राजनीति / समाज

जनयुद्धले नफेरिएको जीवन व्यवसायले फेरियोे

206 पटक पढिएको

– दीपेन्द्र शर्मा | 16th Apr 2018, Monday | २०७५ बैशाख ३, सोमबार ०६:३३
सुर्खेत । स्वैच्छिक अवकाश रोजेका माओवादीका पूर्व लडाकु अहिले आर्थिक क्रान्तिमा जुटेका छन् । वैच्छिक अवकाश रोजेका कर्णाली प्रदेशका उनीहरुले विभिन्न व्यवसायमा लागेर आर्थिक समृद्धिको बाटो रोजेका हुन् ।
 
माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा रहेको कर्णाली प्रदेशबाट करीब तीन हजार २०० को हाराहारीमा क्यान्टोनमेन्ट छिरेकामध्ये अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेका थिए ।
 
स्वैच्छिक अवकाश रोजेकामध्ये कुनै समय हतियार खेलाउने सुर्खेत वीरेन्द्रनगरका ओमप्रसाद पौडेल (रमेश) हातहरु अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–६ बुद्धपथमा मोटरसाइकलका सामग्री बेच्न व्यस्त छन् । 
 
रमेशले स्वेच्छिक अवकाशवापत रु सात लाख पाएका थिए । रमेशमात्र होइन, उनकी पत्नी आशा पौडेल (कल्पना) पनि पूर्वलडाकु नै हुन् । उनले पनि स्वैच्छिक अवकाश रोजेकी थिइन् । श्रीमान्ले रु सात लाख र श्रीमतीले रु सात लाख गरेर उनीहरुले रु १४ लाख स्वैच्छिक अवकाशवापत पाएका थिए । 
 
उनीहरू दुवैले रु १३ लाखको लगानीमा २०६९ फागुनमा वीरेन्द्रनगरमा मोटरसाइकलको अटोपार्टस पसल स्थापना गरेकामा अहिले करिब रु ४० लाखबराबरको सामान छ । अटोपार्टस पसलबाट  मासिक खर्च कटाएर रु एक लाख ३० हजारसम्म आम्दानी हुने रमेशको भनाइ छ ।  
 
दिनरात नभनी खटिने रमेश र कल्पनाको पसलमा दुईजना मजदूर पनि छन् । विसं २०५५मा पार्टीमा छापामार दलको सदस्यबाट राजनीति सुरू गरेका रमेश बिग्रेडियर कमाण्डरसम्म भए भने उनकी पत्नी पनि बिग्रेडियर सहकमाण्डरसम्म बनेकी थिइन् ।
 
त्यसबखत रमेशले सुर्खेतको दशरथपुरमा छैटौँ डिभिजनअन्तर्गत जित स्मृति बिग्रेडको कमाण्डरका रुपमा काम गर्ने अवसर प्राप्त गरेकी थिइन् भने कल्पना पनि छैटौँ डिभिजनअन्तर्गत बिग्रेड सहकमाण्डरका रुपमा काम गर्ने अवसर प्राप्त गरेकी थिइन् । 
 
उनीहरूको जोडीले  दाङ घोराहीमा सेनाको क्याम्पबाट हतियार लुट्नेदेखि अछाम, साँफेबगर, अर्घाखाँची, जुम्ला, गण्डक क्षेत्रका विभिन्न कारबाही र कालीकोटको पिलीलगायतका ठाउँको आक्रमणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोे थियो । अहिले रमेश र कल्पना जोडी पार्टीको शुभचिन्तकका रुपमा रहेकोे छ ।
 
उनीहरु दुवैजनाको शरीरमा अहिले पनि बन्दुकका गोली छन् । जति क्रान्तिका कुरा गरे पनि हरेक परिवारको आर्थिक उन्नति नभएसम्म देश समृद्ध हुन नसक्ने रमेश बताउँछन् । नेताहरुले आफ्नो स्वार्थका लागि सोझा, सीधा नागरिकलाई प्रयोग गर्ने गरेको भन्दै उनले मानिसको सोच र व्यवहारमा परिवर्तन नआएसम्म जतिसुकै क्रान्तिका कुरा गरे पनि केही नहुनेमा जोड दिन्छन् ।  
 
त्यस्तै स्वैच्छिक अवकाश रोज्नेमध्येका सर्केगाड गाउँपालिका–५ (साविक गोठी–९) हुम्लाका टक्कबहादुर शाही (आजीवन) त्यसबखत युद्धका हतियार र बम बनाउन व्यस्त थिए । 
 
सेना समायोजन हुँदा स्वैच्छिक अवकाश रोजेका टक्कले रु पाँच लाख पाएर कर्णाली प्रदेशको राजधानीमा २०६९ फागुनमा एञ्जल मोबाइल पसल स्थापना गरेका थिए । उनको पसलमा  अहिले रु १२ लाख बराबरको मोबाइल तथा अन्य इलेक्ट्रोनिक्स सामान छन्  । मोबाइल पसलबाट मासिक खर्च कटाएर रु ५० हजारदेखि रु ८०  हजारसम्म आम्दानी हुने टक्कबहादुर बताउँछन् । 
 
त्यस्तै तिला गापा–१ रारा जुम्लाका मंगल नेपाली (डेन्जर) छैटौँ डिभिजनको जित स्मृति बिग्रेडको स्वास्थ्य विभागमा रहेर थुप्रै घाइते लडाकुको उपचार गर्थे । स्वेछिक अवकाशबाट पाएको रू पाँचलाखबाट वीरेन्द्रनगरको मंगलगडी चोकमा कोल्ड स्टोर सञ्चालन गरेका उनको पसलमा अहिले रु १७/१८ लाखबराबरको सामान छ भने मासिक रु ५० हजारभन्दा बढीको आम्दानी हुँदै आएको छ । 
 
आफ्नो टाउको र खुट्टामा गोली लागेर अपाङ्ग जीवन बिताइरहेका मंगल भन्छन्, “विगतमा आफूले जनसेना भएर निर्वाह गरेको भूमिकाकै कारण देशमा राजनीतिक परिवर्तन भएको हो ।” 
 
उतिबेला क्रान्तिमा होमिए पनि अब आर्थिक क्रान्ति गर्ने बेला आएको नेपालीको बुझाइ छ  । जे गरे पनि आखिर चाहिने पैसै रहेछ । जुम्ला, अर्घाखाँची, अछाम, दाङ, सतवरिया, खारा, पिलीलगायतका ठूला आक्रमणमा स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरेका उनी अहिले आर्थिक समृद्धिको बाटोमा लागेका छन् ।
 
स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकुमध्ये केही विदेश गएका छन् भने बाँकीले विभिन्न ठाउँमा केही न केही व्यवसाय गरेर आर्थिक उपार्जनको काम गरिरहेका छन् । राज्यकोषबाट प्राप्त रकम कुनै पनि पेशा व्यवसायमा लगानी गर्नु राम्रो भएको माओवादी केन्द्रका युवानेता रामदीप आचार्य बताउँछन् । 
 
स्वैच्छिक अवकाश पाएका लडाकुलाई विभिन्न व्यवसाय गर्न सजिलो भए पनि अनमिनको  प्रमाणीकरणमा पर्न नसकेका घाइते तथा अपाङ्ग पूर्व लडाकुलाई भने जीवन निर्वाहमा निकै समस्या परेको आचार्यको भनाइ छ । रासस