मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनविश्वास नै न्यायपालिकाको शक्ति : राष्ट्रपति भण्डारी

जनविश्वास नै न्यायपालिकाको शक्ति : राष्ट्रपति भण्डारी


नेपालगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन् । 
 
नेपाल बार एशोसिएसनले आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले खेलेको भूमिका प्रशंसनीय रहेको बताइन् । 
 
उनले भनिन्, ‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानून व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’
 
राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका छन्, यस विषयमा सम्मेलनको ध्यान आकृष्ट हुनुपर्छ र न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ पार्न कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरिन् । 
 
न्यायपालिकाको शक्ति नै जनविश्वास भएको भन्दै उनले संविधान र कानूनको व्याख्यामा एकरूपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिइन् ।
 
राष्ट्रपति भण्डारीले कानून व्यवसायीले कानून कार्यान्वयन गराउन सहज भूमिका खेल्नुपर्ने बताउँदै एकसय अपराधी छुट पनि एकजना निरपराधीले सजाय पाउनु नहुने भावना र मान्यतामा भूमिका खोजिनुपर्ने बताइन् । 
सम्मेलन उद्घाटन समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानूनी पैरवीकर्ताका रूपमा एशोसिएसनले आफूलाई स्थापित गर्नेमा जोड दिए । 
 
एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको सभापतित्वमा भएको सम्मेलन उद्घाटन समारोहमा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा र महासचिव खम्बबहादुर खातीले मन्तव्य राखेका थिए । 
 
आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषय प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरी नेपालगञ्ज घोषणापत्र जारी गरिने एशोसिएसनका अध्यक्ष केसीले जानकारी दिए ।