मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बीपी क्यान्सर अस्पतालको सेवा विस्तार गर्न मन्त्री मगरको जोड

बीपी क्यान्सर अस्पतालको सेवा विस्तार गर्न मन्त्री मगरको जोड


खानेपानी मन्त्री बिना मगरले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् । 
 
कञ्चनपुरबाट क्यान्सर जाँच गर्न आएका बिरामी भेट्न अस्पताल पुगेकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले अस्पतालको सेवामा सबैको सहज पहुँचका लागि क्षमता र शाखा विस्तार गर्नुपर्ने बताइन् । 
 
उनले भनिन्, “क्यान्सरको समस्या देशैभरि विकराल छ, क्यान्सरको जाँच र उपचारका लागि सबै क्षेत्रमा शाखा खोल्नुपर्छ ।” उनले क्यान्सरको उपचारका लागि विश्वासिलो बनेको सो अस्पताल सेवालाई सबैको पहुँचमा पु¥याउन जोड दिइन् । 
 
मन्त्री मगरले गरिबी र अशिक्षाका कारण ग्रामीण क्षेत्रका महिलामा स्तन तथा पाठेघरको मुखको क्यान्सरको समस्या रहेको बताउँदै भनिन्, “कञ्चनपुरमा क्यान्सर जाँच शिविर सञ्चालन गर्दा विकराल अवस्था देखियो । सबै महिलाको क्यान्सर जाँच र उपचारका लागि अस्पतालले क्षमता बढाउनुपर्छ ।”
 
मन्त्री मगरको पहल तथा क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कञ्चनपुरमा गत चैत १८ गतेदेखि २१ गतेसम्म सञ्चालित स्तन तथा पाठेघरको मुखको क्यान्सरको जाँच शिविरमा झण्डै दुई हजार जना महिलाले स्वास्थ्य जाँच गराएका थिए ।
 
सोही शिविरमा क्यान्सरको आशंका गरिएका १४ जना महिला विशेषज्ञ जाँचका लागि चितवन आएका हुन् । विशेषज्ञ जाँचका आधारमा उपचार प्रक्रिया अगाडि बढाइने अस्पतालका क्यान्सर रोकथाम विभाग प्रमुख किशोर प्रधानांगले बताए । 
 
उनका अनुसार १४ जनामध्ये चार जनाको पाठेघरको मुखमा मासु पलाएको, चार जनाको पाठेघरमा घाउ भएको र छ जनाको पाठेघरको पानी खसेको प्रारम्भिक जाँचमा देखिएको छ । एक सातापछि जाँचको अन्तिम रिपोर्ट आउने उनले बताए । 
 
मन्त्री मगरको स्वागत कार्यक्रममा बोल्दै अस्पतालका निमित्त कार्यकारी निर्देशक शिवजी पौडेलले चितवनलाई मेडिकल सिटीको रुपमा विकास गर्न सरकारले सहयोग गर्नुपर्ने बताए । 
 
उनले भने, “क्यान्सर अस्पताल मेडिकल सिटीको मेरुदण्ड हो । केन्द्रीय अस्पताल भएकाले क्यान्सर अस्पताल केन्द्रीय राजनीति र सरकारका योजनाबाट प्रभावित हुन्छ । अस्पताललाई दुई सय शैयाको बनाउन र नयाँ उपकरण जडान गर्ने तयारी भइरहेको छ ।”