मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको ड्यालसमा किड्नी जोगाउन चेतनामुलक पदयात्रा (भिडियो सहित)

अमेरिकाको ड्यालसमा किड्नी जोगाउन चेतनामुलक पदयात्रा (भिडियो सहित)


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – ड्यालस-एभरेष्ट लायन्स क्लबको आयोजनामा आइतवार टेक्ससको अर्भिंगको टिडब्ल्यू रिचर्डसन ग्रोभ पार्कमा ‘किड्नी वाक २०१८’ कार्यक्रम सम्पन्न भएको छ। 
 
ड्यालस वरपरका दर्जनौ नेपाली संघ संस्थाको सहभागिता रहेको पदयात्रामा करिब डेढसयको सहभागिता थियो । उक्त कार्यक्रममा अर्भिंग शहरका मेयर रिक स्टोफरको प्रमुख आतिथ्यता रहेको थियो भने पदयात्राको नेतृत्व लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर हेनरी ह्वाइटले गरेका थिए । फिलिपिनो लायन प्रेसिडेण्ट ग्लोरिया माथुर, लायन क्षेत्र नम्बर ६ का प्रमुख टेरी मेजा, द्वितीय उपाध्यक्ष बिनोद माथुरको उपस्थिति थियो। 
 
कार्यक्रममा लायन्स क्लबका पूर्व अध्यक्ष राधाकृष्ण काफ्लेले लायन्स डिस्ट्रिकका तर्फबाट आगन्तुक अतिथिहरु लगायत स्थानीय तथा रास्ट्रिय नेपाली संघसंस्थाका अतिथिहरुको परिचय गराएका थिए । कार्यक्रममा ब्लड डोनर्सका अध्यक्ष डा. नन्द रेग्मी, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनिल साह, एएनएका महासचिब विजयराज भट्टराई,  नेपाली समाजका अध्यक्ष सुमन थापा, एनआरएन  टेक्ससका अध्यक्ष भानु खरेल, अनकनका अध्यक्ष नरेश पाण्डे, प्राध्यापकहरु बब हप्किन्स, प्रभात दीक्षित लगायतको परिचय गराएका थिए। 
 
पदयात्रा अभियानमा नेपाली-अमेरिकन लगाएत स्थानीय दर्जनौं डाक्टरहरुले ऐक्यवद्धता सहित सहभागि भएका थिए। डालास-एभरेष्ट लायन्स क्लब अमेरिकाकै नेपालीद्वारा खोलिएको पहिलो लायन्स क्लब हो।  २००३ मा स्थापित डालस एभरेस्ट लायन्स क्लबले नेपालमा बिभिन्न काममा सहयोग गर्दै आएको छ ।  यो क्लब अमेरिका कै पहिलो लायन डिस्ट्रिक क्लब डाल्लास अन्तरगत पर्दछ।  
 
 
पदयात्राको उद्देश्य मृगौला स्वास्थ्य एवं मृगौला रोग सम्वन्धी जनचेतना जगाउने र बिभिन्न दाताहरुले सहयोग स्वरुप प्रदान गरेको रकम संकलन गरी नेपालमा गरीब तथा असहाय मृगौला रोगका बिरामीहरुलाई निःशुल्क सेवा दिने रहेको जनाइएको छ । सो अबसरमा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु तथा रमाइला खेलहरुको समेत आयोजना गरिएको थियो। 
 
पदयात्रा अभियानबाट लगभग पाँच हजार डलर संकलन भएको आयोजक ड्यालस एभरेष्ट लायन्स क्लबका उपाध्यक्ष एवं किड्नी प्रोजेक्टका संयोजक थलराज पन्तले जानकारी दिए । संकलित रकम नेपाल स्थित आरोग्य फाउण्डेसनको संयोजनमा डायलेसिस केन्द्रहरु स्थापनामा को निमित्त सहयोग गरिने समेत उनले बताए । यसअघि पनि क्लबले यस्तै वाक गरेर संकलित रकम आरोग्य फाउण्डेसनलाई सहयोग गरेको थियो। कार्यक्रममा आर्थिक सहयोग तथा उपस्थिति जनाउनुहुने सबैलाई संस्थाका अध्यक्ष बिएन पन्तले धन्यबाद ज्ञापन गरेका थिए ।