अन्तर्वार्ता

स्वीट्जरल्याण्डकी पूर्वसांसद डा गोन्सेथको अनुकरणीय स्वास्थ्य सेवा

393 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर

4th Apr 2018, Wednesday | २०७४ चैत्र २१, बुधवार १०:२९
नेपालमा सांसद भएकाहरु मन्त्री बन्ने अभीप्सा राख्छन् । एकपटक माननीय भइसकेपछि अर्थात् विशिष्टको पगरी गुथेपछि राज्यको सेवासुविधा उपयोग गर्नेतिरै ध्यानकेन्द्रित हुने प्रवृत्ति विद्यमान छ । तर, स्वीट्जरल्याण्डकी ७५ वर्षीया डा रुथ गोन्सेथ तीनपटक सांसद बनेपछि ‘रिटायर्ड लाइफ’ नेपालमा स्वास्थ्य सेवा गरेर बिताइरहेकी छन् । 
 
सामाजिक काम गर्नेका लागि उमेरले खासै फरक पार्दैन । विकसित मुलुकमा प्रौढ उमेरकाले युवा जसरी नै सक्रियतापूर्वक काम गर्दै आएका हुन्छन् । नेपालको सन्दर्भमा भने अवकाशपश्चात् चारधाम, तीर्थव्रत र कतिपय त वृद्धाश्रममा पुग्छन् । 
 
नेपालका विभिन्न क्षेत्रमा काम गर्ने विदेशीहरु निस्वार्थ ढंगले सेवा गर्छन् भनेर यकिनसाथ भन्न सकिन्न । तर, स्वीट्जरल्याण्डकी पूर्वसांसद डा गोन्सेथको सेवा र योगदान हाम्रो देशमा राजनीति गर्ने नेता तथा सांसदहरुका लागि पनि अनुकरणीय बन्न सक्छ । 
 
चितवनको बकुलहर रत्ननगर अस्पताल सामान्य हेल्थपोष्टकै अवस्थामा गुज्रिएको थियो । मुस्किलले दैनिक १०-१५ जना बिरामी पनि अस्पतालमा आउन गाह्रो थियो । तर, जब सन् २०१४ सेप्टेम्बरमा छाला तथा यौन रोग विशेषज्ञ गोन्सेथको आगमन भयो, अस्पतालले पुनर्जीवन नै पाएजस्तो भयो । डा गोन्सेथ आएपछि अस्पतालप्रति हेर्ने सेवाग्राहीको दृष्टिकोणमात्र परिवर्तन भएन, दैनिक ३०० भन्दा बढी बिरामीले स्तरीय स्वास्थ्य सेवा लिइरहेका छन् ।
 
डा गोन्सेथ भन्छिन्, “म त्यतिबेला १८ वर्षकी थिएँ, मेडिकल डाक्टर पढ्दै गर्दा चार साताको लागि अफ्रिकाको आइभरीकोस्टमा पुगेकी थिएँ । त्यहाँका मानिसमा चर्को विभेद देखेर सामाजिक सेवा गर्छु भन्ने संकल्प गरेकी थिएँ । त्यो सपना अहिले नेपाल आएर पूरा गर्दैछु ।” 
 
मेडिकल डाक्टर सकेर पाँच वर्ष निजी जागिर र त्यसपश्चात् युनिभर्सिटी अफ स्वीट्जरल्याण्डमा मेडिकल अफिसर बनेर सर्जिकल विभागमा आठ वर्ष काम गरेपछि सन् १९८७ मा ‘डाक्टर्स अफ इन्भाइरोमेन्ट’को प्रेसिडेन्ट बनेकी उनले वातावरण र सरसफाइका गतिविधि गरेर समुदायमा राम्रो छवि निर्माण गरिन् । 
 
समुदायको मन जितेपछि उनले राजनीतिक जीवन सुरु गरिन् । स्वीट्जरल्याण्डको ग्रीन पार्टीमा आवद्ध भएर उनले स्थानीय, प्रदेश हुँदै केन्द्रीय सांसद निर्वाचन भइन् । तीनपटक सांसद निर्वाचित भएपछि अन्तिम कार्यकाल बाँकी रहँदै अरुलाई पनि मौका दिनुपर्छ भनेर सन् १९९९ मा पद हस्तान्तरण गरिन् । दश वर्ष सांसद बनेकी उनी अफ्रिका र तिब्बतमा स्वास्थ्य सेवा प्रदान गर्दै नेपाल आएकी हुन् । 
 
बौद्ध दर्शनबाट प्रेरित उनी तिब्बती शरणार्थीको सहयोग गर्न तिब्बतमा रहेर काम गरेकी थिइन् । पहिलोपटक सन् २००२ मा नेपाल आएकी उनलाई नेपालको सांस्कृतिक विविधताले लोभ्याएको थियो । त्यसपछि सन् २००६ देखि चार वर्षसम्म शान्ति सेवा गृह, काठमाडौँमा स्वयंसेवी डाक्टरका रुपमा अशक्त र अपाङ्गता भएकाहरुको सेवामा जुटिन् ।   
 
नेपालमै स्थायी रुपमा योगदान गर्ने उद्देश्यले सन् २००८ मा ‘शान्ति मेड नेपाल, स्वीट्जरल्याण्ड’ नामक संस्था स्थापना गरिन् । उनी अध्यक्ष रहेको सो संस्थाले सन् २००९ देखि सन् २०१४ सम्म गुञ्जमान हस्पिटल, चितवनमा स्वयंसेवी डाक्टर बनेर काम गरिन् । हस्पिटल प्रशासनले उनको भावनाअनुरुप काम नगरेपछि उनी बकुलहर रत्ननगर अस्पतालमा आएकी हुन् ।
 
 
उजाड अवस्थामा रहेको अस्पताललाई सुधार गरेपछि उनले छाला तथा यौन रोग विभागको जिम्मेवारी सम्हालेकी छन् । अस्पतालमा गाइनोकोलोजी विभागसमेत सञ्चालन भएको छ । जसबाट विशेषज्ञ सेवा नहुँदा सुत्केरी गराउन भरतपुर नै जानुपर्ने बाध्यता हटेको छ । यस्तै, दाँत रोग सेवा पनि उनकै सक्रियतामा सुरु भएको छ । अस्पतालमा कार्यरत १४ जना डाक्टर र कर्मचारीलाई उनकै संस्थाले तलब तथा सेवासुविधासमेत उपलब्ध गराउँदै आएको छ । 
 
डा गोन्सेथकै सक्रियतामा राजधानीबाहिरको मृर्गौला डाइलाइसिस केन्द्र सञ्चालन भएको यो नै पहिलो सरकारी अस्पताल बनेको छ । अहिले तीन चरणमा ६ वटा मेसिनको सहायताबाट दैनिक १८ जना बिरामीले सेवा लिइरहेका छन् । सोलार पावरबाट मृर्गौला डाइलाइसिस हुने यो दक्षिण एसियामै पहिलो अस्पताल हो । यस अस्पतालका सबै सेवा सोलारबाटै सञ्चालन हुँदै आएको छ । 
 
डा गोन्सेथले एनालाइजर मेसिनसमेत जडान गरिदिएकी छन् । हालै सुविधासम्पन्न अपरेशसन थियटर स्थापना गरेकी छन् । जसमा १८ जना बच्चा र जुम्ल्याहाको सफल शल्यक्रिया भइसकेको छ । 
 
डा गोन्सेथको संस्थाले नै ईएमटीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जसमा एम्बुलेन्सभित्रै स्वास्थ्यकर्मी र उपकरणको व्यवस्था छ । उक्त एम्बुलेन्स सञ्चालनपश्चात् ३४ वटा बच्चा एम्बुलेन्सभित्रै जन्मिएका थिए । 
 
यतिसम्म कि अस्पतालका लागि आवश्यक पर्ने सम्पूर्ण अत्याधुनिक फर्निचरहरु उनले स्वीट्जरल्याण्डबाटै आयात गरेकी छन्् । उनको संस्थाले अस्पतालजन्य फोहोर निर्मलीकरण गरी फोहोरको उचित व्यवस्थापनसमेत गर्दै आएको छ । उनको आगमनपश्चात् अस्पतालको स्तरोन्नतिका साथै ठाउँसमेत अभाव हुन थालेपछि अहिले १८९४० स्क्वायर फिटको सुविधासम्पन्न तीनतले सी ब्लक निर्माण भइरहेको छ । 
 
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ भन्छन्, “बिल्डिङको मास्टर प्लान बनाएर स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दा वास्ता नगरेपछि डा गोन्सेथले नै सी ब्लक बनाउन सहयोग गर्नुभयो । उहाँ यस अस्पताल र यहाँका जनताका लागि भगवान् नै सावित हुनु भएको छ ।”
 
 
डा गोन्सेथकै भनाइमा, स्वीट्जरल्याण्डमा उनकै उमेरका प्रौढहरु बगैंचा सजाउने, कफि सप खोल्ने, कुकुर डुलाउने, घुमफिर गर्ने र मोजमस्तीमा रमाउने गर्छन् । तर, उनी नेपालमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेकी छन् । 
 
नेपाली महिला अझै पनि लैंगिक विभेदका कारण पछि परेको उनको बुझाइ छ । उनी भन्छिन्, “नेपाली समाजमा अझै पनि छोराछोरी समान हुन् भन्नेमा विभेद नै रहेछ । हाम्रो मुलुकमा पनि ७० वर्षअघि यस्तै समस्याबाट गुज्रिएको थियो । शिक्षा र चेतनाका कारण लैंगिक विभेद हुने गरेको हो ।” 
 
जस्तोसुकै संकटको अवस्थामा पनि नेपालीहरु बिचलित नहुने र मुस्कान बोकेर हिँड्ने शैलीले उनलाई प्रभाव पार्ने गरेको छ । डा गोन्सेथ भन्छिन्, “नेपालीको जीवनशैली राम्रो लाग्छ । तर, समयको महत्व बुझ्दैनन् । यही अस्पतालमा पनि म पटकपटक स्टाफहरुलाई कराउँछु । स्वीट्जरल्याण्डमा त्यस्तो हुँदैन, समयको एकदम ख्याल गर्छन् ।” 
 
जीवन के हो त ? अन्तिममा राखेको जिज्ञासामा उनी भन्छिन्, “बिग एडभेन्चर । कर्म गर्दै जानुपर्छ, सन्तुष्टि पनि मिल्दै जान्छ । मानिसहरु खुसी भएको देख्दा आनन्द आउँछ । बौद्ध दर्शन र ध्यानबाट पनि जीवनको रहस्य बोध भएको छ ।”