मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्री थापाले भने- “प्रहरीको रासनमा विभेद हटाउँछु”

गृहमन्त्री थापाले भने- “प्रहरीको रासनमा विभेद हटाउँछु”


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बुधबार प्रहरीको मेसमा बसेर जवानसँगै खाना खाए । 
 
बिहान १०ः१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डारण कक्षलगायत निरीक्षण गरे ।
 
त्यसपछि उनले मेसको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेसतर्फ लागे । त्यहाँ खाना खाइरहेको प्रहरी हतारहतार उठ्न खोज्दै थिए तर गृहमन्त्री थापाले बसेर खाइराख्न सबैलाई आग्रह गरे । 
 
सो लगत्तै भान्सामा पुगी उनले, “हामी पनि यहीँ खाना खान्छौँं, खाना पुग्छ नि !” भनेर प्रश्न गरे । उनको प्रश्नबाट अकमकिएका प्रहरीले शुरुमा त विश्वास मानेनन् । ‘पुग्छ हजुर’ भनेर जवाफ दिए । 
 
“त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस्” भन्दै गृहमन्त्री थापा खाना खाइरहेका प्रहरी जवानसँगै बसेर खाना खाए ।
 
दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामीसमेत अर्पण गर्न पाएनन् । 
 
सो अवसरमा उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्तचित्त भएर लाग्न वृत्तका प्रहरीलाई निर्देशन दिए ।
 
सुरक्षा निकायका अन्य अंगभन्दा नेपाल प्रहरीको रासनमा विभेद रहेकोबारे आफू जानकार रहेको बताउँदै गृहमन्त्री थापाले त्यो असमानता हटाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 
यसअघि बुधबार बिहान गृहमन्त्री थापाले नक्खु कारागार, महानगरीय प्रहरी परिषर ललितपुर, जाउलाखेल, महानगरीय प्रहरी प्रभाग पुल्चोकको निरीक्षण गरेका थियो ।