मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा दुई महिनायता चार बाघ मरे

चितवनमा दुई महिनायता चार बाघ मरे


चितवन । चितवनमा आइतबार चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती किनारमा एउटा पोथी बाघ मृत फेला परेको छ । उक्त क्षेत्र वरपर एक महिनाअघि अर्थात् चैत १० गते पनि एउटा पोथी बाघ मृत फेला परेको थियो ।
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले उक्त दुर्लभ पाटेबाघ शनिबार राति अर्को बाघसँगै जुधेर मरेको अनुमान गरेका छन् । 
 
आइतबार बिहान बद्रहनीकी स्थानीय सीता गुरौले घाँस काट्न जान लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गरेकी थिइन् । चितवनमा योसँगै पछिल्लो दुई महिनामा चार वटा बाघ मरिसकेको छ । 
 
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालय प्रमुख रहेका सहायक संरक्षण अधिकृत अविनय पाठकका अनुसार मृत फेला परेको बाघको घाँटी र पेटमा गहिरो घाउ देखिएको छ । अर्को बाघसँग जुधेर मरेको हुन सक्ने उनको अनुमान छ । 
 
उनले एक महिनाअघि पनि चोटका कारण मरेको पोथी बाघ नै फेला परेको बताए । मरेका बाघहरु तीन वर्ष उमेरका छन् । 
 
बाघका डमरुहरु दुई वर्षसम्म आमासँगै रहने गर्दछन् । आफैं शिकार गर्न सक्ने भएपछि उपयुक्त वासस्थान र आहाराका लागि छुट्टिने गर्छन् । 
 
यस्तै निकुञ्ज बाहिरको जंगलमा पनि बाघ मरेका छन् । राष्ट्रिय वन क्षेत्रअन्तर्गत पञ्चकन्या सामुदायिक वनभित्र शुक्रबार एउटा बाघ मृत अवस्थामा भेटिएको थियो भने गत चैत्र ७ गते सोही वनभित्र मृत बाघ भेटिएको थियो । 
 
जिल्ला वन अधिकृत केदारनाथ पौडेलका अनुसार गत साउनमा पनि बरण्डाभार क्षेत्रको वनभित्र एउटा बाघ मृत फेला परेको थियो । 
 
पछिल्लो गणनाअनुसार नेपालमा १९८ बाघ भेटिएका थिए । जसमध्ये चितवनमा १२० बाघ रहेको थियो । पछिल्लो समय बाघ मर्दै गएपछि संरक्षणकर्मी चिन्तित बनेका छन् ।