मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

BREAKING NEWS : त्रिभुवन विमानस्थलमा बंगला विमान दुर्घटना, ४९ जनाको मृत्यु, २२ जना घाइते

BREAKING NEWS : त्रिभुवन विमानस्थलमा बंगला विमान दुर्घटना, ४९ जनाको मृत्यु, २२ जना घाइते


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमबार दिउँसो २ः२० बजे यूएस बंगलाको एक विमानमा एक्कासि आगो लागेर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ७१ मध्ये ४९ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
 
विमानस्थलबाट ४० जनाको शव निकालिएको थियो भने अन्य ९ जनाको उपचारमा क्रममा मृत्यु भएको हो ।  घाइतेमध्ये १ जनाको त्रिवि शिक्षण अस्पतालमा र अन्य ८ जनाको काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । शवहरुलाई पोष्टमार्टमका लागि वीर र शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 
 
घाइतेहरुको नर्भिक, अन्नपूर्ण न्यूरो, ग्राण्डी, ओम र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । चालक दलका चार सदस्यसहित ७१ जना सवार विमानमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी नागरिक, चीनका एक र माल्दिभ्सका एक जना सवार थिए । 
 
३३ जना नेपालीमध्ये १५ जना मेडिकल विद्यार्थी र १६ जना ट्राभल एजेन्सीका कर्मचारी तथा अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जना नेपालीमा संजय पौडेल, संजय महर्जन, नीगा महर्जन, पूर्णिमा लोहनी, स्वेता थापा, मिली महर्जन, सरिना श्रेष्ठ, एल्जिना बराल, चारु बराल, सामिरा व्यञ्जनकार, आश्ना शाक्य र प्रिन्या धामी रहेका थिए ।
 
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालक दलका चारसहित विमानमा ७१ जना  रहेका थिए । उनले भने, ‘दुर्घटनामा परेको जहाजको केही भाग काटेर घाइतेको उद्धार जारी राखेका छौँ ।’ 
 
बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा लागेको आगो निभाउन अहिले नेपाली सेना, नेपाल प्रहरी, काठमाडौँ तथा ललितपुर महानगरपालिका र विमानस्थलकै दमकलको सहायताबाट आगो निभाउने कार्य भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार धावन मार्गमा अवतरण हुनुभन्दा अघि नै जहाजमा आगो लागेको थियो । 
 
विमानबाट निकालिएको शवलाई दुर्घटनास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ । घाइतेहरुलाई उपचारका लागि विमानस्थल नजिकैको काठमाडौँ मेडिकल कलेज, काठमाडौँ मोडल अस्पताल, नर्भिक अस्पतालमा लगिएको छ । 
 
नर्भिकमा उपचाररत घाइतेमध्ये विराटनगरका वसन्त बोहोरा, काठमाडौँका आशिष रंजित र दिनेश हुमागाईंको उपचार भइरहेको छ । घाइते भएका अधिकांश बोल्न नसक्ने अवस्थामा रहेका छन् । 
 
विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार उपचारमा रहेकाहरुको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ । 
 
विमानमा आगोले क्षति पुगेको अवस्था हेर्दा यात्रु जीवित रहने संभावना न्यून रहेको एसएसपी जोशीको भनाइ छ । हालसम्म केहीको उद्धार गरी अस्पताल लगिएको छ । 
 
यसैबीच, गृहमन्त्री रामबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको विमानका यात्रुको उद्धारमा लाग्न निर्देशन दिएका छन् । गृहमन्त्री थापा दिउँसो ३ बजे दुर्घटनास्थल पुगेर घाइतेको शीघ्र उपचार गर्न निर्देशन दिएका हुन् । उनले घटना दुःखद् भएको भन्दै सबैलाई धैर्यधारण गर्न आग्रह गरेका छन् । 
 
प्रधानमन्त्रीबाट उद्धारबारे जानकारी 
 
यस्तै, विमान दुर्घटनापछि भइरहेको उद्धारको अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल पुगेका छन् । 
 
गृहमन्त्री रामबहादुर थापाका साथ विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले त्यहाँस्थित नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित अधिकारीबाट घटनाको विवरण र उद्धारको अवस्थाबारे जानकारी लिएका छन् । 
 
प्रधानमन्त्री ओलीले उद्धारका लागि आवश्यक सबै स्रोतसाधन जुटाउन निर्देशन दिँदै घटनाप्रति दुःख व्यक्त गरेका छन् । साँझ ४ बजेका लागि तोकिएको मन्त्रिपरिषद्को बैठक स्थगन गरी प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् । 
 
विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन
 
यसैबीच, सरकारले यूएस बंगलाको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । दुर्घटनामा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो । 
 
आयोगमा प्रमुख सेनानी डा राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी र सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन् । 
 
जाँचबुझ आयोगलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए । सरकारले विमान दुर्घटनामा परी घाइते भएकोहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । दुर्घटनामा परेकाहरुको उद्धार कार्यमा खटिएका नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी लगायतप्रति पनि आभार व्यक्त गरिएको छ ।