मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

चितवनको एउटै फार्ममा तीन हजार ७०० कुखुरा मरे, बर्ड फ्लुको आशंका

चितवनको एउटै फार्ममा तीन हजार ७०० कुखुरा मरे, बर्ड फ्लुको आशंका


चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नंं १५ माधवपुरको एक कुखुरा फार्ममा तीन हजारभन्दा बढी कुखुरा मरेका छन् । 
 
एक हप्ताको बीचमा स्थानीय अमृत लामिछानेको खोरमा पालिएका तीन हजार ७०० कुखुरा मरेका हुन् । कुखुरा मरेपछि करिब ४० लाख रुपैयाँभन्दा बढी क्षति भएको लामिछानेले बताए । 
 
लामिछानेका फर्ममा कुखुरा मरेपछि बिहीबार जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल र पशु चिकित्सक डा विकास श्रेष्ठले फर्मको अनुगमन गरेका थिए । 
 
प्रमुख खरेलले छोटो समयमै यति धेरै कुखुरा मर्नुले बर्डफ्लूको आशंका भए पनि ल्याब परीक्षणको रिपोर्ट नआई यसै भन्न नसकिने बताएका छन् । यस्तै पशु चिकित्सक डा विकास श्रेष्ठले पनि बर्डफ्लूको आशंका भएको तर रिपोर्ट आएपछिमात्रै यथार्थ भन्न सकिने बताए । 
 
चैत १५ गते बेलुका हावाहुरी आएपछि साँझ तीन कुखुरा मरेको सञ्चालक अमृत लामिछानेले बताए । चैत १६ गते बिहान उठेर खोरमा जाँदा १४ वटा कुखुरा मरेका थिए । १६ गतेको पशु सेवा कार्यालयको रिपोर्टमा ‘एआईभी पोजेटिभ’ रिपोर्ट देखिएको थियो । 
 
लामिछानेको खोरमा अब करिब एक हजार ४०० कुखुरा जिउँदो रहेका छन् । दुई दिनभित्र सबै कुखुरा सखाप हुने सम्भावना रहेको सञ्चालक लामिछानेले बताए । चैत १६ गते र २० गते भरतपुरस्थित जिल्ला पशु सेवा कार्यालयमा परीक्षण गरिएको रिपोर्टबाट कुखुरामा ‘एआईभी पोजेटिभ’ देखिएको थियो ।
 
बर्ड फ्लुको आशंकामा परिवारले डेरा सरे 
 
एक हप्तादेखि कुखुरा मर्न थालेपछि लामिछाने परिवारका ५ जना बालबच्चा र बुबाआमा रत्ननगरको टाँडी क्षेत्रमा गएर बस्न थालेका छन् । 
 
उनीहरु विगत ४ दिनदेखि माधवपुरको घर छाडेर गएका हुन् । रोगको आशंकाले उनीहरु घरभन्दा करिव ६ किलोमिटर तल रहेको जेठो छोराको डेरामा गएर बस्न थालेका छन् ।