मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बेरोजगार उत्पादन गर्ने शिक्षा नीतिमा सुधार गर्छु : प्रचण्ड

बेरोजगार उत्पादन गर्ने शिक्षा नीतिमा सुधार गर्छु : प्रचण्ड


चितवन । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको शिक्षा वैज्ञानिक र जीवनोपयोगी हुनुपर्नेमा जोड दिएका छन् । 
 
गृहजिल्ला चितवनको भरतपुर—१४ स्थित आफ्नै वार्डमा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले जीवनोपयोगी शिक्षा अब सबैको शिक्षा हुने बताएका हुन् ।
 
अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै बेरोजगार उत्पादन गर्ने शिक्षा नीतिमा सुधार गर्ने दाबी गरे । उनले भने, “अबको शिक्षा नीतिमा ७० प्रतिशत प्राविधिमुलक र ३० प्रतिशत साधारण शिक्षा हुन्छ ।”
 
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक अवस्था कमजोर रहेको बताउँदै प्रचण्डले सरकारी विद्यालयमा आबद्ध शिक्षक शिक्षिकाले निजी स्कुलमा पढाउने परिपाटीको पनि छिट्टै अन्त्य हुने बताए । 
 
सामुदायिक विद्यालयको भौतिक र शैक्षिक विकासमा जोड दिँदै प्रचण्डले भने, “बलियो वाम सरकारले निजी विद्यालयहरुलाई विस्तारै नियन्त्रण गर्दै सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउने छ । शिक्षा र स्वास्थ्यमा जनपक्षीय नीति नभएसम्म विकास अधुरो हुने भएकाले सरकारले वैज्ञानिक शिक्षा दिने वातावरण बनाउँछ ।”
 
उनले विगतको शिक्षा बेरोजगार उत्पादन गर्ने, प्रमाणपत्रधारी जनशक्ति उत्पादन गर्ने र अव्यवहारिक भएकाले विकासमा बाधक रहेकाले बेरोजगारी समस्याको समाधान वैज्ञानिक, व्यावहारिक र उत्पादनमुखी शिक्षा नीति चाहिने उल्लेख गरे । 
 
विद्यालय शिक्षा सुधार कार्यक्रम प्रभावकारी बन्न नसक्दा सामुदायिक विद्यालयहरू कमजोर हुँदै गएको, विद्यार्थी र अभिभावकको रोजाइमा पर्न छाडेको उनको भनाइ थियो । 
 
प्रचण्डले स्वर्ण विद्यालयको स्मारकको अनावरणसमेत गरेका थिए । उनले आफू यही क्षेत्रको जनप्रतिनिधि र वडावासी हुनुको नाताले यस क्षेत्रको विकास गर्नु आफ्नो पहिलो कर्तव्य भएको जिकिर गरे ।