मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रमको भारत भ्रमण : इनर्जी बैंकिङलाई विशेष जोड

प्रमको भारत भ्रमण : इनर्जी बैंकिङलाई विशेष जोड


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणमा इनर्जी बैंकिङको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । 
 
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाजस्ता केही महत्वपूर्ण परियोजना निर्माण सम्पन्न भएपछि बर्खायाममा विद्युत् खेर जाने भएकाले त्यसलाई जोगाउन पनि इनर्जी बैंकिङको अवधारणालाई विशेष प्राथमिकतामा राखिएको हो । 
 
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ मंसिर मसान्तसम्म निर्माण सम्पन्न हुने क्रममा रहेको छ । 
 
यस्तै अन्य केही ठूला परियोजनासमेत सो अवधिभित्र सम्पन्न हुने चरणमा रहेका छन् । ती आयोजना सम्पन्न भएपछि बर्खाको समयमा ती परियोजनाबाट उत्पादित विद्युत् खेर जाने र हिउँदमा पुनः भारतबाट आयात गर्नुपर्ने अवस्था भएकाले इनर्जी बैंकिङको अवधारणा अगाडि सारिएको हो । 
 
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश घिमिरेले प्रधानमन्त्रीको भ्रमणका क्रममा सो विषयलाई नेपालको तर्फबाट एजेण्डाका रुपमा राखिएको जानकारी दिए । 
 
नेपालमा बर्खाको समयमा सञ्चालनमा रहेका सबै आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने र हिउँदमा न्यून मात्रामा मात्रै विद्युत् उत्पादन हुने भएकाले माग व्यवस्थापनका लागि इनर्जी बैंकिङ अवधारणा ल्याइएको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ । 
 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि भारतीय समकक्षीहरुसँगको भेटमा सो अवधारणालाई उठाउँदै आएका छन् । 
 
उच्च राजनीतिक तहमा नै छलफल र संवाद भएपछि मात्रै एउटा निर्णयमा पुग्न सकिने भारतीय पक्षको रायपछि प्रधानमन्त्रीको यस पटकको भ्रमणलाई सो विषयलाई समावेश गरिएको हो । 
 
भारतलाई वर्षाको समयमा बढी ऊर्जा आवश्यक पर्ने र नेपालमा कम खपत हुने भएकाले पनि इनर्जी बैंकिङको अवधारणा अगाडि सारिएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाइ छ । 
 
इनर्जी बैंकिङ विशुद्ध ऊर्जा बचतको एउटा विधि हो । यसमा व्यापारिक र आर्थिक विषयलाई कम महत्व दिइन्छ । नेपालले बढी भएको समयमा भारत निकासी गर्ने र कम भएको समयमा आयात गर्ने विधि यसमा अपनाइन्छ । 
 
प्राधिकरणले हाल भारतबाट ४८० मेगावाटको हाराहारीमा विद्युत् आयात गरिरहेको छ । हिउँदको समयको ऊर्जा व्यवस्थापनका लागि उक्त परिमाणको विद्युत् आयात गरिएको प्राधिकरणको भनाइ छ । 
 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितको टोलीले २०१७ अगष्ट ८ मा भएको छलफलमा सो विषयलाई भारतीय अधिकारीमाझ प्रवेश गराएको थियो । नेपाल–भारत पावर एक्स्चेञ्ज कमिटीको बैठकमा सो विषयलाई एजेण्डाका राख्ने सहमतिसमेत सोही समयमा भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । 
 
सामान्यतः इनर्जी। बैंकिङ अवधारणामा जाँदा नेपालले पनि फाइदा लिन सक्ने र भारतलाई त झन् महत्वपूर्ण फाइदा हुने बताइएको छ ।