मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूचना प्रविधि   

क्यान्सर जितेकी डाक्टरको अदम्य साहस

क्यान्सर जितेकी डाक्टरको अदम्य साहस


चितवन । चितवनको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरकी ३५ वर्षीया दन्त चिकित्सक विष्णुमाया (बीएम) खरेल लामिछाने क्यान्सरसित जुधिरहेकी छन् । तर, उनको साहस अदम्य छ । क्यान्सरपीडितहरुका लागि उनी प्रेरणा बनेकी छन् । उनको काम गर्ने तरिका देखेर कसैले पनि उनलाई बिरामी आँकलन गर्दैनन् । 
 
चिकित्सकले नै तेस्रो चरणको क्यान्सर भएको र २/३ महिनाभन्दा बढी बाँँच्न सक्दैनौँ भने तर उनी अहिलेसम्म ठीकठाक नै छिन् । उनी शक्तिको प्रतीकका रुपमा देखिएकी छन् । उनी भन्छिन्, ‘क्यान्सरबाट मरिन्छ भन्ने कहिल्यै भएन । क्यान्सर भयो, अब बाँच्दिनँ भनेर नकारात्मक सोच कहिल्यै राखिनँ ।’ 
 
उनी अहिले पनि क्यान्सरसित जुधिरहेकी छन् । तैपनि बिरामीको सेवामा अहोरात्र खटिएकी छन् । प्रत्येक दिन बिहान ९ बजेअघि आफैँले सञ्चालन गरेको एलाईभ हस्पिटलमा पुग्छिन् । हरेक दिन बिरामीको सेवा गर्नुका साथै अस्पतालको व्यवस्थापन पक्षको जिम्मेवारी उनको काँधमा छ । उनी भन्छिन्, ‘रोग लाग्यो भन्दैमा डराउनु हुन्न, सास रहेसम्म बिरामीको सेवामै लाग्छु ।’
 
उनको पेटमा क्यान्सर संक्रमण छ । गत वैशाख ३० गते उनको लागि बिर्सनलायक दिन बन्यो । त्यसै दिन पेटको क्यान्सर भन्ने पत्ता लाग्यो । 
 
‘डा विष्णुमायालाई क्यान्सर देखिएपछि म छाँगाबाट खसे जस्तो भएँ तर उनी नै उल्टै मलाई सम्झाइरहेकी थिइन्, केही भएको छैन, निको हुन्छ भनेर’ त्यो दिन सम्झदै श्रीमान् डा प्रमोद लामिछानेले भने । रोग देखिएपछि उपचारका लागि दिल्ली र केही महिनाअघि जापान गइन् ।
 
अस्पतालमा उनलाई ६ वटा ‘केमो’ चढाइएको छ । पहिलो चरणको ‘केमो’ सकिएर टेष्ट गर्दा पहिला भन्दा ७० प्रतिशत रोग कम भएको रिपोर्ट आएपछि उनमा रोगविरुद्ध लड्ने साहसले झनै जित्यो । उनको जोश, जागरण, फुर्ति झनै बढेको श्रीमान् डा प्रमोदले बताए ।  
 
२०३९ साल भदौ २४ गते काठमाडौंको स्वयम्भूमा जन्मेकी विष्णुमाया सानैदेखि चतुर, हक्की र साहसिक स्वभावको रहेको उनकी दिदी मीना खरेलले बताइन् । ‘क्यान्सर लागेको भन्ने थाहा पाउँदा हामी आत्तियौं, तर विष्णुमाया भने उल्टै हामीलाई सम्झाइरेकी थिइन्’ उनले भनिन् ।
 
उनीलाई डाक्टर बनाउने बुवा हरिप्रसाद खरेलको सपना थियो । बुवाको प्रेरणाले उनी २०६३ सालमा डेन्टलतर्फ बीडीएस गरिन् । त्यसपछि ३ महिनाको तालिमका लागि उनी डेनमार्क गइन् । २०६८ सालदेखि उनी ट्रमा सेन्टरमा दन्त चिकित्सकका रुपमा काम गर्दै आएकी छिन् ।