मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारलाई खबरदारी गर्न काँग्रेस प्रतिपक्षमा : नेता थापा

सरकारलाई खबरदारी गर्न काँग्रेस प्रतिपक्षमा : नेता थापा


काठमाडौँ । काँग्रेसका सांसद गगन थापाले मुलुक समृद्धिका लागि व्यक्ति नभई सरकारका संरचना बलियो हुनुपर्ने बताउँदै सरकारका कमी कमजोरीप्रति खबरदारी गर्न काँग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् ।  
 
उनले वाम गठबन्धनले निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न अब केहीले रोक्न नसक्ने भन्दै त्यसलाई कार्यान्वयन गराउन पनि काँग्रेसले प्रतिपक्षीका हैसियतमा घच्घच्याइरहने छ भने । 
 
काँग्रेसका सांसद अतहर कमाल मुसलमानले सरकारबाट जनअपेक्षाअनुसारका काम भए नभएको खबरदारीका गर्न पनि काँग्रेस सशक्त प्रतिपक्षीका रुपमा रहने उल्लेख गरे । 
 
नेपाली काँग्रेसका सांसद पुष्पा भूसालले सरकारलाई लोकतन्त्र र मानवाधिकारका पक्षमा दृढताका साथ उभिन आग्रह गर्दै गुण र दोषका आधारमा सरकारका कामको समर्थन र विरोध गर्ने धारणा व्यक्त गरिन् । 
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन र जनअपेक्षाअनुसारको आर्थिक समृद्धिका लागि वर्तमान सरकारलाई आफ्नो पार्टीको विश्वासको मत रहेको बताए । 
 
प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले उठाएका माग सम्बोधन गर्न सार्वजनिक प्रतिबद्धता जनाउनुपर्ने आग्रह गरे । 
 
विगतमा राजपा नेपालले उठाएको संविधान संशोधनको माग पूरा हुन नसकेको बताउँदै नेपालीलाई संविधानप्रति अपनत्व खोज्नका लागि अहिलेको सरकार दुई तिहाइ बहुमत भएकाले माग पूरा हुने अपेक्षा गरे । 
 
संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले संविधान संशोधनमार्फत समानुपातिक समावेशीको व्यवस्था पूर्ण कार्यान्वयनको माग गर्दै सरकारलाई आफ्नो पार्टीको विश्वासको मत व्यक्त गरिन् । 
 
राजनीतिक स्थिरतापछि जनताले सुशासन र समृद्धि चाहेको बताउँदै उनले यसका लागि समाजवाद उन्मुख राजनीति र अर्थ व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सकेमात्र आर्थिक विकास र समृद्धि सम्भव छ भनिन् ।