मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बोक्सी आरोपमा ज्यादति गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बोक्सी आरोपमा ज्यादति गर्नेलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरीमाथि बोक्सीको आरोपमा बिहीबार गरिएको कुटपिटमा संलग्न व्यक्तिलाई कानूनबमोजिम कारबाही गर्न माग गरेको छ । 
 
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको प्रेस विज्ञप्तिमा बोक्सीको आरोपमा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र कुटपिट गर्ने अपराधमा संलग्नलाई कानूनबमोजिम तत्काल कारबाही गर्न माग गरिएको छ । 
 
विज्ञप्तिमा अत्याधिक व्यक्तिको उपस्थितिमा एक जना १८ वर्षीया बालिकामाथि बोक्सीको आरोपमा निरन्तर र निर्घात तबरले छ घण्टासम्म कुटपिट गरिनु अत्यन्त क्रुर, अमानवीय र घृणित कार्य भएको उल्लेख छ । 
 
आयोगले कुटपिटबाट घाइते भई उपचारमा रहेकी चौधरीलाई धनगढीस्थित क्षेत्रीय सेती अञ्चल अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घटनास्थल पुगेर अनुगमन गरेको छ । 
 
अनुगमनबाट प्राप्त तथ्यअनुसार पीडित चौधरीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको, पीडक पक्षबाट घटना सम्बन्धमा कहीँकतै उजुरी नदिन निरन्तर धम्की दिइएकाले पीडित परिवार मानसिकरूपमा त्रसित रहेको पाइएको आयोगले जनाएको छ । 
 
पीडित परिवारलाई उजुरी दिन धम्काउने व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याउन, पीडित परिवारको सुरक्षाको सुनिश्चितता गर्न आयोगले स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गरेको छ । 
 
नेपालको संविधानले यातना र शोषणलाई बर्जित गरेको छ । बोक्सीसम्बन्धी ९कसूर र सजाय० ऐन २०७२ ले बोक्सीको आरोप लगाएर शारीरिक र मानसिक यातना दिनेलाई सजायको व्यवस्था गरेको छ । 
 
यसैबीच, मानवाधिकार तथा शान्ति समाजले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–५ देउकलीमा यही फागुन २४ गते स्थानीय किशोरी राधा चौधरीमाथि भएको अत्याचारको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ । 
 
समाजका सभापति डा गंगाधर अधिकारीले मानव गरिमा सभ्यताविरुद्ध रहेको उक्त घटनाले सम्पूर्ण नेपालीलाई लज्जित बनाएको भनिएको छ । 
 
दण्डहीनताका कारण यस्तो घटना मुलुकका विभिन्न स्थानमा पटकपटक दोहोरिँदै आएको हुँदा घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरिएको छ । 
 
यस्ता घटनामा स्थानीय समाजको संलग्नता, राजनीतिक समाजको संरक्षण र प्रहरी प्रशासनको मौनता देखिनु दुर्भाग्यपूर्ण र निन्दनीय रहेको भन्दै दोषीलाई संरक्षण प्रदान गर्ने राजनीतिक समाजका प्रतिनिधिलाई सम्बन्धित राजनीतिक दलले सदस्यता खारेज गर्न विज्ञप्तिमा भनिएको छ । 
 
मिलापत्रको नाममा यस्ता अपराधलाई ढाकछोप गर्ने प्रहरी प्रशासनलाई तत्काल निलम्बन गरी सम्बन्धित निकायलाई आग्रह गर्दै पीडित किशोरी र परिवारलाई क्षतिपूर्ति र हासिल गर्न चाहेको सम्पूर्ण शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्नसमेत सरकारसँग माग गरिएको छ । 
 
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीमा बोक्सीको आरोपमा भएको ज्यादतिमा संलग्नलाई सरकारले सिधै कारबाही गर्नुपर्ने बताए ।
 
उनले भने, “सरकारले हात नकमाओस् । दोषीमाथि सिधै कारबाही होस् । जनताले भाषण होइन, दोषीमाथि कडा कारबाही होस् भन्ने चाहेका छन् ।” 
 
अध्यक्ष दाहालले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कुनै पनि हालतमा नछाड्न र दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह गरे । 
 
बोक्सीको आरोपमा चौधरीमाथि आक्रमण भइरहँदा स्थानीयवासी रमिते बनेर बसेका थिए । स्थानीय तहका जनप्रतिनिधिले आरोपीलाई धरौटीमा छुटाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । पीडित राधाको हाल सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 
 
बोक्सी भन्दै आक्रमण गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ । दोषीलाई कारबाही गर्नुको साटो प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा छाडेको भन्दै आक्रोश बढ्दै गएको छ । 
 
आरोपी छाड्ने इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रहरी नायब निरीक्षक दिनेश विष्टलाई सरकारले निलम्वन गरिसकेको छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले दोषी जोगाउन भूमिका खेलेको आरोप लागेको छ । 
 
नेपाली काँग्रेसका सांसद पुष्पा भुसालले पनि चौधरीमाथि भएको दुव्र्यवहारमा संलग्नलाई कारबाही गर्न माग गरिन् । उनले केही दिन पहिले वीरगञ्जमा नाबालिकामाथि बलात्कार भएको, कैलालीमा बोक्सीको आरोपमा दुव्र्यवहार भएको भन्दै प्रतिबद्धता जनाएर होइन दोषीलाई कारबाही गरेर जनतालाई विश्वास दिलाउन सरकारसँग आग्रह गरिन् । 
 
काँग्रेसका सांसद अतहर कमाल मुसलमानले पनि कैलाली र पर्सामा भएको घटनामा संलग्नलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुने र तत्काल दोषीलाई कारबाही गर्न माग गरे । 
 
दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री
 
बोक्सी प्रकरणका दोषीमाथि कारबाहीको माग उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले भने, “ दोषीमाथि कारबाही हुन्छ । सरकारले दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रक्रिया शुरु गरिसकेको छ ।” 
 
प्रधानमन्त्रीले महिला हिंसामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने र कुनै छुट नदिइने प्रतिबद्धता जनाएका छन् ।