मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

कसरी घटाउँदैछ फेसबुकले जन्मदर

कसरी घटाउँदैछ फेसबुकले जन्मदर


जन्मदर घटेको सन्दर्भमा गत वर्ष दुईवटा तथ्यांकहरु बाहिर आए । पहिलो थियो–बेलायतको नटिङघम विश्वविद्यालयले गरेको अध्ययन अनुसार सामाजीक सञ्जालको प्रयोग बढेसँगै जन्मदर घटिरहेको छ । बेलायतमा वयष्क युवतीहरुमा गरिएको अध्ययनले सन् २००७ देखि २०१७ को अवधिमा ४५ प्रतिशतले गर्भवती हुने दर घटेको छ ।
 
दोस्रो–अमेरिकामा पनि सन् २०१६ मा जन्मदर अघिल्लो वर्षभन्दा घटेको छ । युवतीहरुमा गर्भवती हुने दर सन् १९९० को दशकको भन्दा अहिले ६७ प्रतिशतले घटेको छ । यसको सट्टा उमेर बढ्दै गएपछि गर्भवती हुने क्रम बढेको छ । ४० देखि ४४ वर्ष उमेरका महिलाहरुमा गर्भवती हुने दर सन् २०१५ को दाँजोमा २०१६ मा चार प्रतिशतले बढेको थियो ।
 
सामाजीक सञ्जाल (फेसबुक, ट्विटर, स्न्यापच्याट, इन्स्टाग्राम) को प्रयोगले जनसंख्या वृद्धिदरमा नकारात्मक असर पारेको छ । युवायुवतीहरु देखि लिएर नवविवाहितहरुमा समेत यसको लत बसेर भर्चुअल दुनियामा रमाउन थालेपछि जनसंख्याको हुनुपर्ने स्वभाविक वृद्धिदर रोकिएको छ । 
 
असाध्यै मन मिल्ने मेरा एक साथी छन् । अमेरिकाको पश्चिम तटीय राज्यको एउटा शहरमा उनी बस्छन् । उनीहरुको ११ वर्षको एक छोरी छिन् । मेरा ती साथी र उनकी पत्नी दुबैका परिवारका तर्फबाट अर्को एक बच्चाको चाहना भएको केही वर्ष भैसक्यो । तर हुन सकेको छैन । उल्टै उनीहरुको दाम्पत्य जीवनका गुनासा, पीडाहरु बेलाबखतमा साथीहरुले सुनाउँछन् । 
 
मेरा साथी बिहान ४ बजे उठेर काममा जान्छन् । दिउँसो कामबाट फर्किदा उनकी पत्नी काममा पुगिसकेकी हुन्छिन् । पत्नी राति कामबाट घर आउँदा साथी निद्रामा हुन्छन् । कामबाट फर्केपछि उनकी पत्नी अर्को एकाध घण्टा फेसबुक, स्न्यापच्याटमा व्यस्त हुन्छिन् । साथी उठेर काममा जाने तयारीमा हुँदा पत्नी मस्त निद्रामा हुन्छिन् । 
 
उनीहरुको दैनिक जीवन यस्तै छ । बाँकी रह्यो सप्ताहन्त (शनिबार, आइतबार) का दिनहरु । दुबै जना दिउँसोदेखि रातिसम्म घुमफिर, शपिङ, साँझ पार्टी, साथीभाईहरुसँग जमघटमा व्यस्त हुन्छन् । राति घरमा फर्किएपछि साथी ओछ्यानमा पुग्छन् । सदाझै चाँडै सुत्ने बानीले ओछ्यानमा पल्टिन नभ्याउँदै मस्त निद्रामा पुग्छन् । उता पत्नी अर्को एकाध घण्टा सामाजीक सञ्जालमै व्यस्त हुन्छिन् । 
 
यही दैनिकीका कारण दोस्रो बच्चाको अपेक्षा गरेपनि पुरा हुन सकेको छैन । पतिले पत्नीको गुनासो र पत्नीले पतिको गुनासो गरिरहन्छन् । 
 
मेरा ती मित्रको मात्र होइन धेरै युवा–युवतीको समस्या हो यो । वास्तविक संसारभन्दा भर्चुअल संसारमा भेटिएकाहरुसँग गफगाफ, लाइक, कमेन्ट, पोस्टिङले गर्दा जन्मदर बृद्धिमा नकारात्मक प्रभाव पारेको छ । बेडको एउटा कुनामा पति र अर्को कुनामा पत्नी स्मार्टफोन, ट्यावलेटमा व्यस्त भएपछि सन्तानपैदामा त्यसले स्वभाविक रुपमा नकारात्मक प्रभाव पार्नेनै भयो ।
 
फेसबुकले जन्मदर वृद्धिमा नकारात्मक असर पारेको विषयलाई लिएर मंगलबार र बुधबार अमेरिकी संसदको ‘इनर्जी एण्ड कमर्स कमिटी’ मा समेत केही सांसदले चिन्ता व्यक्त गरेका थिए । सांसदहरुले फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको ध्यानाकर्षण गराएका थिए । 
 
हुनत जन्मदर कम हुनुमा जुकरबर्गको गल्ती होइन । यो त नितान्त पति–पत्नीबीचको सम्बन्ध र उनीहरुले दिने समयमा भर पर्ने विषय हो । तथापी फेसबुक लगायत सामाजीक सञ्जालमा युवापुस्ताको बढ्दो आकर्षणले जनसंख्या वृद्धिदरमा भने ठूलै प्रभाव पारेको छ ।
 
सामाजीक सञ्जालबाट भएको प्राइभेसी चुहावटको विषयमा ठूलै वहश हुनसक्छ । यो विषयमा पुरै अमेरिकी संसद लागिरहेको पनि छ । तर त्यो भन्दा अलग रुपमा अध्ययन गर्दा यसले पारिबारिक विखण्डनमा समेत सहयोग गरेको जस्तो देखिन्छ । 
 
संसदीय समितिमा बुधबार एकजना कंग्रेसम्यानले जुकरबर्गलाई सोधे–‘फेसबुकका कारण संसारभरमा दैनिक ९१ जनाले आत्महत्या गर्छन् । यो कुरा तपाईलाई जानकारी छ ?’
जुकरबर्गले जवाफ दिए–‘यो मलाई जानकारी भएन ।’
 
सामाजीक सञ्जालले गर्दा जन्मदर जसरी घटिरहेको छ त्यसको धेरै गुणा बढी स्पिडमा अनिच्छित गर्भधारण, बलात्कारका घटनाहरु बढेका छन् । पहिले पहिले पत्रमित्रता, टेलिफोन कल, टेक्स्ट मेसेजले एक अर्कामा निकट तुल्याउने प्रविधिलाई फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामले धुलोपिठोमात्र बनाएको छैन कि नामेटै पारिसकेको छ । परिणाम त्यसले समाजमा अपराध पनि बढाएको छ । 
 
जुकरबर्गले प्रविधि मार्फत संसारलाई जोड्न ल्याएको फेसबुकमा जति सदुपयोग भएको छ त्यसैको हाराहारीमा दुरुपयोग भैरहेको तथ्यलाई संसदीय समितिको छलफलका केही मिनेटका दृश्यमात्र हेर्ने हो भने पनि प्रयाप्त हुन्छ । 
 
सांसदहरुले राखेका हरेक जिज्ञासाका जवाफ जुकरवर्गले ‘मलाई एकिन जानकारी भएन, पछि जानकारी दिनेछु’ भन्ने जवाफले पनि फेसबुक लगायत सामाजीक सञ्जालको प्रयोगमा होसियारी अपनाउनै पर्ने देखिन्छ । एउटा रिसर्चको क्रममा ख्यालख्यालमै विकास भएर यो अवस्थामा आइपुगेको फेसबुकमा अहिले दुईअर्ब मानिस आवद्ध छन् । यति ठूलो संख्यालाई व्यबस्थित गर्नु, उनीहरुका विवरणहरु सुरक्षित र गोपनिय राख्नु अवश्य पनि चुनौतिपूर्ण हो । जति यो चुनौतिपूर्ण छ, यसको प्रयोगकर्ताका लागि पनि त्यतिनै संवेदनशील विषय हो यो । 
 
यसको प्रयोगमा होसियारी अपनाउन सकिएन भने देशको जनसंख्या वृद्धिको कुरामात्र छैन यसमा । परिवारको विखण्डन, कुलतसम्म यो पुग्नसक्छ । सांसदहरुले देखाएको चिन्ता र चासो पनि त्यहीनै हो । 
अन्त्यमा, मेरा अर्का एक आत्मिय साथी छन् । उनकी छोरी ११ वर्षकी मात्र छिन् । उनी गत वर्षदेखिनै फेसबुकमा आवद्ध छिन् । फेसबुकले तय गरेको उमेरको मापदण्ड अनुसार उनको उमेर पुग्न अझै दुई वर्ष बाँकी छ । तर मातापिताले उनको अहिलेदेखिका तस्बिर, उनले हाँसिल गरेका शैक्षिक तथा अतिरिक्त कृयाकलापका भिडियो, फोटोहरु राख्ने गरेका छन् । उनीहरुलाई विश्वास छ कि–फेसबुक अब कहिल्यै अन्त्य हुँदैन र यसमा राखेका सबै डाटाहरु सुरक्षित र भरपर्दो हुन्छन् । 
 
फेसबुकप्रति धेरैको विश्वास यही र यस्तै छ । त्यही विश्वासले गर्दानै युवायुवतीहरुले यसैको प्लेटफर्ममा गफ गर्छन् । टाढाटाढा भएका परिवारका सदस्यहरुले यसैमा ग्रुप बनाएर कुराकानी गर्छन् । यसप्रति धेरैको विश्वास छ । यो विश्वासलाई फेसबुकले टुट्न नदेओस् । र थपमा पारिवारिक बिखण्डन र जन्मदर घट्नुको कारक पनि सामाजीक सञ्जाल नबनिदेओस् ।