देश

‘मलाई हिमालहरू आत्मीय लाग्न थालेका छन्’

406 पटक पढिएको

हिमालयखबर संवाददाता | 8th Apr 2018, Sunday | २०७४ चैत्र २५, आईतवार २१:१२
मेरो नाम लुक्मी स्याङदान हो । म २० वर्षकी भएँ। मेरो जन्म काभ्रेपलाञ्चोकको देवीटार गाउँमा भएको हो। एसएलसी सकेपछि मैले कलेज पढ्न थालेँ । र सँगसँगै जागिर पनि गर्न थाले । तर म म जागिरमा रमाउन सकिरहेकी थिइन। त्यसैले दुइ वर्षपछिनै जागिर छाडेँ । त्यसपछि नयाँ क्षेत्रमा करियर बनाउने सोचेँ। 
 
सन् २०१६ मा मैले स्की (हिउँमा चिप्लेटी) खेल्ने तालिममा सहभागी हुने मौका पाएँ । जुन हिमालय स्की ट्रेक्सले संचालन गरेको थियो । त्यो मेरो लागि ठूलो अवसर साबित भयो । त्यसपछि मैले इन्डोर क्लाइम्बिङ्ग र रक क्लाइम्बिङ्ग पनि सिके। रक क्लाइम्बिङ्गको लागि म मेरी बहिनी पन्चमाया तामाङ्गबाट प्रभावित भएकी थिएँ । 
बहिनी पन्चमाया राष्ट्रिय खेलाडी हुन। मलाई मेरो काम प्रति यति रुचि र लगाव बढ्दै गयो कि, मैले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टबाट ट्रेकिङ्ग गाइड ट्रेनिङ्ग पनि लिएँ।
 
मैले आफूलाई एउटा काममा मात्र सिमित राखिन। न त, सिकाईमा थाकेँ। मैले रोजेको यो करियरमा मेरो मन यति खुशी भयो कि, मैले एकपछि अर्को तालिम लिन थालें । २०१६ मै मैले हिमाल आरोहण सम्बन्धि आधारभूत तालिम पनि लिएँ । यो तालिम नेपाल पर्वतारोहण संघले संचालन गरेको थियो। यो तालिम पछि मैले ट्रेकिंगको सहयोगी गाइड बनेर काम गर्न सुरु गरें। 
 
पहिले म मनास्लु क्षेत्र गएँ । त्यसपछि अन्नपुर्ण आधार शिविर गएँ। त्यसपछि मैले ६ हजार १ सय ८९ मिटर अग्लो आइल्याण्ड चुचुरो चढें। हिमाल आरोहणको त्यो मेरो पहिलो अनुभव थियो। त्यसपछि म प्रष्ट भएँ की, म हिमालहरुमै रमाउँछु र यो काममा मैले आफूलाई बलियो महसुस गर्छु । मैले यो काम मन पराउँछु र यो कमलाई माया गर्छु ।
मलाई अझ सिक्नु थियो, अझ अगाडी बढ्नु थियो। यो अवसर पाएँ, नेपाल माउन्टेनियरिंग इन्स्ट्रक्टरस एसोसिएसनले संचालन गरेको हाइ माउन्टेन रेस्क्यु ट्रेनिंगमा। यो तालिम मैले २०१७ मा लिने अवसर पाएकी हुँ । त्यो मेरो करियरकै सबैभन्दा महत्त्वपूर्ण तालिम थियो। त्यसपछि फेरी मैले रक क्लाइम्बिङ्ग टेक्निक र रेस्क्यु टेक्निकको पहिलो तहको तालिम लिएँ । त्यसपछि त्यही वर्ष नै मैले हेली-मार्शल तालिम लिएँ, जुन नेपाल पर्वतारोहण संघले संचालन गरेको थियो।
 
यी तालिमहरुले मभित्र उत्साह जगाइरहेका थिए। त्यो उत्साहलाई अझ बढाइदियो, क्लाइमिबिङ्ग असिस्टेन्टको रुपमा काम गर्ने अवसरले। त्यसमा ६ हजार ८ सय १९ मिटर लोबुचे शिखर चिनियाहरूसँग चढ्नु पर्थ्यो । यो २०१७ अक्टोबरको कुरा हो। त्यहि वर्ष मैले फेरी ४५ दिनको एडभान्स माउन्टेनियरिंग तालिम र १० दिनको औषधि-उपचार सम्बन्धि तालिम लिएँ ।
 
त्यसपछि २०१७ को डिसेम्बरमा मैले इटालियन पर्वतारोहीहरुसँग आइल्याण्ड शिखर चढ्ने मौका पाएँ। त्यसपछि मैले उनिहरुसँगै ६ हजार ८ सय १२ मिटर अग्लो एमाडब्लम चढ्ने मौका पाएँ। त्यसले मलाई झन् छुट्टै आनन्द दियो र मैले मेरो काममा रोमाञ्चकता देख्न थालें ।
मलाई हिमालहरु अब आत्मिय लाग्न थालेका छन्। मलाई मेरो काम यति रमाइलो लाग्छ कि, हरेक दिन केही नयाँ सिक्न मन लाग्छ। फेरि, केटीहरुलाई बाहिरको साहसिक कामको लागि विश्वास गरिदैन र केटीहरुको संख्या यो क्षेत्रमा नगण्य छ। केटीहरुले पनि बाहिरको साहसिक कामको क्षेत्रमा करियर बनाउन सक्छन् भन्ने प्रमाणित गर्नको लागि पनि मैले माउन्टेन गाइड र प्रशिक्षक बन्ने निर्णय गरेकी छु। 
 
पर्वतारोहीले निश्चित उमेरसम्ममात्र काम आफ्नो काम देखाउन सक्छ । प्रशिक्षकलाई उमेरले छेक्दैन र आफू जस्तै अझ धेरै व्यक्तिहरुलाई यो क्षेत्रमा करियर निर्माण गर्न सहयोग गर्न सकिन्छ। त्यसैले पनि मैले प्रशिक्षक बन्ने निर्णय गरेकी हुँ ।
२०१६ मा मलाई सगरमाथा चढ्ने तीव्र इच्छा जागेको थियो। सगरमाथा चढ्नको लागि शारीरिक, मानसिक र आर्थिक हिसाबले बलियो हुनुपर्छ। तर म आर्थिक हिसाबले त्यतिबेला सगरमाथा चढ्ने अवस्थामा थिइन। अहिले भने, मेरो अनुभव र कामले म भित्र मलाई सगरमाथा आरोहणको लागि तयार पार्दैछ र आर्थिक रुपमा पनि संसारभरबाट सहयोग पाइरहेकी छु।
अहिले मलाई पर्वातरोहनको निम्ति SHERPA KHANGRI OUTDOOR PVT. Ltd ले यो सबै ब्यबस्थापन गरिरहेको छ ।
 
म तामाङ्ग समुदायकी हुँ। तामाङ्ग समुदाय नेपालको हिमाली क्षेत्रसँग, हिमालहरुसँग सबैभन्दा बढी नजिक छन्। धेरै जसो तामाङ्गहरु कृषिमा निर्भर छन् भने महिलाहरुको स्थिति दयनीय छ । म एक उदाहरण बन्न चाहन्छु, तामाङ्ग समुदायलाई अगाडी बढाउन चाहन्छु र तामाङ्ग महिलाहरुमा आत्मविश्वास भर्न चाहन्छु।
पर्वतारोहणले तामाङ्ग समुदायलाई मात्र नभई समग्र देशलाई गौरवान्वित बनाउन सकिन्छ, पर्यटनको विकास गर्न सकिन्छ, नेपाललाई विश्वभर चिनाउन सकिन्छ, नेपालीहरुमा आत्मविश्वास ल्याइदिन सकिन्छ, युवाहरुलाई हौसला दिन सकिन्छ, राम्रो प्रशिक्षक बनेर पर्यटकलाई राम्रो गाइड गर्न सकिन्छ र यो कामले नेपाल लगायत विश्वमा शान्ति र समृद्धिको सन्देश दिन सकिन्छ। मेरो अबको उद्देश्य, या भनौं जीवनको लक्ष्य भनेको पनि यी कुराहरु नै हुन् ।
 
(डोल्मा लामासँगको कुराकानीमा अाधारित)