मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘विप्लव’ समूहको निगरानीमा चितवन प्रहरीको सुरक्षा रणनीति

‘विप्लव’ समूहको निगरानीमा चितवन प्रहरीको सुरक्षा रणनीति


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई विशेष निगरानीमा राखेको छ । 
 
एक महिनाअघिदेखि विप्लव समूहका नाममा जिल्लामा विभिन्न आपराधिक क्रियाकलापहरु बढ्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको हो । मंगलबारमात्रै चितवनमा दुईवटा घटनामा विप्लव समूहकै हात रहेको दाबीसहित प्रहरीले नयाँ अभियान चलाएको हो ।  
 
मंगलबार भरतपुर महानगर वडा नं १० का वडाध्यक्ष अरुण पीडित भण्डारीको शरीरमा मोबिल खन्याएर ढुंगा प्रहार भएको थियो भने मंगलबार राति पूर्व वनमन्त्री विक्रम पाण्डेको भरतपुर–२ क्षेत्रपुरस्थित कालिका कन्सट्रक्सनलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । 
 
यी दुवै घटनामा विप्लव समूहको हात रहेको प्रहरीको दाबी छ । घटनालगत्तै चितवन प्रहरीले विप्लव समूहको जनपरिचालन समिति सदस्य दिवस भुसालसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
 
पक्राउ परेकामध्ये एक जना बम विस्फोट र चार जना वडाध्यक्ष भण्डारीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । 
 
एसएसपी थापाले आपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने चेतावनी दिए । उनले भने– “विभिन्न समूहका नाममा आपराधिक क्रियाकलाप र गुण्डागर्दी गर्ने प्रयास गरिएको छ । आपराधिक मानसिकता राख्ने कसैलाई पनि छाड्दैनौं ।” 
 
जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीलाई विशेष सक्रिय बनाएर काम गरिरहेको उनले जानकारी दिए । 
 
जिल्लामा अपराध अनुसन्धान व्यूरो र प्रहरी विशेष व्यूरोले पनि आपराधिक गतिविधि अन्त्य गर्न सुक्ष्म रुपमा काम गरिरहेको थापाले वताए ।
 
बुधबार जिल्ला सुरक्षा समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको सुरक्षा व्यवस्थाका बारेमा गम्भीर छलफल भएको बताए । 
 
प्रजिअ भट्टले भने, “अराजक गतिविधि गर्ने र अशान्ति फैलाउनेहरुको पहिचान गरेर कारबाहीको दायरामा ल्याउँछौं । जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायका सबै तहलाई निर्देशन दिएको छु ।”