मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

नेपालमै पहिलोपटक रत्ननगर अस्पतालमा सौर्य उर्जाबाट डायलाइसिस

नेपालमै पहिलोपटक रत्ननगर अस्पतालमा सौर्य उर्जाबाट डायलाइसिस


चितवन । चितवनको रत्ननगर बकुलहर अस्पतालले नेपालमै पहिलोपटक सौर्य उर्जाबाटै मिर्गौलापीडितका लागि डायलाइसिस उपचार गर्ने मेसिन सञ्चालनमा सफलता हासिल गरेको छ ।
 
सरकारले बेवास्ता गरेका कारण ओझेलमा पर्दै आएको सो अस्पतालले स्विजरल्याण्डका डा रुथ गोन्सेथको सहयोगमा नयाँ प्रयोगका रुपमा सौर्य उर्जाबाट डायलाइसिस मेसिन सञ्चालन गरेको थियो । 
 
दैनिक १३ घण्टासम्म लोडसेडिङ हुँदा पनि सौर्य उर्जाबाटै डायलाइसिस मेसिन सञ्चालन गरेर सो अस्पतालले स्वास्थ्य क्षेत्रमै उदारहणीय सुरूवात गरेको छ । 
 
रत्ननगर बकुलहर अस्पतालका व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठ भन्छन्, “सौर्य उर्जाबाट डायलाइसिस मेसिन सञ्चालन गर्ने काममा हामीले सफलता प्राप्त गरेका छौं । यसले नेपालका दुर्गम क्षेत्रमा पनि सौर्य उर्जाबाट डायलाइसिस मेसिन चलाउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।” 
 
सरकारले बिजुलीकै समस्या देखाएर दुर्गम क्षेत्रमा उच्च प्रविधिको स्वास्थ्य उपकरण सञ्चालन गर्न नसकेको अवस्थामा रत्ननगर बकुलहर अस्पतालले सौर्य उर्जाबाट डायलाइसिस मेसिन गर्न सफल भएपछि सेवाग्राही खुसी भएका छन् । 
 
डा रुथ गोन्सेथले नेतृत्व गरेको शान्ति मेड नेपालको सहयोग उक्त प्रविधि सञ्चालनमा आएको हो । अब हुम्ला, जुम्ला, कालीकोटजस्ता दुर्गम क्षेत्रमा पनि मृगौला उपचार केन्द्र सञ्चालन गर्न सकिने सम्भावना सौर्य उर्जाले देखाएको अध्यक्ष श्रेष्ठले बताए । 
 
शान्ति मेड नेपालमार्फत स्वीस सरकारले ६५ प्रतिशत र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका ३५ प्रतिशत आर्थिक सहयोगमा २१ दशमलब ६ किलोवाटको सौर्य उर्जा जडान गरिएको छ । सौर्य उर्जा सञ्चालनकोे लागि अस्पतालको छतमा १०८ वटा ठूला सोलार प्यानल राखिएका छन् । सौर्य उर्जा जडानका लागि ९६ लाख रुपैयाँ लगानी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
 
अस्पतालमा शान्ति मेड नेपालको सहयोग र राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंसँगको सहकार्यमा ६ वटा डायलाइसिस मेसिनसहितको राष्ट्रिय मिर्गौला उपचार केन्द्र सञ्चालन गरिएको छ । २०७२ साल मंसिर १५ गतेदेखि  राष्ट्रिय मिर्गाैला उपचार केन्द्र चितवन युनिटका रुपमा मिर्गाैला रोगीको उपचार सुरू गरिएको थियो । हाल अस्पतालमा ५२ जना मिर्गौला रोगीले नियमित डायलाइसिस गराइरहेका छन् । 
 
चितवनसहित वीरगञ्ज, सर्लाही, रौतहट, बारा, मकवानपुर पर्सा, नवलपरासी, गोरखा, तनहुँ र कैलालीका मिर्गौला रोगीहरु रत्ननगर बकुलहर अस्पतालमा मिर्गौलाको डाइलाइसिस गर्न आउने गरेको अस्पतालका सुपरिटेन्डेन्ट डा अजय न्यौपाने बताउँछन् । 
 
सरकारले सो अस्पताललाई अहिलेसम्म १५ शैयाको मात्र स्वीकृति प्रदान गरे पनि सो अस्पतालले मिर्गौला उपचार केन्द्र सञ्चालन गर्ने नेपालकै एकमात्र अस्पताल हो ।