विचार / ब्लग

मिर्गौला रोगबाट बच्ने उपायबारे जानी राखौँ

1018 पटक पढिएको

सन्दर्भ : विश्व मिर्गौला दिवस

डा.अरुण सेढाईं (मिर्गौला रोग विशेषज्ञ) | 16th Mar 2018, Friday | २०७४ चैत्र २, शुक्रबार ०९:४५
मिर्गौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । आज विश्व मिर्गौला दिवसका अवसरमा मिर्गौला रोगबारे केही जानकारी हुन सकोस् भन्ने हेतुले यो सामग्री प्रस्तुत गरेको छु । रोग लाग्नुभन्दा लाग्ने नदिनु बुद्धिमानी कुरा हो । मिर्गौला दिवस मनाइरहँदा रोग लाग्नुअगावै उपचारमा खासै ध्यान दिएको पाइँदैन । नेपालमा मिर्गौला रोगबारे धेरैलाई कम जानकारी हुँदा समयमै उपचार नगराएर मृत्युको मुखसम्म पुग्ने अवस्था सिर्जना भएको छ । हाम्रो शरीरमा पेटको तल्लो कोखाको दुवैतिर एक एकवटा गरी सिमी आकारका २ वटा मिर्गौलाहरु रहेका हुन्छन् । प्रत्येक मिर्गौला हाम्रो मुठी बराबरको हुन्छ । यसको आकार ११ सेमी लम्बाई, ६ सेमी चौडाई र ३ सेमी मोटाई र तौल १२५ देखी १५० ग्राम हुन्छ । मिर्गौलाको मुख्य काम भनेको पिसाब बनाउनु हो । यसका अन्य कामहरु निम्नबमोजिम हुन्छन् । 
 
रगतलाई छानेर हाम्रो शरीरमा उत्पन्न हुने विकारजन्य पदार्थ जस्तैः यूरिया, क्रियाटिनिन, यूरिक एसिड आदिलाई शरीरबाट बाहिर निष्काशन गराई शरीरलाई स्वस्थ र सन्तुलित राख्ने काम गर्छ । शरीरमा आवश्यक तरल पदार्थ र लवणको मात्रालाई सन्तुलित राख्ने काम गर्छ ।
 
–अम्ल र क्षारीय स्तर सन्तुलित राख्ने काम गर्छ
 
–रक्तचापलाई नियन्त्रण गर्ने काम गर्छ
 
–रातो रक्तकोष बनाउन आवश्यक पर्ने Erythropoietin उत्पादन गर्छ
 
–भिटामिन डी लाई सक्रीय बनाई हड्डीलाई मजबुत राख्छ
 
–सेवन गरिएका औषधी र अन्य खराब गर्न सक्ने रसायनहरुलाई शरीरबाट निष्काशित गर्ने काम गर्छ ।
 
कुनै पनि कारणबश मिर्गौलाले गर्ने यी कामहरु सम्पादन गर्न नसकेको अवस्थालाई मिर्गौलाको रोग लागेको भनेर भनिन्छ। सामान्य परीक्षणले मिर्गौलाको अवस्था थाहा हुने र समयमै उपचार सजिलो भए पनि मृगौला रोगीको सङ्ख्या भने दिनानुदिन बढ्दो छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर १० प्रतिशत मानिस मिर्गौलासम्बन्धी समस्याबाट ग्रस्त छन् । सोही आँकडालाई आधार मान्ने हो भने, नेपालमा पनि करिब २७ लाखलाई मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको अनुमान गर्न सकिन्छ । तीमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजारको मिर्गौला बिग्रिने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मिर्गौला पूर्ण रूपमा फेल हुन्छ ।
 
मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ : 
 
१) मिर्गौलाघात (Acute Kidney Injury) : यस अवस्थामा मिर्गौलाको काममा तिब्र रुपमा कमी हुन जान्छ र पिसाबको मात्रा घट्न जाने र Urea तथा Creatinine को मात्रा बढ्न जान्छ । सामान्यत: यस खालको अवस्थाको पूर्ण उपचार गर्न सकिन्छ र मिर्गौलाले पूर्ववत् रुपमा काम गर्न थाल्दछ ।
 
२) दीर्घ रुपमा मिर्गौला बिग्रने अवस्था  (Chronic kidney disease: मधुमेह, उच्चरक्तचाप जस्ता अवस्थाको समयमै पहिचान र उपचार नगरेको खण्डमा बिस्तारै बिस्तारै मिर्गौला बिग्रँदै जान्छ र अन्तत्वगत्वा यसले पूर्ण रुपमा काम गर्न छाड्छ । यस्तो खालको अवस्थामा मिर्गौला बिस्तारै सानो हुँदै जान्छ र यसको रुपमा पनि खराबी देखिन थाल्दछ ।
 
मिर्गौला रोगका कारणहरु :
 
धेरै कारणहरुले गर्दा मिर्गौलाको काममा गडबडी उत्पन्न हुन सक्छ, जस अनुसार निम्नलिखित अवस्थाहरुलाई मूख्य कारकतत्वका रुपमा पहिचान गरिएको छ । 
 
–वंशाणुगत –मधुमेह –उच्च रक्तचाप –पिसाब सम्बन्धी समस्या –पाठेघर खस्नु –मिर्गौलामा पत्थरी, ट्युमर –प्रोस्टेटको आकारमा बृद्धि –जन्मजात पिसाब नलीमा खराबी –रगतमा दूषित पदार्थको प्रवाह –लामो समय पेनकिलरको प्रयोग –शरीरमा पानीको कमी ।
 
मिर्गौला फेल हुँदाका लक्षण :
 
–शरीर दुब्लाउँदै जाने –शरीरका विभिन्न अङ्ग सुन्निने –पिसाब कम हुने र पोल्ने –पिसाबमा रगत देखिने –क्षणक्षणमा पिसाब भइरहने –थोरै हिँड्दा पनि थकाइ लाग्ने –सास फेर्न गाह्रो हुने –कोखा दुख्ने, ज्वरो आउने –खानामा रुचि घट्ने –पिँडौलाको मासु फर्किने –वाकवाकी लाग्ने –छाला सुख्खा हुने र चिलाउने –उच्च रक्तचाप हुने –रगतको मात्रा कम हुँदै जाने –महिनावारी समयमा नहुने –यौन रुचि घट्दै जाने –प्रजनन दरमा कमी आउने –ढाड र कम्मर दुख्ने
 
मिर्गौला रोगबाट कसरी बच्ने ?
 
शरीरको महत्वपूर्ण अङ्ग मिर्गौलाले काम गर्न छोडेपछि उपचार जति महँगो र झन्झटिलो छ त्यो भन्दा धेरै गुणा सजिलो छ यसको पहिचान र समयमै उपचार । हरेक स्वस्थ्य व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नु स्वस्थकर जीवनशैलीका लागि महत्वपूर्ण हुन्छ । पिसाबमा प्रोटिन र रगतमा क्रियाटिनिनको जाँच र वर्षमा एकपटक भिडियो एक्सरे (Ultrasound) गराई समयमै मृगौला खराब हुन लागेको पहिचान गर्न सके मृगौला फेल हुनबाट बच्न सकिन्छ ।
 
वर्षमा एकपटक मृगौलाको जाँच गर्नु अनिवार्य हुन्छ । त्यसबाहेक मृगौलालाई चाहिने आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । एक व्यक्तिले सामान्यतः दैनिक अढाईदेखि तीन लिटरसम्म पिसाब हुनेगरी पानी पिउनु पर्ने हुन्छ । प्रारम्भिक तहका जाँचबाट मृगौलामा रहेको गडबडीको सङ्केत मिलेपछि कुन तहको समस्या छ भन्ने जान्नका लागि भने विशेष परीक्षण गर्नुपर्ने हुन्छ ।
 
आफूखुसी र जथाभावी रूपमा एन्टिबायोटिक र पेन किलर औषधिको प्रयोगले पनि मृगौला खराब हुने क्रम बढाउँदै लगेको छ । नियमित व्यायाम, खानपानमा बिशेष ध्यान, शरीरमा तौल र रक्तचापको नियन्त्रणले पनि मृगौला जोगाउन ठूलो भूमिका खेल्छ ।
 
मिर्गौला रोगबाट बच्ने उपायहरु :
 
–नियमित व्यायाम 
 
–मधुमेहका बिरामीले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण
 
–रक्तचाप नियमित जचाउने र यदि रक्तचाप १४०/९० वा बढी भए चिकित्सकको सल्लाह लिने र सिफारिश बमोजिमका औषधी सेवन गर्ने
 
–धुमपान नगर्ने
 
–डाक्टरको सल्लाहबिना जथाभावी औषधी किनेर नखाने
 
–धेरै औषधी प्रयोग गर्नाले विशेष गरेर दुखाइ कम गर्ने औषधीले मिर्गौलालाई हानी गर्ने हुनाले ब्रुफेन, निम्स, फ्लेक्सन, भोभेरान जस्ता औषधीको धेरै सेवन नगर्ने
 
–दिनमा करिब ६ गिलास पानी पिउने
 
मिर्गौला रोगीले कस्तो खाना खाने ?
 
प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध, दही, दाल, गेडागुडी आदिले मिर्गौलाको काम बढाउने हुनाले कार्य क्षमताका आधारमा सिफारिस गरेभन्दा बढी खानु हुँदैन । शरीरमा प्रोटिनको अधिकतम तथा राम्रो उपयोगका लागि सिफारिस गरिएको प्रोटिनमध्ये ५० देखि ६० प्रतिशत उच्चकोटीको प्रोटिन भएका खानेकुरा माछा, मासु, अण्डा, दूध, दही आदि निर्धा्रित मात्रामा प्रत्येक खानामा पर्ने गरेर समावेश गर्नुपर्दछ ।
 
रक्तचाप बढी हुने, शरीर सुन्निने आदि समस्या हुनेले नुन निर्धा्रित मात्रामा मात्र प्रयोग गर्नुपर्छ ।पिसाव कम भएमा वा शरीरमा सुजन छ भने पिसावको मात्राको आधारमा मात्र पानी पिउनु पर्छ । रगतमा पोटासियमको मात्रा बढी भएको अवस्थामा पोटासियम कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्दछ । रगतमा फोस्फोरस बढी भएमा फोस्फोरस कम भएका खानेकुरा खानामा समावेश गर्नुपर्छ ।
 
मिर्गौला फेल भएमा खान नहुने कुराहरु: 
 
–सिफारिस गरिएभन्दा बढी मात्रामा केही नखाने –बदाम, काजु, ओखर, अंजिर, पेस्ता नखाने –कोकाकोला, फेन्टा जस्ता पेय पदार्थ नखाने –बढी मात्रामा मसला नखाने –हर्लिक्स, भिभा, बोर्न्भिटा, कम्पलान नखाने –सिफारिस गरिएभन्दा बढी फलफूल पनि नखाने –आलु चिप्स, नुनीलो बिस्कुट, पापड, दालमोठ –पुरानो अचारजस्ता बढी नुन भएका अन्य खानेकुरा –टीनमा बन्द गरिएका खानेकुरा –अजिनो मोटो, खाने सोडा, बेकिङ्ग पाउडर हालिएका खानेकुरा –सोयाबिन सस तथा तयारी सूपहरू –चिया, ग्रिन टी आदि नपिउने ।
 
मिर्गौला प्रत्यारोपण र डायलाइसिस:
 
मिर्गौलाले हाम्रो शरीरमा उत्पन्न हुने अनावश्यक विकारजन्य पदार्थ जस्तै( यूरिया, क्रियाटिनिन, लवण, अम्लीय पदार्थ आदिलाई पिसाबको माध्यमले शरीरबाट बाहिर फाल्ने काम गर्छ । कुनै पनि कारणले मिर्गौलाले राम्रोसँग काम नगरेको खण्डमा यी विकारजन्य पदार्थहरु शरीरमा जम्मा हुन जान्छन् र विभिन्न नकारात्मक असरहरु उत्पन्न हुन थाल्दछन् ।दीर्घ रुपमा मिर्गौलाले काम गर्न छाडेर मिर्गौला फेल भएको अवस्थामा शरीरबाट विकार पदार्थ बाहिर फाल्नका लागि दुइवटा मात्र विकल्प बाँकी रहन्छन्: डायलाइसिस र मिर्गौला प्रत्यारोपण ।
 
डायलाइसिस के हो ?
 
डायलाइसिस भनेको मिर्गौलाले निष्काशन गर्न नसकेर हाम्रो रगतमा घुलेर बसेका विकारजन्य पदार्थलाई छानेर शरीरबाट बाहिर निकाल्ने प्रक्रिया हो ।  डायलाइसिस पनि दुई प्रकारका हुन्छन्: पेरिटोनियल र हेमोडायलाइसिस । पेरिटोनियल डायलाइसिसमा पेटभित्र हुने पेरिटोनियम नामको पातलो झिल्लीलाई नै फोहोर छान्नको लागि उपयोग गरिन्छ, जसमा यो झिल्लीभित्र बिशेष प्रकारको “डायलासिस झोल” हालिन्छ र केही घण्टा सम्म यत्तिकै छाडिन्छ । रगतमा बढी भएको फोहोर पदार्थ पेरिटोनियल झिल्लीलाई पार गरेर झोलमा जान्छ र त्यो झोललाई फालेर अर्को झोल हालिन्छ र यो प्रक्रिया क्रमवत् रुपमा चल्दै जान्छ । यो खालको डायलाइसिस गर्नको लागि मेशिनको जरुरत पर्दैन र सामान्य तालिम पश्चात् बिरामी आफैँ वा परिवारका सदस्यहरुमध्ये कसैले घरमै बसी बसी यो खालको डायलाइसिस गर्न सक्दछन् ।
 
हेमोडायलाइसिसमा रगतलाई “फिस्टुला” वा “क्याथेटर” को माध्यमबाट सानो पाइपद्वारा डायलाइसिस मेशिन सम्म लगिन्छ र यो मेशिनले रगतलाई छान्ने काम गर्छ र अनावश्यक फोहोर पदार्थलाई बाहिर फालिदिन्छ र सफा भएको रगत पुनस् शरीर भित्रै पठाइन्छ । एक पटकमा ४ घण्टा र हप्तामा कम्तीमा २ पटकको हिसाबले हेमोडायलाइसिस गर्नै पर्ने हुन्छ । सँसारका केही मुलुकमा गर्न सकिने सुविधा भए पनि हालसम्म नेपालमा घरमै गरिने हेमोडायलाइसिसको प्रावधान र सुविधा उपलब्ध छैन र निश्चित स्वास्थ्य केन्द्र वा सँस्थामा जानै पर्ने बाध्यता रहन्छ ।
 
मिर्गौला प्रत्यारोपण के हो ?
 
दुवै मिर्गौलाले पूर्ण रुपमा काम गर्न छोडेपछिको अवस्थामा अर्को स्वस्थ व्यक्तिको मिर्गौलालई बिरामी व्यक्तिको शरीरमा प्रतिष्थापन गर्ने प्रक्रिया नै प्रत्यारोपण हो । प्रत्यारोपण पश्चात् व्यक्तिको आयू लामो हुने र जीवनस्तर पनि राम्रो हुने भएको कारणले मिर्गौला फेल भएका व्यक्तिहरुका लागि यो उपचार पद्दतिलाई पहिलो रोजाई मानिन्छ ।
 
कसरी हुन्छ प्रत्यारोपण ?
 
मिर्गौला फेल भएपछि कि त नियमित डाइलसिस गराइरहनुपर्छ कि त मृगौला प्रत्यारोपण । यी दुई बाहेक अन्य विकल्प रहँदैनन् । मिर्गौला फेल भएका मानिसका लागि स्वस्थ मानिसका दुई वटामध्ये एउटा मृगौला झिकेर प्रत्यारोपण गरिन्छ ।स्वस्थ मान्छेका दुई वटा मृगौलामध्ये शल्यक्रिया गरी एउटा मृगौला निकालिन्छ र त्यो मृगौला प्रत्यारोपण गर्ने व्यक्तिको दायाँ वा बायाँ साँप्राको माथि सानो ‘पकेट’ बनाएर राखिन्छ । त्यो पकेटलाई बाहिरबाट छालाले छोप्ने गरी सिलाइएको हुन्छ ।  यसमा दुई वटा धमनी र आर्टरीलाई समेत जोडिएको हुन्छ, जसलाई बाहिरबाट छाम्दासमेत सजिलै महसुस गर्न सकिन्छ ।’हाल नेपालमा वीर अस्पताल, शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपूर गरी ३ ठाउँमा मिर्गौला प्रत्यारोपण गरिन्छ।
 
२०५५ सालमा बनाइएको मिर्गौला प्रत्यारोपण ऐनमा देखिएका कमी कमजोरीहरुलाई हटाउँदै २०७२ सालमा परिमार्जित ऐनले यस सम्बन्धि नियमलाई अझ फराकिलो बनाएको छ, जस अनुसार,छोरा, छोरी, आमा, बाबु, दाजु, भाई, दिदी, बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फको बाजे, बज्यै, छोरातर्फको नाति, नातिनी, छोरीतर्फको नाति, नातिनी र विगत दुई वर्षदेखि अटूट रुपमा नाता सम्बन्ध कायम रही आएको पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री, सौतेनी आमा, सौतेनी बाबु र सासु, ससुरा, मामा, माइजु, भान्जा, साला, साली, फूपु, आमाजु, भदा, भदै भिनाजु, ज्वाई र जेठानले मिर्गौला दान गर्न सक्दछन् ।