मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भ्रष्टाचार र सिन्डिकेटविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा

भ्रष्टाचार र सिन्डिकेटविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा


चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न सुरु गरिसकेको बताएका छन् । पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । 
 
कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, “भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिन्डिकेटविरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।”
 
यातायात व्यवसायीको सिन्डिकेटविरुद्धको अभियान सुरु भइसकेको भन्दै उनले अरु सिन्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने प्रतिबद्धता जनाए । 
 
उनले सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राखे । मुठ्ठिभरका मान्छेमात्र समृद्ध हुने अरुचाहिँ दरिद्र हुने अवस्थाको अन्त्य गर्न चाहेको उनको भनाइ थियो । 
 
गृहमन्त्री थापाले छुट्टै किसिमको सुरक्षा नीति बनाउन लागेको समेत जानकारी दिए । उनले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए ।उनले गृहमन्त्रालयले गुनासो सुन्ने व्यवस्था मिलाउन लागेको बताउँदै सुरक्षा निकायलाई शान्ति सुरक्षामा चुस्त भएर काम गर्न निर्देशन पनि दिए ।
 
प्रहरी कार्यालयको भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समितिका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य राख्दै प्रहरीले पुरानो शैलीबाट नभई समुदायसँग मिलेर काम गर्नुपर्नेमा जोड दिए । 
 
सो क्रममा चितवनका प्रहरी प्रमुख दीपक थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । कालिका नगरपालिकाको रु १४ लाख सहयोगमा निर्माण सुरु गरिएको प्रहरीको भवन पूरा हुँदा करिब रु दुई करोड खर्च हुने अनुमान गरिएको छ ।