अन्तर्वार्ता

नृत्य निर्देशक भण्डारीलाई कलाकार बनेरै मर्ने रहर

244 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर | 9th Apr 2018, Monday | २०७४ चैत्र २६, सोमबार २०:५३
चितवन । रहरै-रहरमा कला क्षेत्रमा जमेका चितवनको रत्ननगर नगरपालिका १४, पिठुवाका ३० वर्षीय सुरेन्द्र भण्डारी सिद्धहस्त नृत्य निर्देशक मानिन्छन् । बाल्यकालदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुने उनी स्कुल पढ्दा नाचेर सबैको प्रिय कलाकार बने । 
 
देउसीभैलो र गाउँघरमा हुने नाचगानमा सिपालु डान्सर कहलिएका उनी चितवनमा भइरहने फिल्म सुटिङको कोरस डान्स देखेर झनै लोभिए । अन्ततः २०५७ सालमा चलचित्रमा कोरस डान्सर उत्पादन गर्दै आएको रत्ननगरको नाट्यश्वर नृत्य संगम’ मा प्रशिक्षार्थी बनेर आफ्नो कलालाई थप निखार बनाए । 
 
त्यसबेला सुरेश चौधरी कहलिएका डान्सर मानिन्थे । उनी भण्डारीका गुरु बने । भण्डारीको नृत्य कौशलबाट चौधरी प्रभावितमात्र भएनन्, करिब चार वर्ष सहायक नृत्य प्रशिक्षकको भूमिकासमेत भण्डारीलाई दिए । 
 
कला क्षेत्रमै जम्दै गएका भण्डारीले थुप्रै टेलिचलचित्र र दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा नृत्य निर्देशक भएर काम गरे । उनले ऋद्धिचरण श्रेष्ठ, नितेषराज वन्त र उमेश मायालुजस्ता हस्तीहरुसँग काम गर्ने मौका पाए । चौतर्फी प्रशंसा, हौसला र प्रोत्साहन मिलेपछि एकाएक उनको चर्चा चुलियो । 
 
उनी भन्छन्, ‘सबै क्षेत्रमा माग बढेपछि मलाइ भ्याइनभ्याइ नै भयो । त्यसपछि त नायक बन्ने अफर पनि मिल्यो । टेलिचलचित्र ‘कसुर’मा मुख्य भूमिकामा अभिनय गरेपछि ‘यो संसार’ चलचित्रमा सहनायक बन्ने मौका पाएँ । अभिनयमा पनि राम्रो प्रतिभा देखाएपछि सबैबाट राम्रो हौसला मिल्यो ।’ 
 
कला क्षेत्रमा चिनिएपछि उनी मारुनी कला केन्द्र र परिवर्तन नेपालमा नृत्य निर्देशक हुँदै रत्ननगर कला मन्दिरको स्थापना गरे । राम रिमाल अध्यक्ष रहेको सो संस्थामा उनी उपाध्यक्ष रहेर पाँच वर्ष कलाकार जन्माउन कस्सिएर लागे । 
 
अभिनयको धित नमरेपछि उनी पुनः पापी पेट, ग्याङ लिडर, परदेशको जिन्दगीजस्ता चलचित्रमा सहायक निर्देशक र नृत्य निर्देशनमा जोडिए । गल्ती’ चलचित्रमा खलनायकको भूमिका निर्वाह गरे ।  
 
उनको जीवनमा धेरै आरोह अवरोह आए । संघर्षको कथा सुनाउँदै उनी भन्छन्, ‘कतै पारिश्रमिक पाइयो, कसैले झुक्याएर भागे, कुनै ठाउँमा निःशुल्क पनि काम गर्नुप¥यो । तर, हरेस नखाइकन अगाडि बढिरहेँ ।’
 
०६३ सालसम्मको कला यात्रामा आइपुग्दा गाउँघरमा विदेश जाने लहर आइसकेको थियो । उनका थुप्रै साथी लाहुरे बनिसकेका थिए । तर, उनलाई विदेश मोहले कत्ति पनि प्रभाव पारेन । भन्छन्, ‘पैसा कमाउनुमात्र ठूलो कुरा होइन, कला क्षेत्रमा पाएको ख्यातिले जीविका चलेकै थियो । खाडी मुलुकमा कमाउने जति स्वदेशमै कमाइरहेको थिएँ । कतिले विदेश गएर पैसा कमाउन सुझाव पनि दिएका थिए, तर म आफ्नै क्षेत्रमा रमाइरहेको थिएँ ।’
 
०६३ सालमा तस्करले धमाधम गैंडा मार्न लागेपछि उनी कलाकारितामार्फत् एकसिंगे गैँडा बचाऔँं अभियानमा जुटे । चितवनका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम लिएर हिँडेका उनी वन्यजन्तु संरक्षण अभियन्ताका रुपमा पनि चिनिए ।  
 
त्यसपछि उनलाई रुसेक नामक संस्थाले गर्भवती महिलालाई चेतनामूलक कार्यक्रम गरिदिन आग्रह ग¥यो । उनले आफ्नो कलाकार टिमसहित सिद्धि, कोराक, शक्तिखोर, काउले, माडीलगायतका क्षेत्रमा प्रस्तुति देखाए । चेपाङबस्तीमा उमेर नपुग्दै बिहे गरेर किशोरी महिला गर्भवती हुनेक्रम वृद्धि भएपछि उनले कलामार्फत् सचेतना जगाए । 
 
उनलाई एकपछि अर्को अफर आउन छाडेन । लगत्तै बर्डफ्लुसम्बन्धी नाटक प्रहसन गरिदिन प्रि–प्याड नामक संस्थाले आग्रह ग¥यो । उनले बर्डफ्लुबाट कसरी फार्म जोगाउने र कामदारले कसरी होसियारी अपनाउने विषयमा प्रहसन देखाए । 
 
उनले ०६० देखि ०७४ सालसम्म रत्ननगर महोत्सवमा आफ्नो टिमसहितको प्रस्तुति देखाए । नारायणी कला मन्दिर, चितवन महोत्सव र खिचरा महोत्सवमा पनि उनले नै सांगीतिक माहोल तताउँदै आएका छन् । 
 
चलचित्रमा कोरस डान्स उपलब्ध गराउनेदेखि हरेक वर्ष तिज, दशैं, होली र नयाँ वर्षमा विशेष सांगीतिक कार्यक्रम गरेर उनले कला क्षेत्रमा योगदान दिँदै आएका छन् । कोरस डान्सदेखि क्यासिनोमा कार्यक्रम प्रस्तुति गर्नेसम्मका अनुभव उनका लागि नौलो होइन । 
 
०६७ साउनदेखि रत्ननगर डान्स एकाडेमी स्थापना गरी ६० जना कलाकारको टिम उनले निर्माण गरेका छन् । सांस्कृतिक कार्यक्रमहरुमा कलाकारहरुलाई अवसर सिर्जना गर्दै आएका छन् । कला क्षेत्रमा लागेको डेढ दशकमा कति कलाकार जन्माउनुभयो भन्ने जिज्ञासामा उनी भन्छन्, ‘करिब दश हजार जतिलाई नृत्य सिकाएको छु । अभिनयमा तीन सय पुगे होलान् । सरदर वार्षिक ८०० जनालाई नृत्य सिकाउँछु ।’  
 
यसबाहेक उनी बोर्डिङ स्कुलहरुमा नृत्य शिक्षक र नृत्य निर्देशक बनेर काम गर्दै आएका छन् । उनले सिकाएका विद्यार्थीले प्रथम पुरस्कार जितेर ल्याउँदा उनी गर्व गर्छन् । 
 
‘पहिले नाचगान गर्दा मान्छेलाई बिग्रिन्छ भन्ने सोचाइ थियो’, उनी भन्छन्, ‘अहिले यस्तो सोचाइ हटेको छ । कलाले संसार चिनाउन सकिने रहेछ भन्ने छाप अभिभावकलाई छोड्न सफल भएको छु ।’ 
 
०६७ सालमा संविधानको महत्व बुझाउन अर्जुन श्रेष्ठको गायन र बुद्धि गुरुङको निर्माणमा ‘जनता कति खुसी हुन्थे, जनताले चाहेजस्तो संविधान पाएमा’ बोलको राष्ट्रिय गीतमा उनले अभिनय गर्दा देशविदेशबाट तारिफ पाएका थिए । राष्ट्रिय भावना जनाउने, विकृति र विसंगति अन्त्य गर्ने अभियानमा काम गर्दा सन्तुष्टि मिल्ने उनी बताउँछन् । 
 
पाँच वर्षअघिदेखि सैनिक आवासीय महाविद्यालयमा नृत्य शिक्षकका रुपमा काम गर्दै आएका उनी अहिले नयाँ वर्ष २०७५ मा विशेष कार्यक्रमको तयारीमा जुटिरहेका छन् । बाप्पा मल्टिमिडियाले आयोजना गरेको न्यू इयर इभ फेसन एण्ड म्युजिकल प्रोगामका इभेन्ट कोअर्डिनेटर रहेका उनी लोकप्रिय गायक कर्ण दास, सहिमा श्रेष्ठ, भुवन प्यासी, न्याटिभ ब्याण्ड, डिजे मनोजका साथमा रत्ननगर डान्स एकेडेमीको प्रस्तुतिका लागि दौडधूपमा व्यस्त छन् । 
 
आफ्नो जीवन रहेसम्म कलाकारितालाई नै अगाडि बढाउने संकल्प बोकेका भण्डारी भन्छन्, ‘सानोमा रहरैरहरमा यो क्षेत्रमा लागेँ । चाहेर पनि म यसबाट टाढा हुन सक्दिन । अझै राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास छ । जीवनभर कला क्षेत्रमै रहेर मर्ने रहर छ ।’