मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओली—मोदीबीच नेपाललाई रेल र जलमार्गले जोड्ने सहमति (भिडियोसहित)

प्रधानमन्त्री ओली—मोदीबीच नेपाललाई रेल र जलमार्गले जोड्ने सहमति (भिडियोसहित)


हिमालय खबर संवाददाता-
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाललाई रेल र जलमार्गले जोड्ने सहमति भएको छ । 
 
प्रधानमन्त्री ओलीसँगको भेटपश्चात् शनिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सगरमाथाको देश अब सागरसँग जोडिने बताए । प्रधानमन्त्री मोदीले काठमाडौंलाई भारतसँग जोड्ने नयाँ रेलमार्ग बनाउन दुवै देशबीच काम अघि बढाउन सहमत भएको जानकारी दिए । 
 
बाह्रबुँदे संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षी ओलीलाई नेपाल सरकारको प्राथमिकताअनुसार भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
 
मोदीले भारत सरकारको ‘सबैको साथ सबैको विकास’ दृष्टिकोण समावेशी विकास र समृद्धिका निम्ति छिमेकीसँग सहकार्य गर्ने मार्ग निर्देशक नीतिकै रुपमा रहेको उल्लेख गरे ।
 
मोदी भने, ‘सगरमाथाको देश अब सागरसम्मको पहुँच हुनेछ । नेपाल अब ल्यान्ड लिंकमात्र होइन, वाटर लिंक पनि हुनेछ ।’ नेपाललाई भारतले लामो समयदेखि सहयोग गर्दै आएको भन्दै मोदीले आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । 
 
उनले आफ्नो ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री ओलीको  ‘समृद्ध नेपाल ः खुसी नेपाली’ को नारा एकअर्काका पूरक भएको बताए ।
 
प्रधानमन्त्री ओली समृद्ध नेपाल र खुसी नेपालीको सपना साकार पार्न आर्थिक विकास गर्ने अभियानमा रहेको भन्दै मोदीले यो अभियानमा भारत कसरी सहभागी हुनसक्छ भन्नेबारे वार्तामा छलफल भएको जानकारी दिए । 
 
हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले नेपाल संक्रमणकाल पूरा गरेर आर्थिक विकासको चरणमा प्रवेश गरेकाले साथीहरूको साथ चाहिएको बताए । 
 
उनले नेपालको जलविद्युतका लागि लगानी आवश्यक रहेको भन्दै भने, ‘रिभर नेभिगेसनबाट जोडिने विषयमा पनि हामीले छलफल गर्यौं । प्रधानमन्त्री मोदीले नेपाल ल्यान्ड लक नभई ल्यान्ड लिंक भएको बताएबाट अब हामी जलमार्गमा पनि जोडिने भयौं, यो हाम्रा लागि खुसीको कुरा हो ।’
 
प्रधानमन्त्री ओलीले युगान्तकारी राजनीतिक परिवर्तनपछि नेपाल सरकारले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ भन्ने सिद्धान्तका साथ आर्थिक रुपान्तरणलाई प्राथमिकता दिएको बताए । 
 
प्रधानमन्त्री मोदीले स्थानीय तह, संघीय संसद र पहिलो प्रान्तीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली जनता र नेपाल सरकारप्रति हार्दिक बधाई ज्ञापन गर्दै नेपाल र नेपालीले देशको विकास र स्थायित्वका लागि लिएको दूरदृष्टिको सराहना गरे । 
 
दुवै प्रधानमन्त्रीले वीरगञ्जस्थित एकीकृत जाँच चौकीको उद्घाटन गर्दै त्यसको शीघ्र सञ्चालनबाट सीमापार व्यापार तथा वस्तु र सर्वसाधारणको आवागमनले विकास र आर्थिक वृद्धिमा योगदान पुग्ने आशा व्यक्त गरे । 
 
दुवै देशका प्रधानमन्त्रीले भारतको मोतीहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पदार्थ पाइपलाइन बिछ्याउने परियोजना कार्यारम्भको ‘भिडियो’ सम्मेलनमार्फत अवलोकन गरे । 
 
नेपालमा सञ्चालित विकासका द्विपक्षीय परियोजनालाई द्रुत गतिमा कार्यान्वयन गर्नुपर्ने र नेपाल–भारत सम्बन्धका विविध क्षेत्रका सहयोगका कार्यसूचीलाई लागू गर्ने विद्यमान संयन्त्रलाई पुनर्जीवित गर्नुपर्नेमा  प्रधानमन्त्रीद्वयले जोड दिए । 
 
शनिबार कृषि क्षेत्रमा नेपाल र भारतबीच नयाँ साझेदारी बन्नुका साथै रेल सेवाबाट काठमाडौँलाई भारतको रक्सौलसँग जोड्ने र जलमार्गबाट समेत दुई देशबीचको सम्पर्क विस्तार गर्ने पारस्परिक हितका तीनवटा बेग्लाबेग्लै संयुक्त वक्तव्य पनि जारी भए ।
 
प्रधानमन्त्री ओलीको भ्रमणबाट बहुआयामिक नेपाल–भारत साझेदारीमा नयाँ आयाम थपिएकामा दुवै देशका प्रधानमन्त्रीले सहमति जनाए ।
 
भारत भ्रमणका निम्ति गर्नुभएको आमन्त्रण र आफू नेतृत्वको प्रतिनिधिमण्डलप्रति देखाइएको हार्दिक आतिथ्यताप्रति प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षी मोदीमा आभार व्यक्त गरे । 
 
प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई यथाशक्य चाँडो नेपालको भ्रमण गर्न आमन्त्रणसमेत गरे । ओलीको भ्रमणको आमन्त्रणलाई स्वीकार गर्दै मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताए । प्रधानमन्त्री मोदीको भ्रमणको मिति कूटनीतिक माध्यमबाट अन्तिमरुप दिइनेछ ।
 
दुवै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई समानता, आपसी विश्वास, लाभ र सम्मानका आधारमा नयाँ उचाइमा पु¥याउने संयुक्त वक्तव्यमार्फत प्रतिबद्धता व्यक्त गरिएको छ । -एजेन्सीहरुको सहयोगमा