मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ककपीटमा हुनुपर्ने पाइलट समाजसेवामा

ककपीटमा हुनुपर्ने पाइलट समाजसेवामा


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  – सम्पादक )

न्युअर्लिन्सबाट हिडेको ७ घन्टामा  एटलान्टाको नरक्रस शहर अन्तर्गत मङ्गोलिया पार्क लेनको ६८७० नम्बरको घर  पुग्दा साँझ आगमनले  सुरसार गर्दैथियो । छिन् छिनको झरीले त्यसैपनि आकास खुल्न सकेको थिएन । थोरै ओरालोमा अवस्थित  त्यो घर वरिपरिको वातावरण सुन्दर र लोभलाग्दो  थियो । त्यसो त एटलान्टा आफैं लोभलाग्दो ल्याण्डस्केपिङ्ग र हरियालीले सुन्दर शहर रहेछ ।  

राजा घले

हिमालयखबरको टीम ड्यालास, ह्युस्टन र न्युअर्लिन्स हुंदै यो पंक्तिकारको स्तम्भकोलागि " एटलान्टा मिसन" मा थियो । विकास राज न्यौपाने र अमॢत कट्टेल ,मेरा अन्तरङ्ग सहयोगी मसंगै थिए । जीउ तन्काउँदै म गाडीबाट उत्रिएँ । विकास र अमॢत गाडीमै बसे ।  मैले घरको मूलढोकाको घण्टी थिचें । कुर्नु परेन , छिनमै ढोका खुल्यो । गोरो , हँसिलो अनुहार भएको मानिसले अभिवादन गर्दै भित्र बोलाए । ती मानिस उनै राजा घले थिए जस्लाई आठ वर्षअघि मैले ह्युस्टनमा भेटेको थिएँ । मैले त्योबेला भेटेको राजा अहिले पनि उस्तै फर्स्याइलो र आत्मीय लाग्यो । 
 
हामीले राजा घलेसंग उनको जीवनका विविध मोडहरू बारे जान्नु थियो । उनका सुख दुखका कथाहरु सुन्नु थियो । उनीसंग अन्तरङ्ग कुरा भए , धेरै कुरा नलुकाइ भने,  केही कुरा धक  मान्दै पनि लुकाए । शारिरिक तन्दुरुस्तीले अझै पनि उनलाई तन्नेरी नै भन्नु पर्छ । उनको  जिवन्त जीवन शैली हेर्दा लाग्छ विन्दास छन् राजा । 
 
एक्लो छोरो विन्दास जीवन 
बुबासंग राजा 
 
 
पूर्वी नेपालको सुन्दर ठाउँ रूम्जाटारमा जन्मिएका राजा घले आफ्नो बुबाआमाका एक्लो छोरा हुन् । छोरीछोरी हुँदा हुँदा लामो पर्खाइपछि जन्मिएका राजा, त्यसैले बुबाआमाले पुल्पुल्याएका छोरा हुन् । 
 
रूम्जाटारमै प्रारम्भिक शिक्षा लिएर काठमाण्डु पुगेका राजा बानेश्वरको अमर आदर्श इङ्लिस स्कुलमा पढ्नथाले । एसएलसी भने उनले भानु माध्यमिक विध्यालयबाट पुरा गरे । पढ्नमा राजा कहिल्यै दोश्रो भएनन् । पढाइमा जति अब्बल थिए अरु क्रियाकलापमा पनि उत्तिकै बेजोड । 
 
सम्पन्न परिवार हुनाले उनलाई कुनै कुराको कमी थिएन । एक्लो छोरोले जे मागेपनि बुबाआमाले पुर्याइदिन्थे ।नेपालबाट बीएस्सी , एमएड र एमपीए सकेर राजा सन् १९९० मा उच्च शिक्षाकोलागि अमेरिका हानिए । अरु नै विषय पढ्न आएका उनले बुबाको इच्छा विपरित पाइलट बन्ने सुर कसेर PPL (Private Pilot Licence)कोर्स गर्न थाले ।  
 
अमेरिका आएपछि मात्र जीवनलाई नजिकबाट बुझ्नथाले राजाले  । सजिलो थिएन अमेरिका , घन्टौं काम नगरी सुख थिएन । पुल्पुलिएको कान्छो घले , कहिल्यै काम नगरेको , आमाको ममताबाट टाढा परदेशमा लखतरान भएर कामबाट थाकेर कोठामा आएपछि रुन्थे । अहिले पनि ती पीडादायी क्षण सम्झेर जीवनलाई पर्गेल्ने प्रयास गर्छन् राजा । संघर्षका ती दिनहरुमा साथीभाइहरुले पुर्याएको सहयोगको स्मरण गर्दै भन्छन् – म भाग्यमानी थिएँ । 
 
शुरुशुरुमा घण्टौं अर्काको स्टोरमा काम गरेका राजाले त्यसपछि आफ्नै व्यापारव्यवसायमा समय र पसिना खर्च गरे । त्यसले उनलाई आर्थिकरुपले बलियो बनाउन सहयोग गर्यो । 
अहिलेका राजा घले एटलान्टाको नेपाली समाजमा एउटा स्थापित व्यक्तित्त्व भएका छन् । जीवन भोगाइको यो अवस्थामा आइपुग्दा उनको आफ्नै दॢष्टिकोण छ । उनले यसरी बुझ्छन् जीवनलाई – जिन्दगी एकचोटी पाइन्छ , त्यसको पुरापुर मजा लिन जान्नु पर्दछ । रमाउन सक्नु पर्छ , चाहे दुख होस् या संघर्ष । 
 
माछामासु , जाँडरक्सी खाँदैनन् तर खानेहरुसंग बसेर घण्टौं रमाइलो गर्छन् । गीत ,संगीत र साहित्यमा रमाउँछन् । रोमान्टिजम् उनको नशा नशामा देखिन्छ । मन खोलेर बोल्छन् ,  विन्दास स्वभाव नै उनको आकर्षण हो । 
 
सपना प्लेन उडाउने, लागे समाजसेवामा 
सुप्रसिद्ध संगीतकार  स्व. अम्बर गुरूङसँग
योबेला राजा घले आकासमा हुनुपर्ने , हवाइजहाजको ककपिटमा । प्राइभेट पाइलट लाइसेन्स त लिए , जहाज उडाउने सपना पनि हो उनको । तर नियतिले उनलाई अन्तै मोडिदियो । 
 
उनले वाध्यतावस कमर्सियल पाइलट कोर्स गर्न पाएननन् , त्यसैले अमेरिकाको ह्याभर्सम एभिएसनको सर्टिफिकेट बाकसमा थन्काएर राजा अहिले एटलान्टाको सामाजिक " हिरो " भएकाछन्। करीब २० वर्षको एटलान्टा बसाइले उनलाई त्यहींको रैथाने बनाएकोछ , सामाजिक अभियन्ताको भूमिकामा उनी दिनरात व्यस्त देखिन्छन् । 
आमासंग राजा 
समुदाय मात्रै हैन कसैको व्यक्तिगत काममा पनि मन खोलेर सहयोग गर्छन् उनी । उनको यही बानीले एटलान्टाको नेपाली समुदाय प्रभावित छ । त्यसैले कुनै न कुनै संस्थामा राजाको सहभागिता अनिवार्य जस्तै भएको छ त्यहाँ । अहिले उनी एटलान्टाकोलागि नेपालको पर्यटन दूत भएका छन् । अमेरिकामा भएका अरु पर्यटन दूतहरुका बारेमा सकारात्मक प्रतिक्रिया पाइदैन । भनिन्छ तिनीहरु कुइराको कागझैं भएका छन् , भूमिका र सक्रियताविहीन । तर राजा घलेले  एटलान्टामा नेपाली समुदाय मात्र हैन त्यहाँको अमेरिकी मूलधारको सामाजिक परिवेशमा समेत परिचय बनाइसकेको हुँदा पर्यटन दूतको भूमिकामा न्याय गर्छन् भन्ने विश्वास गर्न सकिन्छ । 
 
उनले आफ्नो कार्ययोजना तयार गर्दैछन् । नेपाल कला र संस्कॢतिमा  मात्र हैन प्राकॢतिक सुन्दरताको अनुपम नमुना हो भनेर अमेरिकी समाजलाई आकर्षित गर्ने कार्यक्रमहरु उनीसंग छन् । त्यसैले आत्मविश्वाससाथ भन्छन् – आफूभित्र इच्छाशक्ति र इमान्दार लगन हुनुपर्छ ,जस्तोसुकै काम पनि गर्न सकिन्छ । 
 
सन् २०१० मा Nepalse Association of Southeast America को  प्रथम निर्वाचित अध्यक्ष राजा सन् २०११ मा उत्तर अमेरिकाकोलागि " भिजिट नेपाल- २०११" को संयोजक भएर काम गरे । गैरआवासीय नेपालीहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय संघको विभिन्न पदमा रहेर उनले सक्रिय भूमिका देखाइसकेका छन् । सन् २०१४- २०१५ मा उनी अमेरिकाबाट NRN_ICC मा सदस्य थिए । 
सुप्रसिद्ध गायक उदितनारायण झासँग घले
 
त्यति मात्र हैन राजाले  सन् २०१० मा Nepali Complete Count Committee for US Census को संयोजकको  भूमिका पूरा गरे । सन् २०१२- २०१४ कालागि नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै उनी Asia pacific American Council (APAC) को महासचिवमा निर्वाचित भएका थिए । उनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानकोलागि सन् २०१३ मा नेप्लिज एसोशिएसन अफ जर्जियाले Social Hero of The Year  पुरस्कारले सम्मान गरेको थियो । 
 
नेपालबाट एटलान्टा आइपुग्ने नेता अभिनेता , गायक संगितकार र राजनीतिज्ञ प्राय सबैले राजा घलेको आतिथ्यको न्यानो अनुभव गरेका छन् । कुनैबेला त उनको घर धर्मशाला झैं हुन्छ , जहाँ पच्चिसौं नेपाली पाहुनाहरु आश्रय लिन्छन् । उनी झर्को नमानी पाहुनाहरुको स्वागत गर्छन् । राजा घलेको शब्दकोषमा शायद अल्छी भन्ने शब्दनै छैन । 
 
अहम् नपाल्ने नेपाली 
भारतीय अभिनेता स्व. विनोद खन्नाका साथमा राजा घले
 
गीत संगीतका अत्यन्त शौखीन राजा आफू भने गाउँदैनन् । तर सुसेली हाल्न र गुनगुनाउन उनलाई कस्ले रोक्ने ! गीत , कविता र गजल सुन्न पाए रात बितेको थाहा हुदैन राजालाई । 
अमेरिकी भूमीमा नेपाली राजनीति चित्त बुझ्दैन उनलाई । जातीय र क्षेत्रीय संस्थाको आवश्यक्ता छैन भन्नेमा उनी प्रतिबध्द देखिन्छन् । 
 
यहाँका नेपालीहरुले यहीँको मूलधारमा आफ्नो भूमिका खोज्नु पर्छ – बाँडिएर हैन एकजुट भएर बसौंन हामी । – राजाले यसो भनिरहँदा उनको अनुहारमा यो पंक्तिकारले  निश्चल अविराम भाव देख्यो , नेपाल र नेपालीप्रति अगाध स्नेह पायो । 
 
सकारात्मक सोच भएकै कारण राजा घले प्राय सबैका मित्र छन् । लाग्छ उनीभित्र मैलो अहम् छैन । आफ्नो समाज र मातॣभुमीसंग सधैं जोडिन चाहन्छन् । नेपालमा सुशासन , शान्ति र स्थायित्व भैदिए कसैले पनि विदेश पलायन हुनुपर्ने थिएन – राजाको यो भनाई सुनिरहंदा मलाई लाग्यो, उनलाई पनि स्वदेश फर्केर शान्त जीवन बिताउने अभिलाषा रहेछ । 
 
हेरौ राजा घले संगको थप भिडियो बार्ता :