अन्तर्वार्ता

छोरा साउदीको जेलमा : बाआमा आँसुको भेलमा

279 पटक पढिएको

— ९५ लाख ‘ब्लड मनी’ भुक्तानी गर्न नसके मृत्युदण्ड हुने फैसला —

केशव भट्टराई / हिमालय खबर | 6th Apr 2018, Friday | २०७४ चैत्र २३, शुक्रबार २३:२४
चितवनको खैरहनी–७, मझुईका २८ वर्षीय उपेन्द्र कार्की ‘ब्लड मनी’ तिर्न नसकेर तीन वर्षअघिदेखि साउदी अरबको जेलमा छन् ।  
 
परदेशमा गएर पैसा कमाउने, राम्रो घर बनाउने र फर्किएर बिहे गरी उज्ज्वल भविष्य निर्माण गर्ने सपना बुनेर ६ वर्षअघि साउदी अरबको हाइलस्थित अल इतियाज कम्पनीमा ड्राइभिङ भिसामा काम गर्न पुगेका उनी तीनवर्ष कटाएर घर फर्किने तयारीमा थिए । 
 
तर, डिसेम्बर ३१, २०१४ को घटनाले उपेन्द्रको नेपाल आउने तयारी तुहियो । कम्पनीमा काम गर्ने शिलशिलामा राजमार्गमा गाडी चलाइरहेको अवस्थामा विपरीत सडकमा जानेक्रममा पछाडिबाट तीव्र गतिमा आएको कारले उनको गाडीमा ठक्कर दियो । उनले चलाएको गाडी अनियन्त्रित हुँदा अगाडिका अन्य दुईवटा कार दुर्घटनामा परेको थियो । 
 
उक्त दुर्घटनामा साउदी नागरिकको समेत मृत्यु भएपछि साउदी अरबको अदालतले तीन लाख ३३ हजार ५०० रियाल ब्लड मनीबापतको क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो । करिब ९५ लाख नेपाली रुपैयाँ बराबरको ब्लड मनी भुक्तानी गर्न नसके आजीवन कारावास वा मृत्युदण्डको सजाय हुनसक्ने अदालतले फैसला गरेको थियो । 
 
ऋण खोजेर छोरालाई साउदी पठाएका उपेन्द्रको परिवारसँग ब्लड मनी बुझाउने जायजेथा र क्षमता छैन । साउदी अदालतले फैसला सुनाएको पनि तीन वर्ष ३ महिना पुगिसकेको छ । ११ महिनाअघि छोरा जेल परेको खबर थाहा पाएका उनका 
 
५५ वर्षीय बुबा सन्तोषबहादुर र ४६ वर्षीया आमा शान्तिको आँखाबाट आँसुको भेल रोकिएको छैन । आमा शान्ति छोराको खबरले विक्षिप्त बनेकी छन् । मानसिक तनावका कारण उनी बारम्बार बिरामी भइरहन्छिन् । 
 
स्थानीय शान्तमणि नहर्की भन्छन्, “आमा शान्ति छोराको प्रसंग आउनासाथ रुवाबासी गर्न थाल्नुहुन्छ । उहाँको स्वास्थ्य अवस्था हेरेर हामीले बुबासँगमात्रै उपेन्द्रको कुरा गर्छौं । छोराको पीरले बिरामी पर्नुभएको छ, हामीले सम्झाउनै सकेका छैनौँ ।” 
 
उपेन्द्रका बुबा सन्तोषले रुँदै भने, “छोराले जेलबाट दुईपटक फोनमा कुरा गरेको थियो । यही चैतमा फोन गरेर बा छिटो जेलबाट मुक्त गर्नुप¥यो, ब्लड मनी जम्मा गरेर मलाई यहाँबाट जसरी भए पनि निकाल्नु भनेर बिलौना गरेको थियो ।”
 
“कम्पनी राम्रो छैन बुबा, आइहालेँ लगानी उठेपछि फर्किन्छु भन्थ्यो, दुर्घटनापछि त केही खबर नै पाइएन । छोरा जेलमा रहेको नेपाली प्रवासी समाज, साउदी अरेबियाले एम्बेसीमार्फत् पहल गरेपछि ०७४ जेठ २४ गतेमात्रै थाहा पायौँ”, उनी भन्छन् । 
 
उनी पनि ११ वर्ष कतारमा गाडी चलाएर फर्किएका हुन् । भन्छन्, “त्यतिबेला कमाएको पैसाले मझुईमा पाँच कट्ठा खेत जोडेको थिएँ । सम्पत्तिका नाममा त्यही एउटा खेत छ । त्यो पनि बैंकमा रोक्का छ । खेत बेचेर ऋणमुक्त हुन खोज्दैछु । छोरा कसरी बचाऊँ भन्ने पिरले अत्यास लाग्न थालेको छ ।”
 
छोराले पैसा पठाएर ऋण तिर्ने आशामा उनले तीन कोठाको पक्की घर बनाएका थिए । घर निर्माण नसकिँदै छोरा जेल परेको सुनेपछि कार्की परिवार थप पीडामा परेको छ । “बैंकको ११ लाख र गाउँघरमा खोजेको ९ लाख गरी २० लाख रुपैयाँ ऋण तिर्न बाँकी छ । जग्गा बेचेर ऋण तिर्नमात्र पुग्छ । छोरा फर्केर आइदिए अरु सम्पत्ति केही चाहिएको थिएन”, विह्वल हुँदै उनले भने । 
 
कतारबाट फर्किएर केही समय गाडी चलाएर हिँडेका उनी अहिले काम गर्न नसक्ने भइसकेका छन् । उनी भन्छन्, “आँखा कमजोर छ, काम गर्न पनि सक्दिन । पैसा नभएपछि गाउँघरमै २–५ हजार सापटी मागेर जीवन गुजारा गर्दै आएका छौँ ।”
 
तीन सन्तानमध्ये जेठा छोरा दीपेन्द्र परिवारको सम्पर्कमा छैनन् । लामो समयदेखि सम्पर्कमै नरहेपछि जेठा छोराको आडभरोसा नरहेको उनी बताउँछन् । एक छोरीको बिहे भइसकेको छ । 
 
छोरा जेल परेपछि उनले ‘उपेन्द्र बचाउ अभियान’ सुरु गरेका थिए । सो अभियानबाट नेपाल बैंक लिमिटेडको पर्सा शाखामा २ लाख ४६ हजार ३५५ रुपैयाँ संकलन पनि भइसकेको थियो । बुबा सन्तोष भन्छन्, “तर, यसरी पैसा संकलन गर्दा गैरकानुनी हुन्छ भनेर इलाका प्रहरी कार्यालय, खैरहनीले रोक लगायो, त्यसपछि अभियान नै बन्द भयोे ।” 
 
ब्लड मनीको अभावमा साउदीको जेलमा रहेका उपेन्द्रलाई सहयोग जुटाउन चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिमार्फत् रवि भट्ट ‘रोषी’ले सामाजिक सञ्जालमार्फत अभियान चलाएपछि एनआरएनले ब्लड मनीबापतको कूल रकममध्ये १५ प्रतिशत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 
 
“एनआरएनका सोम सापकोटा, आरके शर्मालगायतले घरमा आएर १५ प्रतिशत सहयोग गर्ने आश्वासन दिनुभएको छ, बाँकी रकम कसरी जोहो गर्ने केही सोच्नै सकेको छैन”, बुबा सन्तोष आफ्नो पीडा पोख्छन् । 
 
पत्रकारसमेत रहेका भट्ट भन्छन्, “अहिले एनआरएनको सञ्जाल ७८ मुलुकमा छ । सबै शाखाले थोरैमात्र सहयोग जुटाइदिने हो भने उपेन्द्रलाई जेलमुक्त गर्न कुनै समस्या छैन । सबैको सानो सहयोगबाट यो असम्भव पनि छैन । बारम्बार झक्झक्याउँदा १५ प्रतिशतसम्म सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।”
 
“जेलमा नआत्तिकन बस्, जसरी पनि तेरो उद्धार गर्छु’ भनेर छोरालाई सम्झाए पनि कार्की परिवार आफैँ रुनु न हाँस्नुको अवस्थामा छ । उपेन्द्रका बुबा घरमा आउने जोकाहीलाई छोरालाई मृत्युको मुखबाट बचाउन सहयोगको याचना गरिरहेका छन् । 
 
उपेन्द्रलाई मृत्युको मुखबाट बचाउन बुबा सन्तोषबहादुर कार्कीको मोबाइल ९८४५२–७४४८९ वा नेपाल बैंक लिमिटेड, पर्सा शाखाको खाता नम्बर २०१–००१०६३–९३८५५–०००००१ मा यथाशक्य रकम जम्मा गरिदिन पीडित परिवारले अपिल गरेको छ ।