मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निजी काममा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न प्रधानमन्त्रीको सातदिने अल्टिमेटम

निजी काममा खटाइएका सुरक्षाकर्मी फिर्ता गर्न प्रधानमन्त्रीको सातदिने अल्टिमेटम


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको आडमा निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएका छन् । 
 
सिंहदरबारमा भएको मुख्यमन्त्रीसहितको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले घरायसी काममा खटाइएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै कर्मचारीलाई सात दिनभित्र फिर्ता गरिसक्न निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री ओलीले सबैलाई नियम कानुनबमोजिम निर्णय गरेर खटाएका बाहेकका सुरक्षाकर्मी कसैले निजी काममा प्रयोग गरेको भए सात दिनभित्र फिर्ता गर्न रक्षा सचिव र गृह सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
 
प्रधानमन्त्री ओलीले भने, ‘कहीँ कतै दुरुपयोग नहोस्, शक्तिको आडमा जजसले घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरिरहेका छन्, निर्णय भएका र तोकिएको सुबिधाबाहेक सबैलाई सात दिनभित्र अनिवार्य फिर्ता गरिसक्नुहोला ।।’ 
 
शक्तिका आडमा कतिपयले सुरक्षाकर्मीलाई घरायसी काममा लगाउने गरेका समाचार पटकपटक आएपछि प्रधानमन्त्रीले यस्तो विषय आफूकहाँ पनि आएको भन्दै सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएका हुन् । 
 
सेना, प्रहरी र सशस्त्र प्रहरीमा गरी झन्डै चार हजारभन्दा बढी सुरक्षाकर्मी घरायसी काममा प्रयोग हुँदै आएका छन् । पूर्वप्रधानसेनापति, पूर्वप्रहरी महानिरीक्षकदेखि सेना र दुवै प्रहरीका उच्च अधिकृतहरूले राज्यले तोकेभन्दाबाहेक घरायसी काममा राख्ने गरेका छन् । 
 
व्यक्ति रिझाउन र अनावश्यक काममा सुरक्षाकर्मी खटाउने गरेको पाइएपछि प्रधानमन्त्री ओलीले फिर्ता गर्न सात दिनको समय दिएका थिए ।