अन्तर्वार्ता

संघर्ष र परोपकारको अर्को नाम निरकला सिस्टर

725 पटक पढिएको

८५ वर्षीया यी वृद्धालाई चितवनकी ‘मदर टेरेसा’का रुपमा सम्मान गर्छन्

केशव भट्टराई / हिमालय खबर | 11th Mar 2018, Sunday | २०७४ फाल्गुन २७, आईतवार २१:४०
चितवन । चितवनको शैक्षिक तथा सामाजिक क्षेत्रमा एक अनुकरणीय व्यक्तित्वको नाम हो– ८५ वर्षीया निरकला शर्मा । उनलाई धेरैजसोले ‘निरकला सिस्टर’का रुपमा चिन्छन् भने चितवनकी ‘मदर टेरेसा’का रुपमा सम्मान गर्छन् । 
 
मैनवत्तीले आफूलाई सिध्याएर अरुलाई प्रकाश दिएजस्तै आफू अशक्त रहँदारहँदै पनि हिम्मत नहारिकन सयौँ चेलाचेलीलाई शिक्षाको ज्याति बाँड्ने विद्यार्की प्रतिमूर्ति हुन् निरकला । उनी चितवनकी पहिलो अंग्रेजी शिक्षिका हुन् । नेपालका विभिन्न क्षेत्रमा चम्किएका तारा उत्पादन गर्ने गुरुआमा हुन् । परोपकार र मानवसेवाका लागि अहोरात्र चिन्तन गर्ने एक सामाजिक अभियन्ता हुन् । 
 
तनहुँबाट झापाको भद्रपुर र अध्यापनका सिलसिलामा दार्जिलिङको ओबाइकीमा रहँदा शिक्षक पिता जगधर र आमा गायत्री शर्माबाट १९९० पौष २८ गते जन्मिएकी निरकला संभ्रान्त परिवारकी भए पनि उनको जीवन अभाव र पीडामै बित्यो । त्यतिबेलै मन्टेश्वरी शिक्षा अध्ययन गर्ने अवसर पाएकी निरकला १० वर्षको उमेरमै हड्डीसम्बन्धी रोगको आक्रमणबाट थला परिन् । पढाइमा तेज भए पनि शारीरिक कारणले अवरुद्ध भएपछि हजुरबुवाको संगतले उनी गीताको स्वाध्ययन गर्न थालिन् । गीताको पुस्तक अझैसम्म पनि उनको सिरानीमै रहने गरेको छ । 
 
उनी भन्छिन्, ‘गीतामा मेरो अति नै प्रेम छ । गीताको अध्ययनले नै मलाई शक्ति प्रदान गरेको हो । जीवनमा जो कसैले पनि एकपटक गीता अध्ययन गर्नैपर्छ ।’
 
अशक्त भएर ओछ्यान पर्दा उनकी आमा गायत्रीले उनको उपचारमा कुनै कसर बाँकी राखिनन् । उनी १३ वर्षको हुँदा उनका भाइ स्कुलबाट फर्किंदा रेलमा परेर बिते । एकातिर छोरीको अवस्था र अर्कोतिर छोरा गुमेको शोकले गायत्री गाडीको आवाज आउँदा पनि बेहोस हुने भएपछि निरकलाको परिवारले खर्साङको घरजग्गा बेचेर झापा आए । तत्कालीन समयमा पद्मशमशेरले झापामा हाइस्कुल खोलेका थिए । उनका बुवा पहिलो नेपाली शिक्षक भए । 
 
खर्साङबाट झापा स्थानान्तरण भए पनि शर्मा परिवारमा पीडा थपिन छाडेन । निरकलाका १९ वर्षीय दाजु मिलमा काम गर्दा ज्वरोले थलिएर बिते । शिक्षक क्वाटरमा रहँदा दार्जिलिङको सेन्ट मेरिट हस्पिटलमा उपचारपश्चात् निरकला तगारो समातेर पाइला सार्न थालिन । पाँच महिनाको तीर्थयात्रापछि पढेर आत्मनिर्भर बन्नुपर्छ भन्ने ऊर्जा थपियो । चार कक्षामा अवरुद्ध भएको पढाइ उनले आठ वर्षपछि तीन महिनाको स्वाध्ययनपश्चात् नौ कक्षामा भर्ना भएर निरन्तरता दिइन् । 
 
उनी २०२० मा एसएलसी परीक्षा दिन धरान आउँदा उनकी आमा सिकिस्त बिरामी थिइन् । परीक्षा सकिएर फर्किंदा आमा बितेको नौ दिन भइसकेको थियो । भन्छिन्, ‘एसएलसी दिएर फर्किंदा आमालाई सुहाउँछ भनेर पोते र चप्पल ल्याइदिएको थिएँ, आफूलाई भगिरथ प्रयास गरेर पुनर्जन्म दिलाउने आमालाई अन्तिम समयमा देख्न पाइनँ ।’
 
त्यसपछि उनलाई तत्कालीन महिला संघकी जिल्ला सभापति ‘मेचीआमा’ भनेर चिनिने दिलकुमारी श्रेष्ठले आमाको रुपमा स्वास्थ्य र शिक्षाका लागि जिम्मा लिइन् । मेचीआमाकै पहलमा प्रिन्सेप शाह (राजा महेन्द्रकी बुहारी), विमला मास्के र कमल राणा (जुद्धशमशेरकी बुहारी) को सहयोगमा उनी कीर्तिपुर क्याम्पसको छात्राबासमा रहेर शिक्षाशास्त्रमा स्नातक गरिन् । क्याम्पसका प्राध्यापक, साथीहरु र मेचीआमाकै पहलमा शान्त भवन मिसन अस्पतालमा युकेबाट आएका डा मार्टिनले ठूलो पर्यत्नबाट उनको खुट्टाको शल्यक्रिया सम्पन्न गरिदिए । पाँच महिनाको अस्पताल बसाइपश्चात् उनी त्रिविबाट उपाधिसहित झापा फर्किइन् । 
 
आफैँले संघर्ष गरी शैक्षिक सफलता गरेर झापा आउँदा उनलाई ठेस लाग्नेगरी कान्छीआमाले वचन लगाएपछि चितवन आएकी निरकला नेपाल माविमा रत्ननगरमा मावि शिक्षिकामा नियुक्त भइन् । निरन्तर २४ वर्षसम्म अंग्रेजी, अर्थशास्त्र र इतिहास पढाइन् । आफैँले दुःख गरेर पढाएको रकम जम्मा गरेर घडेरी किनिन् र घर बनाइन् । ०४९ सालमा सेवा निवृत्त भएपछि उनी राधाकृष्ण मन्दिरको संस्थापक भएर अशक्त, अपाङ्ग र बेसहारा वृद्धको कल्याणमा लागिन् । 
 
एउटा संस्था खोलेर आजीवन वृद्धवृद्धाको कल्याण गर्ने उद्देश्यले उनकै अध्यक्षतामा २०५९ सालमा असहाय वृद्ध कल्याण समाज दर्ता भयो । रत्ननगर–१२ स्थित अमिलियामा ६ कठ्ठा जग्गा खरिद गरिन् । तर, पास खर्च जुटाउन उनले रिक्सा चढेर घरघरमा पुगेर सहयोग मागिन् । अब भवन बनाउने चुनौती थपियो । त्यसबेला आपत् सम्झँदै उनी भन्छिन्, ‘एकपैसा थिएन । पास खर्च पनि मागेर गरेको हो । यो भवनको जग खन्दा पनि उधारोमै खन्नुप¥यो ।’
 
विभिन्न दाताको सहयोगबाट संस्थाको आफ्नै भवन बन्यो । सत्संग भवन निर्माणका लागि पदमनारायण धर्मकुमारी मल्ल प्रतिष्ठानले ९ लाख ९० हजार रुपैयाँ, निरकलाले ६ लाख ८१ हजार रुपैयाँ र रत्ननगर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरे । यस्तै, धान्याचल महायज्ञबाट १ करोड ८७ लाख रुपैयाँ संकलन गरी वृद्धवृद्धाको लागि आवास निर्माण भयो । जसमा सात वृद्ध र तीन वृद्धाले सम्मानजनक जीवन बिताइरहेका छन् । आगामी दिनमा महिला आवास निर्माण गर्ने योजना निरकलाले लिएकी छन् । 
 
१५ वर्ष संस्थाको नेतृत्व प्रदान गरेकी निरकला आफू संरक्षक रहेर स्थानीय समाजसेवी तिलकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिएकी छन् । शर्मा रत्ननगर २ का वडाध्यक्ष हुन् । निरकलाले आफ्नो घरसमेत बिक्री गरेर वृद्धवृद्धाको कल्याणमा समर्पित भएकी छन् । उनले विसं २०७० सालमा आमाको स्मृतिमा ‘गायत्री शर्मा अशक्त मानवसेवा ट्रष्ट’समेत स्थापना गरेकी छन् । गायत्रीको पुण्य स्मृतिमा संस्थामा रहने वृद्धवृद्धालाई खाद्य सामग्रीलगायतमा सहयोग पुगोस् भनेर उनको निजी कमाईबाट स्थापित अक्षयकोषमा पन्ध्र लाख रुपैयाँ जम्मा भएको छ । 
 
उनले पढाएका चेलाचेलीहरु मेयर, प्राध्यापक, क्याम्पस प्रमुख, डाक्टर, इन्जिनियरलगायत विभिन्न पेसा व्यवसायमा स्थापित भएका छन् । उनी भन्छिन्, ‘पहिले संस्था चलाउन समस्या थियो । अब दर्जनौँ वृद्धवृद्धा राखे पनि सहयोगी हात बढ्ने विश्वास लिएको छु ।’ 
 
जीवनको उत्तराद्र्धमा पनि उनको साहस र आँट उस्तै छ । मानिस अशक्त, अपाङ्ग र वृद्ध हुँदैमा सहाराविहीन हुँदैन भन्ने दृष्टान्त निरकलाले प्रमाणित गरेकी छन् । चार सय रुपैयाँ तलबबाट पढाउन सुरु गरेर ७ हजार ५०० तलब हुँदा अवकास पाएकी निरकलाले अहिले २० हजार रुपैयाँ पेन्सिन थाप्छिन् । भन्छिन्, ‘औषधि खाएर बचेको पेन्सन पनि ट्रष्टमै जम्मा गर्ने गरेकी छु ।’