मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

‘हाम्लाई अमेरिका यहीँ, जापान पनि यहीँ’

‘हाम्लाई अमेरिका यहीँ, जापान पनि यहीँ’


गायक पशुपति शर्माको ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ बोलको चर्चित गीत चितवनको रत्ननगर–१२, स्थित जयमंगलाका श्रेष्ठ दम्पतीका लागि असाध्यै मेल खान्छ । प्रेमकुमार र आशा श्रेष्ठ दुवै ४२ वर्षका भए । उनीहरुको उमेरमात्र होइन, जीवन बिताउने शैली, भविष्यको सपना र उद्देश्यमा पनि समानता छ । 
 
बस्न मिल्ने एउटा सानो कच्ची घरमा यी दम्पतीले प्रेममय जीवन बिताइरहेका छन् । विदेश मोह, धनी हुने रहर र विलासी जीवन बाँच्ने लालसा उनीहरुमा कहिल्यै पलाएन । आफ्नो किसानी जिन्दगी र मिहिनतभन्दा टाढा जाने फुर्सत पनि उनीहरुलाई छैन ।
 
आफ्नो दुई कट्ठा जग्गा र ठेक्काको चार कट्ठा गरी ६ कट्ठामा आशाले तरकारी खेती गरेकी छन् । उनले सिजनअनुसारका तरकारी उत्पादन गर्छिन् । भन्छिन्, “जतिखेर पनि बारीमै काम गरेरै बित्छ । तरकारी फलाउँछु, मिहिनत गर्छु, समय घरमै बित्छ ।” 
 
प्रेमकुमार बिहान उठेर आफ्नै बारीमा उत्पादन भएका तरकारी बेच्छन् । गाईपालन गरी दैनिक आठ लिटर दूध बिक्री गर्छन् । बेलामौकामा खसीबोका पनि बेच्छन् । भन्छन्, “तरकारी खेती गरेर बिक्री गर्दै आएको १५ वर्ष भयो । दैनिकी यसरी नै चलिरहेको छ ।” 
 
तरकारी र दूध बिक्री गरेर प्रेमकुमार त्यत्तिकै बस्दैनन् । आयआर्जनका लागि उनले ई–रिक्सा पनि चलाउँछन् । स्थानीय रुटमा ई–रिक्सा चलाउँदा दैनिक एकहजार रुपैयाँ कमाउँछन् । भन्छन्, “यो रिक्सा पुरानो भैसक्यो, नयाँ किन्न सकेको छैन । बैंकले हामीजस्तालाई ऋण पत्याउँदैन । समूहबाट लिएको अझै दुई लाख रुपैयाँ ऋण तिर्न बाँकी नै छ । सानैदेखि दुःख गरियो, अझै दुःखले छाडेको छैन ।” 
 
आशा भन्छिन्, “घरमा लक्ष्मीले बास नगरे पनि विद्याले बास गरेको छ । छोराछोरीलाई राम्रो ठाउँमा पढाएका छौँ । सम्पत्ति नभए पनि छोराछोरीलाई पढाउन सकेका छौँ, यसैमा आत्मसन्तुष्टि छ ।” 
 
उनीहरुका छोरा प्रजेम्स श्रेष्ठ वनविज्ञान क्याम्पस, हेटौँडामा हाफ स्करलरसिपमा फरेष्टी साइन्स दोस्रो सेमेष्टरमा पढ्दैछन् । छोरी प्रेमिसा पक्लिहवा क्याम्पसमा फुल स्कलरसिपमा भेटेरीनरी साइन्स चौथो सेमेष्टरमा पढ्दैछिन् । प्रेमिसाले पञ्चकन्या माविबाट एसएलसीमा ८५ प्रतिशत अंक ल्याएकी थिइन् । अहिले उनले भारत सरकारले प्रदान गर्ने महात्मा गान्धी छात्रवृत्तिसमेत प्राप्त गरी भेटेरीनरी साइन्स अध्ययन गर्दैछिन् । दुवैै जेहेन्दार र मिहिनती विद्यार्थी हुन् ।
 
यी दम्पतीले पसिना बगाएर मासिक ५५ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । तर, उनीहरुको जीवनशैलीमा भने कुनै उतारचढाव छैन । आशा भन्छिन्, “मिहिनत गरे स्वदेशमै कमाइ गर्न सकिँदोरहेछ । घर बनाउँला, सम्पत्ति जोडौँला भन्ने सोच कहिल्यै आएन । महलको सपना पनि छैन । ओतमा बसेर बुढाबूढी प्रेमपूर्वक बाँच्न पाए हामीलाई पुग्छ ।” 
 
“काम गर्दा गर्दै कहिलेकाहीँ थकाइ लाग्छ, पल्टिन्छु”, उनी भन्छिन्, “भित्ताभरि छोराछोरीले पाएको प्रमाणपत्र हेर्छु । अनि जुरुक्क उठेर मिहिनत गर्छु ।” छोराछोरीको सफलताले मिहिनत गर्ने ऊर्जा थपिएको आशा बताउँछिन् । 
 
आफ्ना साथीभाइ र गाउँघरका धेरै युवा विदेश जाँदा प्रेमकुमारलाई विदेश जाने रहर कहिल्यै भएन । आशा भन्छिन्, “यहीँ बसेर दुःख गरेर छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाउँछु भन्नुहुन्थ्यो । अहिले उहाँको सपना पूरा हुँदैछ । हामीलाई सन्तुष्टि यही हो ।” 
 
पशुपति शर्माकै गीत जोड्दै उनी भन्छिन्, “पशुपतिले हाम्रै लागि गीत गाइदिएजस्तो लाग्छ, खान्छम् गेडागुडी बस्छम् बुढाबूढी, हाम्लाई अमेरिका यहीँ, जापान पनि यहीँ….।” प्रेमकुमार भन्छन्, “हामीलाई दुःख छ, तर दुःखी छैनौँ । कर्मशील बन्नुपर्छ, शान्ति आफैँ मिल्दोरहेछ ।”