मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत भ्रमणमा राष्ट्रहित विपरीत सहमति गर्दिन : प्रधानमन्त्री

भारत भ्रमणमा राष्ट्रहित विपरीत सहमति गर्दिन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा देशलाई अप्ठ्यारो पर्ने, नोक्सान हुने, लज्जाबोध हुने र शिर निहु¥याउने जस्ता राष्ट्रहित विपरीत कुनै सहमति नहुने बताएका छन् ।
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ देखि २५ गतेसम्म हुने भारत भ्रमणबारे राष्ट्रियसभाको बैठकलाई जानकारी गराउने क्रममा उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सदिऔँ देखिको ऐतिहासिक सम्बन्ध थप सुदृढ र फलदायी हुने विश्वास व्यक्त गरे ।
 
प्रधानमन्त्री ओलीले भने –“देशको प्रतिनिधिका रुपमा भ्रमणमा जाँदैछु, सम्बन्ध बिगार्देला, स्वाभिमानमा आँच आउला भनेर तपाईंहरु नझस्किनु होला, नेपालको मित्रता भन्न जाँदैछु, भारतको  मित्रता लिएर आउछु ।”
 
नेपालले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहेको उल्लेख गर्दै उनले मित्रतापूर्ण सम्बन्ध विदेश नीतिको मूल आधार भएको बताए ।
 
प्रधानमन्त्री ओलीले पारस्परिक सम्बन्ध र समान लाभका आधारमा सम्बन्ध विस्तार गर्नेबारे गहन छलफल हुने बताउँदै छिमेकीका जायज हितलाई सम्बोधन गरेर अघि बढ्न तयार रहेको जानकारी दिए ।
 
उनले भने, “नयाँ सम्झौताको चाङ लगाउने पक्षमा मेरो कुनै शोख छैन, पूराना सम्झौतालाई कार्यान्वयनमा जोड दिनेछ, कृषि, ऊर्जा, रेल र जलमार्गको विकास एंव विस्तारमा गहन छलफल हुनेछ ।”
 
नेपाललाई हुँदै आएको असाधारण व्यापार घाटाको स्थिति अन्त्य गर्न आयात घटाई निर्यात बढाउने तथा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ छलफल हुने बताउँदै प्रधानमन्त्री ओलीले भूकम्पका समयमा गरेका प्रतिबद्धतालाई समयसीमा तोकेर पूरा गर्ने विषयमा समेत छलफल गरिने उल्लेख गरे ।
 
उनले ग्यास बुलेट, भारु नोट सटहीका साथै नेपाल–भारत सीमा क्षेत्रमा हुने आतंकवाद, मानवतस्करी, लागूऔषधजस्ता अवैध क्रियाकलाप रोक्नेबारे भारतीय पक्षको चासो र चिन्तालाई पनि उचित सम्बोधन गरी दुई देशबीचको सम्बन्ध बढाउने विषयमा गहन छलफल हुनेछ भने ।
 
प्रधानमन्त्री ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडिको प्रयास (बिमस्टेक) लाई प्रभावकारी तुल्याउने विषयमा पनि छलफल हुने बताए ।
 
तराई–मधेशमा उठ्दै आएको नागरिकताको विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको जनाउँदै उनले भने, “वंशज र अंगीकृत आमा बाबुका सन्तानले वंशजका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन र यो विषय सदाका लागि समाप्त हुनेछ तर एउटा पनि विदेशीलाई नेपाली नागरिकता दिइनेछैन ।”
 
प्रधानमन्त्री ओलीले सरकारले विकास र समृद्धिको लक्ष्य लिएकाले अब जाडो र खान नपाएर मान्छे मर्नुपर्ने अवस्था आउन नदिने दृढता व्यक्त गदै भूकम्पबाट प्रभावित क्षेत्रको निर्माण गर्दा सबैभन्दा पहिला जनताको आवास निर्माणलाई प्राथमिकतामा राखिने बताए ।
 
मुलुकमा राजनीतिका नाममा चन्दा असुली गर्ने, अपहरण गर्ने, हिंसा मच्चाउनेलाई नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै उनले भने, “यस्ता आपराधिक कार्य देशका लागि हितकर छैनन् ।”