मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गाईको मासु खान खोज्नेका विपक्षमा

गाईको मासु खान खोज्नेका विपक्षमा


मनमा कुनै नयाँ कुरा जागेपछि म तीनवटामध्य एउटा काम गर्छु । यात नोटबुकमा टिप्छु भविष्यको रिफ्रेन्सका लागि । कि सामाजीक सञ्जालमा लेख्छु । यी दुईभन्दा अलिकति फरक हुने जस्तो लाग्यो भने लेख या ब्लग लेख्छु । यसपटक ब्लग कोर्दैछु ।
 
मलाई थाहा छ यो ब्लग प्रकाशित भएपछि दुईवटा कुरा मैले पाउनेछु । या ताली पाउनेछु । ‘गज्जब लेखिस् भट्ट, मेरो मनकै कुरा लेखिस् । बडा चित्त बुझ्यो,’ साथीभाई, आफन्तजन, पाठकहरु सहकर्मीहरुले यसो भन्नेछन् । अनि अर्काथरि साथीभाई, पाठकहरुले गालीको वर्षा दिनेछन् भन्नेमा पनि म ढुक्क छु । ‘हामीले गाईको मासु खाएर तँलाई के को टाउको दुखाई ? तँ अमेरिकामा बसेर बिफ भन्दै के खान्छस् हामीलाई थाहा छ,’ उनीहरुमध्य धेरैले यसै भन्नेछन् ।
 
मानौँ कि–मैले यहाँ बसेर के खाइरहेको छु भन्ने कुरा नेपालमा बसेर ती साथीहरुले थाहा पाइसकेका छन् । मेरो भान्छामा साँझ बिहान के पाक्छ उनीहरुलाइै बास्ना पुगिसक्छ । 
 
म यी दुबै कुराको पर्वाह राख्दिन । मेरो अन्तरआत्माले जे भन्यो त्यसमा संसारका सात अर्ब मानिसले सहमतिको सहीछाप ठोक्नैपर्छ भन्ने अतिवादी सोच पनि म पाल्दिन । 
 
अब लागौँ मुल विषयतिर । सानो छँदा, विशेषगरि ६/७ कक्षादेखि ९/१० कक्षासम्म पढ्दा एक अर्कामा अविश्वास हुनेरहेछ । शायद त्यो उमेर त्यस्तै भएर हो कि ? सहपाठी, साथीभाईबीच केही कुराकानी हुँदा अविश्वास गर्ने, शंका गर्ने प्रवृत्ति त्यतिखेर ज्यादा हुन्थ्यो । सही र सत्य कुरा भएपनि अविश्वास हुन्थ्यो । ‘यसले ढाँट्यो, यसले छल्न खोज्दैछ, फटाहा कुरा गरिराखेको छ’ जस्ता कुराहरु मनमा धेरै उब्जिन्थ्यो । 
 
अनि एकले अर्कालाई विश्वास दिलाउने सारा उपाय खोजिन्थ्यो । उपाय के त ? आधार एउटै थियो–किरिया खाने । किरियाहरु अनेकन थिए । ‘सत्ते धरोधर्म, यहाँबाट एक पाइलो अघि सार्नै नपाउँ, आमा कस्सम,’ जस्ता त सामान्यनै भए । त्यो भन्दा एक तह माथि चढेर किरिया खानुपर्यो भने भनिन्थ्यो–‘गाईको मासु खानु’ अर्थात ‘गाई खानु ।’ अर्थात गाईको मासु खानु भन्ने काम होइन कुरै पनि साह्रै ठूलो अपराधका रुपमा लिइन्थ्यो । गाईको मासु खानु भनेपछि पत्याउन करै लाग्थ्यो । किनकी सितिमिति यो शव्द प्रयोगमै आउँदैनथ्यो । जसरी आउँथ्यो, आएपछि पत्याउनै पथ्र्यो । हामी र हाम्रो सर्कलकाले भने पत्याउँथ्यौँ । किनकी यो किरिया खाइसकेपछि जसले जे भनेपनि त्यो झुठो हुँदैनथ्यो ।
 
हामी कस्तो समाजबाट हुर्किएर आयौँ भने जहाँ गाईलाई सधैँभरि भगवानकै रुपमा पूजिन्थ्यो । हरेक दिन गोठमा बाँधेको गाईलाई टीका नलगाई आमाले चिया पनि पिउनुहुन्थेन । झुक्किएर खुट्टा लाग्यो भने पनि सके शीरले, नसके हातले भएपनि गाईलाई ढोग्नुपथ्र्यो । गोरुलाई पनि लात्ति हान्नु हुँदैनथ्यो । जोत्दाखेरि हिँडेन भने सिम्किनुले पिटिन्थ्यो । तर लात्ति हानिदैनथ्यो ।
 
हिन्दूहरुले हरेक तिहारमा गाईपूजा गर्छन् । किन गर्छन् ? कहिलेदेखि सुरुवात भयो ? यो किम्बदन्तीमै आधारित छ । कसैले देखेको पनि होइन र इतिहासमा लेखिएको विषय पनि होइन । सनातनदेखि जे चल्दै आयो त्यसैलाई स्विकार र सम्मान गर्दै आएको छ हाम्रो संस्कारले । 
 
पछिल्लो समयमा आएर गाईको मासु खान पाउनुपर्छ, गाई काट्न पाउनुपर्छ भन्ने जस्ता आशय उठेका छन् । मेरै जिल्लाबाट प्रदेश सभामा विजयी भएकी र हाल प्रदेश नंं. ३ को उपसभामुख रहेकी राधिका तामाङले ‘मंगोल सम्प्रदायले परम्परादेखिनै गाईको मासु खाइरहेकाले अब चाहि विधिवत रुपमा खान पाउनुपर्छ’ भनेर गृहमन्त्रीलाई भेटेर भनिन् भन्ने कुरा हावा जसरी फैलिएको छ । गाई काटेर खाएको अभियोग लागेकालाई छुटाउन माग गर्दै राधिका गृहमन्त्रीलाई भेट्न गएकी र त्यही सन्दर्भमा यस्तो माग उनले गृहमन्त्री समक्ष राखेको कुरा बाहिर आएको छ । तर सोमबार विज्ञप्ती जारी गर्दै राधिकाले आफूले त्यस्तो नभनेको र आशय पनि त्यस्तो नभएको जनाएकी छिन् ।
 
उपसभामुख राधिकाले त्यसो भनेपनि त्यो काण्डले नेपाली समाज दुई ध्रुबमा बिभाजित भैसकेको छ । सामाजीक सञ्जामा व्यक्त भएका मान्छेका धारणा, समाचारहरुमा लेखिएका कमेन्टलाई मूल्यांकन गर्दा समाजमा नराम्रोसँग विष घोलिइसकेको छ भन्दा अत्युक्ति हुनेछैन । 
 
‘गाईको मासु खाने होइन’ भन्ने एकातिर र अर्कातिर ‘बीच सडकमै गाई काटेर देखाइदिन्छौँ’ भन्ने प्रतिकृया व्यापक रुपमा आएका छन् । यसको जड निकै गहिरो छ । जडसम्म पुग्न माओवादीले २०५२ सालमा सुरु गरेको अतिवाद, आतंकवादसम्म पुग्नैपर्छ । त्यो भन्दा अघि गाई काट्ने त कुरै छाडौँ मासु खाने कुरा गर्दा पनि ठूलै उथलपुथल हुने अवस्था थियो । २०५१ सालमा मन्त्री भएका पद्मरत्न तुलाधरले ‘गाईको मासु खुल्ला गर्नुपर्छ’ भन्दा त्यसले सडकमा आगो बलेको थियो । नेपाल बन्द भएको थियो । तुलाधरको राजनीति त्यसपछि समाप्तै भयो । 
 
तर माओवादीले शताव्दीयौ देखि मिलेर बसेको समाजलाई छिन्नभिन्न बनाउन सफलता पायो । मिलेर बसेका जनजाति, समुदायहरुलाई ‘तिमीहरुले आफ्नो गुमेको राज्य फेरि पाउँछौ’ भन्दै उक्सायो । तिमीहरुले मन लागेको कुरा गर्न पाउँछौँ, मन लागेको कुरा खान पनि पाउँछौ भन्दै उचाल्यो । गाउँमा एउटा लैनौ भैँसी हुनेलाई सामन्तीमा गणना गराए माओवादीले । वर्षमा एक बाली आठ मुरी धान हुने किसानलाई शोषकको परिभाषामा दर्ज गराए तिनै माओवादीले । गाई काट्न पाउनुपर्छ भनेर विगतदेखि उठेको, पद्मरत्नले अलिकति धाप मारेको विषयलाई यो अवस्थासम्म ल्याइपुर्याउन माओवादीले गतिलैसँग मलजल गरेका छन् ।
 
नेपालमा धेरै प्रकारका घरपालुवा जनावरहरु पालिन्छन् । भैँसीदेखि लिएर, बाख्रा, सुँगुर, गाई, कुखुरा, हाँससम्म पालिन्छन् । तर गाईमात्र यस्तो प्राणी हो, जुन मासुका लागि भनेर कसैले पाल्दैनन् । गाई पाल्ने दुधका लागि मात्र हो । बाँकी घरपालुवा जनावरहरु भैँसी, बाख्रा, सुँगुर, कुखुरा, हाँस, बट्टाई सबै मासुकै लागि पालिएका हुन्छन् । भैँसीलाई दुध र मासु दुबैमा प्रयोग गरिएको पाइन्छ । तर गाई यस्तो जनावर हो जसलाई दुधकै लागि भनेर पालिएको हुन्छ । मासु खानका लागि भनेर गाईलाई कसैले पालेका हुँदैनन् नेपालमा । जब मासुका लागि भनेर गाई पालिँदैन । दुधकै लागि भनेर पालिन्छ भने गाईको बध गर्न पाउनुपर्छ, गाईको मासु खान पाउनुपर्छ भनेर कुर्लिनु बीच कहाँनिर तादम्यता छ ? 
 
गाईलाई कसरी भगवानका रुपमा पूज्न थालियो ? किन पूजियो भन्नेतिर पनि अहिले नजाउँ । एउटा भनाई छ नि–‘रिसको झोकमा कसैले पनि वेद पढ्दैन ।’ गाईलाई हिन्दू सम्प्रदायले भगवानका रुपमा मानेकै झोकमा शताब्दियौँदेखि मिलेर बसेको अर्को सम्प्रदायले ‘गाईको मासु हामीले किन खान नपाउने ?’ भन्दा अवस्था कतिसम्म तल्लो रुपमा पुगेछ अनुमान गर्न धेरै घोत्लिनु आवश्यक पर्दैन । मिलेर बसेको नेपाली समाज गाईको मासु खान पाउनुपर्छ र खान हुँदैन भन्ने विवादमा बिभाजित हुनु कुनै पनि कोणबाट सकारात्मक रुपमा लिन सकिदैन । 
 
मानिसको सबैभन्दा ठूलो इगो भनेको उसको धार्मिक आस्था हो । जब धार्मिक आस्थामा धावा बोलिन्छ तव समाजमा अशान्ति, युद्ध भएका छन् । नेपालमा कहिल्यै पनि धार्मिक थिचोमिचो भएको छैन । 
 
मानिसले स्वतन्त्र रुपमा कुनैपनि धर्मलाई अँगाल्न पाउने सुविधा छ । विगतमा अनुचित रुपमा, स्वार्थ प्रलोभन देखाएर धर्म प्रचार गर्नेलाई मात्र सरकारले नियन्त्रण गरेको थियो । अहिले त्यो अवस्था पनि छैन । यसको मतलब धार्मिक स्वतन्त्रता छ र देश धर्म निरपेक्ष भयो भन्दैमा सयौँ वर्षदेखिको आस्था, संस्कारलाई एकै पटक परिवर्तन गर्ने कुरा कसैलाई पनि सैह्य हुँदैन । जुन संस्कारमा हुर्किएर मानिस बढ्यो उसलाई त्यही संस्कार प्यारो र आफ्नो लाग्छ । 
 
नेपालमा एउटा सम्प्रदायले आफ्नो धर्म संस्कारमा गाईगोरुको मासु अनिवार्य रहेको र खाँदै आएको भन्ने कुरा बाहिर ल्याइएको छ । देश धर्म निरपेक्ष हुनुभन्दा अघिसम्म यो कुरा बाहिर आएको थिएन । जब देश धर्म निरपेक्ष भयो त्यसपछि रातारात हुँदै नभएका त्यस्ता कुराहरु बाहिर ल्याइएका छन् । जसले समाजलाई बिभाजितमात्र गराएको छैन, विष घोलिएको छ । मैले माथिनै उल्लेख गरिसकेँ नेपालमा रहेका सयौँ जात–जाति मध्य कसैले पनि मासुका लागि भनेर गाईगोरु पालेका थिएनन् र छैनन पनि । तर गाईको मासु खान पाउनैपर्छ, खान नपाएदेखि धर्म संस्कृति सबै नामेट हुन्छ भनेर अतिवादी रुपमा केही समुह जसरी प्रस्तुत भैराखेको छ त्यसलाई सामञ्जस्य गर्न नसक्ने हो भने समाजमा जनावर होइन मानिस–मानिस बीचनै काटमारको अवस्था आउने देखिएको छ । 
 
नेपाली समाजमा प्रत्यक्ष रुपमा गाईगोरुको बध भएको कसैले देखेका छैनन् । समाजका केही व्यक्ति, समूहको दावीलाई मान्नेनै हो भने विगतमा बध हुन्थ्यो । तर सयौँ वर्षदेखि नेपाली समाजमा भैंसी, राँगो, खसी बोका, कुखुरा, हाँसको जसरी गाईगोरुको बध भएको कसैले देखेका छैनन् । अहिले के हिन्दू, के बौद्ध, के क्रिश्चियन, के मुस्लिम सबै एउटै समुदायमा मिलेर बसेका छन् । हिन्दूको घर अघिल्तिर अर्को धर्म मान्नेले गाईगोरुको बध गरेको अवस्थामा अवस्था के होला ? अनुमानसम्म गर्दा पनि तस्बिर भयावह हुने देखिन्छ । 
 
यतिका वर्षसम्म गाईगोरुको मासु नखाएर केही बिग्रिएको छैन । अब बध नगर्दा वा नखाँदा केही भत्किदैन र बिग्रदैन पनि । यसलाई इगोको विषय कुनै पनि समुदायले नबनाउँदा सबैको कल्याणमात्र होइन समाज सुरम्य र शान्त पनि हुनेथियो । 
 
स्वास्थको लागि मांशजन्य पदार्थ सकभर नखाएकै राम्रो । त्यसमाथि चिकित्सकहरुले ‘रेड मिट’ लाई त सबैभन्दा हानिकारक खाद्य पदार्थका रुपमा लिएका छन् । न स्वास्थलाई हितकारी, नत समाजलाई सुसंस्कृत राख्न सहयोग गर्ने मासुकै निहुँमा किन समाज भाँडिरहेको छ ? यो सबैभन्दा आश्यर्चको विषय हो । 
 
जसलाई मन लाग्छ अमेरिका, युरोप, अष्ट्रेलिया लगायत संसारभरि पुगेका नेपालीले बिफ खाएपनि हुन्छ । पोर्क खाएपनि हुन्छ । तर नेपालमा पुगेपछि बिफ खान मन लाग्यो भन्दैमा गाईगोरु काट्न पाउनुपर्छ भन्ने अतिवाद र उछृङ्खलताको पनि पराकाष्टा शिवाय अरु केही होइन । मान्छे जुन भूमिमा छ, त्यो भूमिको कानुन, बस्तुस्थिती, संस्कार, बहुसंख्यकको धारण र पद्धतिलाई स्विकार गर्नैपर्ने हुन्छ । अमेरिकामा पनि जहाँ मन लाग्यो त्यही गाईगोरुको बध गर्न पाइदैन । 
 
मैले माथिनै उल्लेख गरेजस्तै यो ब्लग प्रकाशित भएपछि गालीको वर्षानै हुनेछ । म गालीलाई सहन तयार पनि छु । जति गाली, अपशव्द सुन्न पनि तयार छु । तर म के चाँहि तयार छैन भने नेपाल जाँदा मेरो सँगै आँगन जोडिएको घरमा मेरी आमाले हरदिन पूजा गर्ने गाई र तिहारमा पूजा गरिने गोरुको बध भएको हेर्न सक्दिन । बिहान बेलुकी गाउँका दाजुभाईहरु जम्मा भएर चिया गफ चल्ने चोक पुरै गाईगोरुको रगतको आहाल भएको हेर्न पनि म तयार छैन । 
 
र, अन्त्यमा । ‘बिफको बर्गर खाएर ठूला कुरा लेख्ने’ भनेर आरोप लगाउनेलाई एउटै वाक्यको जवाफ–‘म माछामासु उसै कम खान्छु । अमेरिका आएपछि मुखमा कुखुराको भन्दा अरु कुनै जीवको मासु परेको छैन ।’