मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माडीको समृद्धिका लागि निकुञ्ज ऐन संशोधन गर्छु : प्रचण्ड

माडीको समृद्धिका लागि निकुञ्ज ऐन संशोधन गर्छु : प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीका जनतालाई लक्षित गरी निकुञ्ज ऐन संशोधन गर्ने बताएका छन् । 
 
दक्षिण चितवनको माडीका जनप्रतिनिधिसँग भएको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले निकुञ्ज ऐन–२०२९ संशोधनको पहल थाल्ने वचन दिएका हुन् । ऐन संशोधन भए माडीबासीका लागि वरदान सावित हुने उनको भनाइ थियो । 
 
उनले भने, “चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप बनेको छ । ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुनेछु । माडीको समृद्धिका लागि निकुञ्ज ऐन संशोधन गर्नुपर्छ । माडीको समृद्धि नै देशको समृद्धि हुने भएकाले गाउँगाउँबाट विकास निर्माणका काम थाल्नुपर्छ ।”
 
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा (एमाले) नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले माडी क्षेत्रका समस्याबारे प्रचण्डलाई अवगत गराएका थिए ।
 
यसैबीच, बाँदरमुढे सहयोग समितिले माडीमा आयोजना गरेको छलफल कार्यक्रममा प्रचण्डले यसै अर्थिक वर्षभित्र बाँदरमुढे घटनाका सबै पीडितहरुको माग सम्बोधन हुने बताए । 
 
उनले बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको बताउँदै पीडितको घाउमा मलहमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारीसमेत रहेको उनले बताए । 
 
अहिले बलियो कम्युनिष्ट सरकार भएको बताउँदै उनले राज्यका तर्फबाट विगतमा भएका समझदारीअनुसार काम गर्न सकिने बताए ।
 
बाँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीनबुँदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको प्रचण्डले बताए । यसअघिको सरकारले बाँदरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उनले प्रष्ट पारे ।
 
सो अवसरमा बाँदरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनुपर्ने लगायतका माग राखेका थिए ।