मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

वातावरणीय प्रदूषण हटाउन डस्टबिन हस्तान्तरण कार्यक्रम

वातावरणीय प्रदूषण हटाउन डस्टबिन हस्तान्तरण कार्यक्रम


चितवन । वातावरणीय क्षेत्रमा योगदान गर्दै आएको चितवनको अग्रणी संस्था झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगाम रत्ननगर–५ ले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले ४० थान डस्टबिन हस्तान्तरण गरेको छ । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगामका संयोजक रामचन्द्र महतोले रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीलाई शुक्रबार फलामे डस्टबिन हस्तान्तरण गरेका हुन् । वडाका चोक, सडक तथा पसलका आसपास फोहोर संकलन हुने विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको थियो । 
 
कार्यक्रमकी प्रमुख अतिथि एवम् रनपाकी उपप्रमुख विमला दवाडीले प्रदूषण बढिरहेको अवस्थामा झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगामले डस्टबिन वितरण गरेर उदाहरणीय कार्य गरेको बताइन् । उनले वातावरणमैत्री नगर स्थापनाका लागि यस्ता कार्यक्रम प्रभावकारी रहेको भन्दै उनले प्रदूषण न्यूनीकरणको प्रयासका लागि नगरपालिकाका तर्फबाट आभार प्रकट गरिन् । 
 
प्लाष्टिक नियन्त्रण गर्न गाह्रो भए पनि वडाबासीलाई फोहोर व्यवस्थापन गर्ने बानी बसाल्ने अभियानको थालनी भएकोमा खुसी व्यक्त गरिन् । फोहोर व्यवस्थापनका लागि नगरपालिका गम्भीर रहेको बताउँदै उनले आगामी दिनमा १६ वटै वडामा प्रदूषण न्यूनीकरणका लागि ‘रिसाइक्लिङ प्लान्ट’ स्थापना गर्ने योजना रहेको जानकारी दिइन् । 
 
रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतोले जनचेतनाकै कमीका कारण फोहोर व्यवस्थापन एउटा समस्याका रुपमा रहेको उल्लेख गर्दै झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोगामले नगरपालिकाले गर्नुपर्ने काम गरिरहेको बताए । उनले आगामी दिनमा वडालाई वातावरणमैत्री बनाउन उक्त संस्थासँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताए । 
 
कार्यक्रममा पूर्ववडाध्यक्ष सोमलाल चौधरी, साना किसान सहकारी संस्था झुवानीका अध्यक्ष गोपी लम्साल, टरौली पुस्तकालयका अध्यक्ष प्रेमबहादुर पौडेल, झण्डु महतोलगायतले वातावरण संरक्षणका लागि आयोजक संस्थाले गरेको कामको सराहना गरे । 
 
कार्यक्रममा ४० थान डस्टबिन वितरण गरिएको थियो । विसं २०७३ असार २ गते स्थापना भएको सो संस्थाले गत जेठमा ३० थान डस्टबिन, फोहोर व्यवस्थापन तालिम, जनचेतनामूलक कार्यक्रम, प्लाष्टिकको प्रयोग र असरसम्बन्धी विशेषज्ञद्वारा तालिम, चेतनामूलक होडिङ बोर्ड राख्ने कार्यक्रम तथा प्लाष्टिकमुक्त गर्न कपडाको झोला वितरण कार्यक्रम गर्दै आएको छ । 
 
संस्थाका संयोजक रामचन्द्र महतोले कुलोमा विसर्जन हुने फोहोर अन्ततः समुद्रसम्म पुग्ने भएकाले यसले विश्वभर नै समस्या सिर्जना गर्ने भएकाले वातावरण जोगाउन हरेक व्यक्ति सचेत हनु जरूरी रहेको बताए । 
 
उनले भने, ‘विश्वमा बढिरहेको जलवायु प्रदूषण कम गर्न घर, समाज हुँदै सबै क्षेत्रबाट पहल हुनुपर्छ । पश्चिमा मुलुकमा फोहोर गर्नेलाई दण्ड, जरिवानाका साथै जेल सजायसम्मको कारबाही गर्ने प्रावधान छ । तर, हामीकहाँ आफूले प्रयोग गरेका प्लाष्टिकसमेत व्यवस्थापन गर्न सकिरहेका छैनौँ । फोहोर व्यवस्थापन व्यक्तिको प्रतिष्ठासँग जोडिएको विषय भएकाले सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्छ ।’