मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अवैध सम्बन्ध राखेको आरोपमा यातना दिइएपछि जेठाजु–बुहारी विस्थापित

अवैध सम्बन्ध राखेको आरोपमा यातना दिइएपछि जेठाजु–बुहारी विस्थापित


महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडाध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन् ।
 
सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडाध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया  सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि उनीहरू घरबाट हराएका छन् ।
 
घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरूको गाउँ सुन्दरपुर पुग्दा उनीहरू आ–आफ्ना घरमा फेला परेनन् भने छिमेकीहरूले उनीहरूलाई वडाध्यक्षले कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि नै उनीहरू घर छाडेर गइसकेको बताए ।
 
छिमेकीहरूले नाम नलेख्ने शर्तमा दुवै महिला पुरुष थप यातना र कुटपीटको डरले घर र गाउँ नै छोडेर अचानक हराएको बताए ।
 
स्थानीयवासीहरूका अनुसार दुवै जनालाई सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको लट्ठी (कर्ची)ले कुटपीट गरेपछि उनीहरूले फेरि पटकपटक बोलाएर थप यातना दिने डरले गाउँ नै छाडेर बेपत्ता भएका छन् ।
 
गत शनिबार दुवैमाथि पञ्चायत गर्नुपर्ने भन्दै बोलाएर वडा कार्यालयमा गाउँका भूतपूर्व अध्यक्ष रामेश्वर यादवले पीडित ईसराफिलकै कमरको लुँगी खोलेर खुट्टा बाँधे ।
 
घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए । त्यस्तै, पीडित महिला सैरुललाई बीचमै बसाएर वडाध्यक्ष आफैँ र स्थानीयवासी अमृत यादवसमेतले दुवै जनालाई मरन्णासन्न हुने गरी कुटेर गरेर चरम यातना दिएका थिए ।
 
अहिले सो गाउँमा जताततै उनीहरूकै कुरा हुने गरेको छ । उनीहरू कहाँ गएका छन् ? भन्नेबारे कसैलाई केही थाहा नभएको स्थानीयावासी बताउँछन् ।
 
यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गर्न थालेपछि सो वडाका वडाध्यक्ष महेश यादव पनि बुधबारदेखि बेपत्ता छन् । स्थानीयवासीले उनी कुनै विशेष काम परेको भन्दै गाउँबाट भागेको जनाएका छन् ।