मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा मिटर ब्याजको बिगबिगी, दर्जनौं महिलाको बिचल्ली

चितवनमा मिटर ब्याजको बिगबिगी, दर्जनौं महिलाको बिचल्ली


चितवन । चितवनमा मिटर ब्याजको धन्दा फस्टाउँदै गएको छ । मिटर ब्याजको पैसा ऋण लिएर लोथरबजारमा तरकारी पसल सञ्चालन गर्दै आएकी आशा योञ्जन बिचल्लीमा परेकी छन् । 
 
लोथरमा फस्टाउँदै गएको मिटर ब्याजको गैरकानुनी धन्दाको जालमा परेकी आशा लामो समयदेखि गर्दैै आएको व्यवसायबाट पलायन हुनुपरेको छ । मिटर ब्याजमा लिएको साँवाको चर्को व्याज तिर्दातिर्दै उनको जायजेथा सकिएको छ । एक लाखको प्रतिमहिना २० देखि ३० हजार रुपैयाँसम्म उनले ब्याज बुझाएको बताएकी छन् । 
 
उनी भन्छिन्, “मिटर ब्याजमा लिएको पैसाको ब्याज तिर्दैमा धन सकियो । यही कारणले श्रीमान्सँग खटपट सुरू भयो । घरमा अशान्ति हुन थालेपछि श्रीमान् श्रीमती एउटै घरमा बस्न नसब्ने भयौं ।”
 
श्रीमान्ले घर छाडेर हिँडेपछि उनले तरकारी पसल बन्द गर्नुप¥यो । गत असोजदेखि पसल बन्द गरेपछि एक छोरा र एक छोरीको पढाइ पनि बिग्रियो ।
 
आशाको घर मिटर ब्याजकै कारण बिग्रिन पुग्यो । श्रीमान् श्रीमतीबीच विछोड भयो । मिटर व्याजको गैरकानुनी कारोबारले घरबारविहीन बनेकी आशा एक पात्रमात्र हुन् । उनीजस्तै एक दर्जन घर परिवारलाई मिटर ब्याजले बिचल्लीमा पारेको छ । 
 
लोथरकी माया रानालाई मिटर ब्याजकै कारण रुनु न हाँस्नुको अवस्थामा पुगेकी छन् । उनले स्थानीय एञ्जिला नगरकोटीसँग पटक–पटक गरेर लिएको रकमको ब्याजमात्रै १० लाख रुपैयाँ बुझाएको बताइन् । सयकडा ३० रूपैयाँ ब्याज तिर्ने गरी ऋण लिएकी उनले अझै ७० हजारका दरले चारपटक लिएको दुई लाख ८० हजार रुपैयाँको साँवा र ब्याज तिर्न सकेकी छैनन् । उनले दुई लाख ८० हजारमा ब्याज जोडेर पाँच लाख रुपैयाँ तिर्नुपर्ने हिसाब नगरकोटीले निकालेकी छन् । 
 
मायालाई सोही पाँच लाख रुपैयाँले दिनहुँ पिरोलिरहेको छ । भन्छिन्, “पटक–पटक माग्न आउँछन् । आफूसँग दिने पैसा नै छैन, आजकल त घरमा बस्नै छाडेको छु ।”
 
सोही ठाउँकी सविता बम्जनको पनि अवस्था उही छ । उनको सपना पनि मिटर ब्याजले डुबाइदियो । मिटर ब्याजमा लिएको रकमको ब्याज तिर्दा नै सम्पत्ति सकियो । दुई वर्षदेखि पटक–पटक लिएको पैसाको उनले ब्याजमात्रै २५ लाख रुपैयाँ तिरेको बताइन् । 
 
एक लाखको एक महिनाको ब्याजमात्रै २० हजारदेखि ३० हजार रुपैयाँ बुझाउने गरी उनले स्थानीय पाँच जनाबाट मिटर ब्याजमा पैसा लिएकी थिइन् । २५ लाख रुपैयाँ ब्याज तिर्न उनले लोथरमा रहेका विकास बैंक र लघुवित्त कम्पनीबाट लिएको १५ लाख रुपैयाँ तिर्न बाँकी नै छ । सामान्य खाना होटल सञ्चालन गर्दै आएकी उनको पैसा तिर्न सक्ने अवस्था छैन । 
 
वित्तीय संस्थाहरुले पैसा तिर्न ताकेता गर्दै आएका छन् । वित्तीय संस्थाका कर्मचारीहरुले समेत अपशब्द प्रयोग गर्ने गरेको सविताले बताउँछिन् । उनी दुखेसो पोख्दै भन्छिन्, “मिटर ब्याजमा पैसा लगाउनेहरुले घरमा बस्नै दिँदैनन् ।”
 
सोही ठाउँकी धनमाया श्रेष्ठ पनि मिटर ब्याजको आतंकबाट अछुतो छैनन् । चार लाख रुपैयाँको ब्याजमात्रै आठ लाख रुपैयाँ बुझाइसकेकी बिरामी अवस्थाकी श्रेष्ठले अस्पतालको बेडमा हुँदा पनि पैसाको ब्याज तिर्नुपरेको बताइन् । 
 
राप्ती नगरपालिका वडा नं १ लोथरकी केशकुमारी डल्लाकोटीसँग मिटर ब्याजमा पैसा लिएकी अन्जु उप्रेती अहिले मानसिक तनावमा छिन् । सोही कारोबारका कारण उनको पनि परिवारमा खटपट भएको छ । डल्लाकोटीलाई तिर्न स्थानीय २०÷२५ जनासँग लिएको पैसा तिर्न नसकेर उनी बिचल्लीमा परेकी छन् । 
 
उप्रेतीले १६ लाख ५० हजार रुपैयाँको सय कडा २० का दरले २५ महिनाको ४० लाख ४९ हजार रुपैयाँ डल्लाकोटीलाई बुझाएको बताएकी छन् । 
 
डल्लाकोटीले राप्ती नगरपालिका र मनहरी गाउँपालिकाअन्तर्गत पर्ने लोथरबजारमा साना व्यवसाय गर्ने महिलाहरुलाई मिटर ब्याजमा पैसा लगानी गरेर चर्को ब्याज असुल्दै आएको स्थानीयको आरोप छ । 
 
मुलुकी ऐनको लेनदेनसम्बन्धी महलमा मिटर ब्याजमा पैसा लगाएर चर्को ब्याज असुल्नेलाई कारबाही हुने स्पष्ट व्यवस्था रहेको छ । तर, पीडितले राप्ती नगरपालिकाको न्यायिक समितिमा मुद्दा दिए पनि सुनुवाइ हुन सकेको छैन । 
 
मेयर प्रभा बराल भन्छिन्, “आर्थिक लेनदेनको कानुनी आधार नभएका कारण मिटर ब्याजको गैरकानुनी धन्दा गर्नेलाई कारबाही गर्न सकिएको छैन ।”