मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनको चोकबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना

चितवनको चोकबजारमा एनआईसी एशिया बैंकको नयाँ शाखा स्थापना


हिमालयखबर संवाददाता-
चितवन । नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले चितवनको भरतपुर महानगर–६ स्थित चोकबजारमा आफ्नो शाखा विस्तार गरेको छ । 
 
सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरकी मेयर रेणु दाहालले रिबन काटेर उद्घाटन गर्दै जनताप्रति उत्तरदायी भई बैंकलाई सेवामुखी भूमिका निर्वाह गर्न आग्रह गरिन् । 
 
अर्थतन्त्रको गुणात्मक वृद्धिका लागि वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने जिकिर गर्दै मेयर दाहालले बैंकिङ सेवा जनताको घरआँगनसम्म पुग्नुपर्नेमा जोड दिइन् । 
 
मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
 
 
कार्यक्रममा बोल्दै एनआईसी एशिया बैंकका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद अर्यालले एनआईसी एशिया बैंकले संघीय संरचनाअनुसार देशका विभिन्न ठाउँमा आफ्नो शाखा विस्तार गरिरहेको जानकारी दिए । ‘क’ वर्गका बैंकहरु धेरैजसो सहरकेन्द्रित भए पनि एनआईसी एशिया बैंकले गाउँगाउँमा सेवा विस्तार गरिरहेको सञ्चालक अर्यालको भनाइ थियो । 
 
एनआईसी एशिया बैंकले बैंकिङ सेवा नपुगेको ठाउँमा शाखा विस्तार गरिरहेको उनले जानकारी दिए । उनले भने, बैंकले देशका कुनाकुनामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिँदै जान्छौँ । 
 
विराटनगरबाट सुरू भएको बैंकले १९२ वटा शाखा, १९३ एटीएम, चारवटा एक्स्टेन्सन काउन्टर, र चारवटा ब्राञ्चलेस बैंकिङ सेवासहित बैंकिङ सेवालाई व्यापक बनाउँदै लगेको छ ।  यस बैंकको कूल निक्षेप एक खर्ब ३० अर्ब र कूल कर्जा एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । 
 
शाखा उद्घाटन समारोहमा चितवन उद्योग संघका अध्यक्ष लक्ष्मण अर्याल, भरतपुर महानगरपालिका वडा नंं ६ का वडाध्यक्ष हरिविलास कोइरालालगायतले मन्तव्य राखेका थिए । सो अवसरमा जिल्लाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
 
बैंकले आफ्ना ग्राहकहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरुका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ ।
 
नेपालको एक विश्वासनीय र अग्रणी वित्तीय संस्थाका रुपमा उभ्याउँदै देशका कुना कन्दरासम्म आफ्नो सेवा विस्तार गर्दै लगेपछि सेवाग्राहीहरु खुशी भएका छन् । 
 
चोकबजारका स्थानीय व्यवसायी यतिराज सापकोटा भन्छन्, “यहाँ एउटा स्तरीय वाणिज्य बैंकको अभाव महसुस भएको थियो, त्यसको परिपूर्ति एनआईसी एसिया बैंकले गरेको छ । हामी स्थानीयको  बैंकले सफलतासँगै उद्यमीहरुको हितमा काम गरोस् भन्ने शुभकामना छ ।”