ बराबरी हैसियत हो । 
 
प्रचण्डले अहिले एमाले र माओवादीलाई भिडाउने प्रयास जारी रहेको आरोप लगाउँदै त्यस्ताबाट बच्नुपर्ने धारणा राखे । उनले भने, “एमालेलाई सिध्दिन लागेको माओवादीसँग किन एकता गर्नुपर्यो ? भनेका छन्, हामीलाई परिवर्तनकारी शक्ति तिमीहरु हौ किन एमालेसँग एकता गर्नुपर्यो ? भनेका छन् । हामी पनि ०६४ मा ठूलो पार्टी थियौं । जनताले पछारेपछि सानो हुँदा कस्तो हुन्छ हामीलाई थाहा छ ।”
 
प्रचण्डको मन्तव्यपश्चात् एमालेका अध्यक्ष ओलीले मञ्चबाटै प्रचण्डलाई कटाक्ष गरे । काठमाडौँको सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डलाई एकता ‘फगत भावनात्मक’ कुरा नभएको भन्दै कटाक्ष गरेका हुन् ।
 
उनले भने, “मभन्दा अगाडि बोल्नुभएका प्रचण्डजीले म र केपीजी नमिले पनि एकता हुन्छ भनेर भावनात्मक कुरा गर्नुभयो । एकता त्यस्तो सेन्टिमेन्टल कुरा होइन । हामीले एकता प्रक्रिया सुरु गरेपछि निष्कर्षमा पनि हामीले नै पु¥याउँछौँ ।”
 
उनले पनि व्यंग्य कस्दै भने, “एकता प्रक्रिया सुपरमार्केटमा राम्रो लागेर खरिद गरेजस्तो सामग्री होइन । बाटामा फेला पारेको अमुक बस्तु पनि होइन । एकताका लागि नीतिगत, वैचारिक आधार तयार भइसकेकाले अब कुनै हालतमा रोकिनुहुन्न र रोक्ने ठाउँ र तर्क पनि सकिएको छ ।”
 
उनले एकता असमानता, विभेद र अन्यायपूर्वक नहुने र समावेशी र समानुपातिक सिद्धान्त नै अवलम्बन गरिने जिकिरसमेत गरे ।
 
व्यानर हटाइएको घटनाको सन्दर्भमा उनले ‘दाँतमा ढुंगा लागेको’ बताए । उनले भने, “एकताअगाडि यस्ता घटना हुन्छन् । बिहे गर्नुअगाडि पनि दुईवटा घर हुन्छन्, बिहेपछि त्यो घरको बाछो र बिरालो पनि माया लाग्छ । आजको घटना पनि त्यस्तै हो ।”
 
एकताका बारेमा आश्वस्त पार्न दुवै अध्यक्षले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम आयोजना गरे पनि प्रधानमन्त्री ओली कांग्रेसको आलोचना गर्नमै बढी शब्द खर्चिएका थिए । 
 
उनले कांग्रेसका एक अमुक नेताले प्रधानमन्त्री अधिनायकवादी बन्दै गएको भन्ने टिप्पणीप्रति प्रतिपक्षलाई प्रतिक्रियावादीको संज्ञा दिए । कांग्रेस दरबारको पाउ समातेर कम्युनिष्ट सिध्याउन लागिपरेको टिप्पणी गरे । (तस्बिर : रासस)