अन्तर्वार्ता

दोस्रो विश्वयुद्धका योद्धा ‘पल्टने बा’ भन्छन् “फेरि त्यस्तो युद्ध नहोस्”

316 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर

21st Mar 2018, Wednesday | २०७४ चैत्र ७, बुधवार ०१:१०
प्रथम विश्वयुद्धको २० वर्षपश्चात् अर्थात् सन् १९३९ सेप्टेम्बर १ मा जर्मनीले पोल्याण्डमाथि आक्रमण गरेर दोस्रो विश्वयुद्धको सुरुवात ग¥यो । त्यसपछि बेलायतले जर्मनीमाथि आक्रमण ग¥यो । त्यसैबेला बेलायती गोर्खा सैनिकबाट लडाइँमा प्रतिनिधित्व गर्ने एक साक्षी हुन्– चितवनको रत्ननगर–१६ पिठुवाका ९९ वर्षीय मानबहादुर थापा क्षेत्री । 
 
‘पल्टने बा’का नामले चर्चित उनी भन्छन्, “फेरि त्यस्तो युद्ध नहोस् ।” युद्धले कसैको पनि जित नहुने उनको बुझाइ छ । 
 
नेपालका प्रधानमन्त्री जुद्धसमशेरले बेलायतको सहयोगका लागि आठ / आठ हजारका १२ वटा टिम गरी करिब एक लाख नेपाली युवालाई नयाँ रंगरुटमा भर्ना गरेर युद्धमा पठाएका थिए । तीमध्ये ४९०६० नम्बरका हुन् ‘पल्टने बा’ । दोस्रो विश्वयुद्धका थोरैमात्र जीवित साक्षीमध्येका एक हुन् उनी । शताव्दी पुरुष हुन लाग्दा पनि ‘पल्टने बा’को जोश र जाँगर युवाको भन्दा कम्ती छैन । 
 
उनी भन्छन्, “इटालीको तारजुमा रहेर ब्रिटिस गोर्खा सेनाका तर्फबाट अविरल रुपमा १८ महिनासम्म लडाइँ गरियो । त्यसताका घाइते साथीलाई स्टेचरमा राखेर उद्धार कार्यमा म खटिएको थिएँ ।”
 
उनी भारतको बकुल्ला छाउनीमा चौथो गोर्खा पल्टनबाट खटिएर इटाली गएका थिए । त्यसबेला इटालीका शासक मुसोलिनी र जर्मनीका शासक हिटलर थिए । दोस्रो विश्वयुद्ध सबैभन्दा भयावह र मानवसभ्यतामा प्रभाव पार्ने युद्ध मानिन्छ । ब्रिटिस साम्राज्य र राष्ट्रमण्डलका अधिकांश देशसहित फ्रान्स एउटा गठबन्धनबाट लडाइँमा भाग लिएका थिए भने अर्कोतर्फ जर्मनीलगायत केन्द्रीय शक्तितर्फका देश लडाइँमा सामेल थिए । 
 
युद्धमा ब्रिटिस सेनाले जर्मनीलाई परास्त गरेपछि उनी रिलिजमा घर फर्किएका हुन् । उनी भन्छन्, “आवश्यक परेका बेला लडाइँमा जाने शर्तबमोजिम रिलिजमा घर फर्किएँ । पछि लडाइँ लड्नु नपरेपछि घरगृहस्थी जीवनमा लागेँ ।”
 
लडाइँमा उनले सेक्सन १५ का हबल्दार साथी दिलबहादुर तामाङलाई गुमाएका थिए । उक्त घटना सम्झँदै उनी भन्छन्, “जर्मनी सेनाले गोली बर्साउँदा मेरो छातीनजिक गन्जी नै डढेर गयो । म बल्लतल्ल जोगिएँ । तर, एउटै सेल्टरमा रहने साथी दिलबहादुरको छातीमै गोली लाग्यो । मैले अत्यन्त मिल्ने साथीलाई गुमाएँ ।”  
 
“म २० वर्षको उमेरमा लाहुरे बन्न भारत गएको हुँ । १८ महिनासम्म तालिम लिएँ । हिमाञ्चल प्रदेशको झागुमा लडाइँ कौशल सिकेँ”, जागिरको प्रसंगमा उनी भन्छन्, “चौथो गोर्खा पल्टनबाट पानीजहाजमा ११ दिन लगाएर समुन्द्रपारीको इटालीको तारजुमा पुग्यौँ । १० दिन इटालीमा बसेपछि जर्मनी र जापानसँग लडाइँ गरियो । लडाइँमा जर्मनीले हात उठाएपछि नेपाल फर्किएको हुँ ।”
 
थातथलो काउले फर्किएर गृहस्थी जीवनमा लागेका मानबहादुरको ३६ वर्षको हुँदा घर जलेर खरानी भयो । घरसँगै पल्टनको महत्वपूर्ण कागजात पनि जलेर नष्ट भयो । उनी भन्छन्, “चौथो गोर्खा पल्टनमा भएका सबै साथीहरुले पेन्सन पाए । म भने कागजपत्र जलेर प्रमाण नष्ट हुँदा पेन्सिन पाउनबाट वञ्चित भएँ ।” 
 
२०१८ सालमा काउले डाँडाबाट समथर भूभाग हात्तीगाडेमा झरेका उनी खेती किसानीमै समर्पित भए । २० / २५ वटा गाईबस्तु पाल्नु उनको खान्दानी परम्परा नै हो । त्यही परम्परालाई निरन्तरता दिँदै अहिले पनि उनका नातिनी बुहारी जमुनाले गंगाजमुना गाई फार्म खोलेकी छन् । जहाँ १७ वटा गाई पालन गरिएको छ । जसमध्ये आठवटा गाई व्याउनी छन् । अहिले दैनिक ८० लिटर दूध बिक्री गर्दै आएको ‘पल्टने बा’ बताउँछन् । 
 
उनका ६ छोरा छन् । उनी माइला छोरासँग बस्छन् । एउटा नाति हेमराज थापा रत्ननगर १६ का वडाध्यक्ष हुन् । उनका छोराहरु, १० नाति विभिन्न पेसा व्यवसायमा आवद्ध छन् । 
 
उनी भद्रकाली माविका संस्थापक अध्यक्ष हुन् । विभिन्न सामाजिक संघसंस्था एवम् धार्मिक कार्यमा संलग्न उनी तत्कालीन गाउँपञ्चायतको कोषाध्यक्ष र सदस्य भएका थिए । अहिले उनी ब्रह्मज्ञानी अर्थात् अद्वैत संस्थामा क्रियाशील छन् । 
 
उनी स्पष्टसँग बोल्छन् । गीता र धार्मिक ग्रन्थहरु सजिलैसँग पढ्न सक्छन् । घरमा हेरचाह गर्ने उनी नै हुन् । उनी केही न केही काम नगरी बस्नै सक्दैनन् । घरमा मात्र होइन, गाउँकै भरोसाका व्यक्ति हुन् उनी ।
 
गत वर्षसम्म दैनिक सात बोरासम्म घाँस काट्ने उनलाई चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जिल्ला प्रशासन कार्यालयमै बोलाएर दोसल्लासहित सम्मान गरेका थिए । 
 
उनी भन्छन्, “पहिलेदेखि नै पशुपालनमा लागियो । २५ वटासम्म गाई, भैंसी पालियो । एक महिनामा तीन टिन घिउ बनाएर बेच्ने मै हुँ । सुका माना घिउ खाएको मान्छे हुँ ।”
 
झट्ट हेर्दा उनलाई ९९ वर्षको भनेर विश्वास गर्न गाह्रो पर्छ । उनी अझै फुर्तिला छन् । भन्छन्, “ ९६ वर्षमा मुटुमा समस्या भएर पेसमेकर जोडेर बाँचेँ । भविष्यवाणी गर्ने पल्टने साथीले १०६ वर्ष त सजिलै बाँच्छस् भनेको थियो, यसअघिका सबै घटनाक्रम मिल्दै आएको छ । मलाई पनि बाँच्छुजस्तो लागेको छ ।”