राजनीति / समाज

जनताले भाषण होइन, परिणाम खोजेका छन् : प्रचण्ड

509 पटक पढिएको

11th Mar 2018, Sunday | २०७४ फाल्गुन २७, आईतवार २१:००
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सीधै परिणाम खोजेको बताएका छन् । 
 
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्ने विश्वास व्यक्त गरे ।  
 
मुलुकमा विद्यमान सबै प्रकारको बेथिति, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उनले भने, “सुरक्षा निकाय, प्रशासन, न्यायालय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उनको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।” 
 
इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गरे । 
 
अध्यक्ष दाहालले भने, “नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।” 
 
प्रधानमन्त्रीले गरेको अभिव्यक्तिअनुसार सरकारले दृढताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थिरता र सुशासन दिने ऐतिहासिक अवसर प्राप्त भएकाले जनताका सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाडिने दृढता व्यक्त गरे । 
 
धेरै अप्ठ्यारा दिनहरु पार गरेर राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उनले नेपाली जनताका सामु गरेको वाचा अब भाषणमा होइन, कार्यान्वयनमा खोजेको प्रष्ट पारे । 
 
शान्ति प्रक्रियाका धेरै काम पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पनि पूर्णरुपमा कार्यान्वयन गरेर जानुपर्छ अध्यक्ष दाहालले भने । वर्तमान सरकार विगतको सरकारको निरन्तरता नभई नयाँ आधारमा स्थापना भएको सरकार भएकाले जनताका पक्षमा काम गर्नैपर्ने बाध्यता रहेको पनि उनले उल्लेख गरे ।