मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रपति भण्डारीको पुनः राष्ट्रपतिमा उम्मेदवारी दर्ता

राष्ट्रपति भण्डारीको पुनः राष्ट्रपतिमा उम्मेदवारी दर्ता


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेपछि भण्डारीले बुधबार मध्याह्न बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
 
भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी नेत्री एवम् पूर्वसभामुख ओनसरी घर्ती तथा समर्थकमा माओवादी नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादल, एमाले सांसद भानुभक्त ढकाललगायत छन् ।
 
भण्डारीभन्दा अगाडि नै पुगेर कांग्रेस उम्मेदवार कुमारीलक्ष्मी राईले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् । निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि बुधबार अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको थियो ।
 
भण्डारीले उम्मेदवारी दर्ता गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत निर्वाचन कार्यालय पुगेका थिए । राष्ट्रपति निर्वाचनका लागि कूल ८८० मतदाता रहेका छन् । प्रदेशतर्फका ५४९ संघीय संसद्का ३३१ ले राष्ट्रपति चुन्ने संवैधानिक व्यवस्था रहेको छ ।
 
सर्वोच्चले शपथ नखुवाउन अन्तरिम आदेश दिएका राष्ट्रियसभाका मनोनीत तीनजना सांसद डा युवराज खतिवडा, रामनारायण बिडारी, डा विमला पौडेल र मनाङका प्रदेश सांसद दीपक मनाङेले मत हाल्न पाउने छैनन् । तर, टीकापुर घटनाका आरोपित कैलाली–१ का सांसद रेशमलाल चौधरीको नाम भने मतदाताको सूचीमा रहेको छ ।