विचार / ब्लग

बलिया पुटिनमाथि चौतर्फी कूटनीतिक दबाब

306 पटक पढिएको

– मोहिनी मिश्र रिसाल

7th Apr 2018, Saturday | २०७४ चैत्र २४, शनिबार ०८:१३
गएको मार्च १९ मा रुसको राष्ट्रपति पदमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएको समाचार आयो । यो समाचारले लभगभ विश्वमै चर्चा पायो । गएको करीब दुई दशकदेखि शक्तिको केन्द्रमै रहेका उनी फेरि राष्ट्रपतिमा निर्वाचित भएको समाचारले संसारमै चर्चा पाउनु कुनै नौलो थिएन । यसले रुसका साझेदार र विश्वका शक्ति राष्ट्रमा पनि थप सन्देश दियो । 
 
तर पनि उनको जितपछिको यो शक्तिशाली समाचारसँगै रुसमाथि कूटनीतिक चुनौती बढेको अर्को समाचार पनि त्यसैगरी फैलिइरहेको छ । यो अर्को एक अन्तर्राष्ट्रिय प्रमुख समाचारका रुपमा विश्वका सञ्चारमाध्यममा छाएको छ । रुसका कूटनीतिज्ञलाई विश्वका विभिन्न देशले फिर्ता गरेपछिको समाचार हो त्यो जसले पुटिनको जितपछि आजका दिनसम्म पनि रुसलाई झस्काएको छ । 
 
पुटिनले ७६ प्रतिशत मतले अर्को कार्यकालका लागि निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वीको तुलनामा निकै नै बढी मत ल्याई चौथो पटक रुसको राष्ट्रपति बन्नु भएका पुटिनलाई विश्वकै नेताहरुले बधाई त दिए तर त्यससँगै कूटनीतिक चुनौतीहरु पनि थपिदिए । उनीहरुले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेर चुनौती थपिए र राम्रोसँग उहाँको चौथो कार्यकालको सुरुवातको खुसियाली पनि मनाउन दिएनन् । 
 
सन् १९९९ देखि नै रुसको राष्ट्रपतिका रुपमा देशको नेतृत्व गर्दै आउनुभएका पुटिनले सन् २०१२ को तुलनामा पनि बढी प्रतिशत मत प्राप्त गरी रुसभित्रै पनि यसअघिका चुनावको तुलनामा बढी नै लोकप्रियता कमाएको उनका समर्थकको भनाइ छ । तर आफ्नो प्रतिद्वन्द्वीका तुलनामा ठूलो मतान्तरमा भएको उनको यो विजय भने अनुसान्धानको विषय भएको उनका विपक्षीहरुको भनाइ रहेको छ । 
 
उनको विजयको समाचारको लगभग सँगसँगै जस्तोगरी अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकालाको आदेश दिएको दियो । यो आदेशले विश्वमा नै रुसलाई ठूलो चोट पुग्यो । तर त्यतिमा मात्र सीमित नरहेर अरू देशले पनि अमेरिकाको सिको गरे र उनीहरुले रुसका कूटनीतिज्ञहरुलाई निकाला गर्ने प्रक्रियाको शुरुवात गरे । 
 
बेलायतले एक जना पूर्वरुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोग गरी हत्या प्रयास गरेको आरोपमा रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो । यसको सिको छिट्टै नै अमेरिकाले ग¥यो । अमेरिकाको सियाटलस्थित रूसी महावाणिज्यदूतावासमा कार्यरत ६० जना रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको थियो । एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेको थियो । 
 
ट्रम्प प्रशासनले यसबारे रूसलाई जानकारी दिई एक हप्ताभित्र अमेरिका छोड्नुपर्ने सूचना जारी ग¥यो र उनीहरुले छोडे पनि । अमेरिकामा रहेका ६० जना कूटनीतिज्ञले त्यति नै संख्याका अमेरिकी कूटनीतिज्ञलाई रुसले पनि निकाला गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरुद्धमा हालको अमेरिकी प्रशासनले गरेको यो अहिलेसम्मकै सबैभन्दा कडा निर्णय भएको अन्तर्राष्ट्रियजगत्को ठम्याइ छ । अमेरिका, बेलायत र क्यानाडाले ती देशमा अनावश्यक विषय र अवस्थामा जासुसी गरेको आरोप लगाएर केही रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेका थिए । जर्मनी र फ्रान्सले पनि नै चार–चार जना रूसी अधिकारीलाई फिर्ता पठाउने निर्णय गरेका थिए । 
 
यस प्रकार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने अभियान बेलायत र अमेरिका मात्र नभई युरोपमा पनि सरेको छ । यसैगरी युरोपेली युनियनका सदस्य अन्य १४ राष्ट्रले पनि क्रमशः रूसलाई एक्लाउने नीतिअनुरूप कडा कदम चाल्न सहमत भएका छन् । यस विषयमा प्रतिक्रिया दिँदै रुसले आफ्नो देशका विरुद्धमा भएका यी आफूहरुलाई एक्लाउने क्रियाकलापको जवाफ उचित समयमा उचित रुपमा दिइने बताउँदै आएको छ । 
 
अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलियासमेत थपिएको छ । अष्टेलियाले पनि दुई जना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिएको थियो । उनीहरुले ती कूटनीतिज्ञलाई आफैँ देश छोड्न आदेश दिँदै सार्वजनिक सूचना नै प्रकाशन गरेका थिए । 
 
यसरी यतिखेर विश्वमा नै रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गर्ने होडबाजी नै चलेको छ । यसले रुसमाथि विश्वकै कूटनीतिक दबाब थपेको मात्र नभएर विश्व समुदायमा उसको बदनाम गरेको रुपमा पनि रुसले लिएको छ । त्यसैले समय समयमा राष्ट्रपति पुटिनले आफूमाथि विश्वका देशहरुले गरेको यो व्यवहारको जवाफ उचित समयमा उचित रुपमा दिइने पनि बताएका छन् । 
 
उता रुसका विरूद्धमा चालिएको यो पछिल्लो कदम र रुसले गरेको ‘जवाफी फायरिङ’ लाई कतिपय विश्लेषकले शीतयुद्धकालीन समयको संज्ञा पनि दिएका छन् । यसप्रकार रुसको अमेरिका, बेलायत, अष्टेलिया लगायतका देशहरुसँग एक किसिमको शीतयुद्ध नै शुरु भएको जस्तो पनि देखिएको छ । शीतयुद्धको शुरुवातस्वरुप अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किंदै गर्दा यता रुसको सेन्ट्पिटस्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय पनि बन्द गर्न रुसी सरकारको निर्देशन दिएपछिको अवस्थाको विश्लेषणमा जानकारहरुले यसलाई शीतयुद्धको संज्ञा दिने गरेका हुन् । 
 
देश निकाला गर्ने यस होडबाजीमा रुसले आफ्नो प्रतिशोध लिने दाबीअनुसार रुसबाट निकालिएका ६० अमेरिकी कूटनीतिज्ञ र उनका परिवारले रुस छोडेका छन् । यसअघि नै ६० जना रुसी कूटनीतिज्ञले अमेरिका छोडेका थिए । यसप्रकार सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावको क्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकैको मित्रका रुपमा विश्वसामु पुुटिन चिनिए । राष्ट्रपति ट्रम्पलाई जिताउन पुटिनको हात रहेको भन्ने समाचारले अमेरिकाले त्यसबेलादेखि अहिलेसम्म नै चर्चा पाएको छ । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्पका बीचको गहिरो मित्रताका रुपमा मानिएको यस सम्बन्धले कुन मोड लिने हो भन्ने विषय भने विश्व समुदायकै पर्खाइको विषय छ । 
 
सोभियत सङ्घका तत्कालीन राष्ट्रपति मिखाइल गोर्भाच्योेभको पालामा बाल्टिक सागर, क्यास्पियन सागर, कृष्ण सागर (ब्ल्याक सी) र अराल सागर वरपरका डेढ दर्जनभन्दा बढी गणराज्य छुट्टिएपछि सोभियत सङ्घ गणतन्त्र रुसमा परिणत भयो । रुसमा परिणत भएपछि रुस र अमेरिका दुई शक्ति राष्ट्रका रुपमा रहे र अहिले पनि रही नै आएका छन् । यी दुई देशसँग गहिरो सम्बन्ध रहदै विश्वका दुई गुटमा बाँधिएको थियो । यद्यपि यी अप्ठ्यारोपनको कारण नै विश्वका कैयौँ राष्ट्रले असंलग्नताको नीति अपनाएर असंलग्न राष्ट्रको घोषणासमेत गर्नु परेको थियो । 
 
आजका दिनमा पनि त्यो झलक कता कता देखिन्छ । अमेरिकाले रुसका विरुद्धमा जे काम गर्छ त्यसलाई अरू पश्चिमा विश्वले पछ्याउँदछन् । यतिखेर पनि त्यही भयो । अमेरिकाले रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गरेपछि त्यसलाई अरू देशले पछ्याए र दृश्य हेर्दा लाग्छ उनीहरु रुसलाई एक्ल्याउँदैछन् । यसरी आफ्नो चौथो कार्यकालको शुरुवातको खुशियाली मनाउन पनि नपाउँदै थोपरिदिएको विश्वको कूटनीतिक चुनौतीले नवनिर्वाचित राष्ट्रपति पुटिनलाई एक हिसाबले भन्ने हो भने सोच्न बाध्य बनाएको छ । यसरी बलिया पुटिनमाथि विश्वको चुनौती थपिएको छ । (समाचार एजेन्सीहरुको सहयोगमा)