अन्तर्वार्ता

जो पासपोर्ट च्यातेर चेपाङको हितमा समर्पित भए

647 पटक पढिएको

केशव भट्टराई / हिमालय खबर

7th Mar 2018, Wednesday | २०७४ फाल्गुन २३, बुधवार ००:०७
एक्काइसौँ शताब्दीमा पनि विपन्न चेपाङको हविगत उस्तै देखेर चिन्तित बनेका ‘एक वैरागी’ विदेशबाट बिरक्तिएर नेपाल फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै विदेश नजाने प्रण गरेर पासपोर्ट च्याते । अनि विपन्न चेपाङको संरक्षण गर्ने अभियन्ता भए । 
 
चेपाङका नाममा डलरखेती फस्टाइरहेको समयमा निस्वार्थ सेवा गर्न तम्सिने वैरागी हुन्– चितवन रत्ननगरका ४४ वर्षीय केपीकिरण शर्मा । उनलाई सुरूमा परिवार र आफन्तले बहुलायो भने । कतिले चेपाङको नाम भजाएर ‘खानेभाँडो’ बनायो पनि भने । उनी कति साथीभाइ र इष्टमित्रबाट नमज्जासँग हेपिए । 
 
पत्रकारले समेत खेदो गरेर समाचार लेखे । उनी कैयौँपटक रोए, अतालिए तर आफ्नो अभियान रोकेनन् । परिवार पाल्ने दायित्वसमेत श्रीमती अम्बिका खनाललाई जिम्मा लगाएर उनी चेपाङ संरक्षण अभियानमा निस्किए । अहिले चेपाङ समुदायको संरक्षणका लागि चिन्ता गर्ने बिरलै व्यक्तिमध्ये पर्छन् उनी ।
 
गोरखाको दर्बुङमा जन्मिएका शर्माको बाल्यकाल दुःखमै बित्यो । एसएलसी पास गरेपछि काठमाडौँमा होटलमा भाँडा माझेरै उनले बीएसम्म पढे । पत्रकारितामार्फत् दुःखी, पीडितहरुको उद्धार गर्ने सोच रहँदारहँदै आर्थिक हैसियत बलियो नहुँदा उनी बिदेसिन बाध्य भए । २०५९ देखि ०६५ सालसम्म दुबईमा रहँदा उनले कामसँगै पत्रकारिता पेसा पनि अपनाए । बिचल्लीमा परेका नेपालीलाई क्याम्पमा राखेर उद्धार कार्यमा सक्रिय भए । 
 
चेपाङ कल्याणको अभियान थालनीबारे उनी भन्छन्, “पत्रकारिता गर्ने सौख भए पनि क्यामरा किन्नेसमेत हैसियत नभएपछि विदेश गएँ । ०६५ साउन १७ गते दुवईबाट स्वदेश फर्किएँ । डेढवर्षको भिसा अवधि बाँकी रहँदारहँदै पासपोर्ट च्यातेर त्रिभुवन विमानस्थलको ढ्वाङमा खसालेर चितवन झरेको हुँ ।” “त्यसलगत्तै सिद्धि र काउलेको सिमाना चौकीडाँडामा लगौंटीका भरमा जीवन बिताएका चेपाङ वृद्धको फोटो खिचेँ,”उनी थप्छन्, त्यही विदारक दृश्यले चेपाङका लागि केही गर्न घच्घच्याएको हो ।”
 
त्यसपछि कल्याणकारी पत्रकारितामार्फत् चेपाङको जीवनस्तर सुधार्ने लक्ष्य बोकेर उनले ‘गामबेँसीको खबर’ दर्ता गरे । चेपाङकै दुःखकष्टका विषयवस्तु समेटेर उनले विविध आरोह अवरोह पार गर्दै एकसय अंकसम्म पत्रिका चलाए । चेपाङ विशेषांक निकालेर उनले पत्रिकाको बिट मारे । ३६ जना चेपाङ विद्यार्थीलाई वार्षिक एकहजार रुपैयाँका दरले चार वर्षसम्म छात्रवृत्ति दिलाए । तर, परिणाम शून्य निस्कियो । 
 
उनले छात्रवृत्तिका लागि प्रदान गरेको रकमले कसैले पनि कापीकिताब नकिनेपछि उनको छाती चिरिएर आयो । त्यसपछि उनले पढ्नेजस्ता २५ जना बच्चालाई विभिन्न गाउँबाट लिएर रत्ननगर आए । अभियन्ता शर्मा भन्छन्, “२०६८ वैशाख १३ गते बच्चालाई ल्याउँदा मसँग ५२ रुपैयाँमात्र बाँकी थियो । त्यही पैसाले चिउरा दालमोठ खाएर रात काट्यौँ । भोलिपल्टदेखि सुरू भयो माग्ने श्रृंखला । यो अहिले पनि जारी छ ।”
 
पहिलोपटक ल्याइएका २५ बालबालिका विन्ध्येश्वरी विद्यालय, खोलेसिमलमा पढ्दैछन् । उनीहरुका लागि सिप्रदी नामक व्यावसायिक संस्थाले सहयोग गर्दै आएको छ । उनले रत्ननगर–११ स्थित मंगलपुरमा चेपाङ बालबालिकालाई आवासीय सुविधासहित चेपाङ संरक्षण केन्द्र स्थापना गरेका छन् । अहिले केन्द्रमा १०५ बालबालिका आश्रित छन् । सुविधासम्पन्न नौ कोठे भवनमा ई–लाइब्रेरी र पुस्तक लाइब्रेरीको सुविधासमेत छ । 
 
चेपाङ बालबालिकालाई पढाइसँगै प्रयोगात्मक तालिमका लागि आठ कट्ठा क्षेत्रफलमा फैलिएको जग्गालाई कम्पाउण्ड गरेर माछापालन, तरकारी खेती, गाईपालनसमेत गरेका छन् । उनी भन्छन्, “चेपाङ बालबालिकालाई पढाइका साथै आत्मनिर्भर बन्ने तरिका पनि सिकाउन अर्गानिक खेती, माछापालन र पशुपालन गरिएको छ । यहाँबाट निस्किएपछि पनि आत्मनिर्भर बन्न सकून् भनेर यस्तो प्रयोग गरिएको हो ।”
 
चेपाङ बालबालिकालाई पढाइसँगै आत्मनिर्भर बनाउने अभियान सञ्चालन गरेका शर्मासँग नियमित आम्दानीको भने कुनै स्रोत छैन । भन्छन्, ‘देशविदेशमा बस्ने सहृदयीहरुको जन्मदिन, विवाह वर्षगाँठ, पुण्यस्मृतिजस्ता सहयोगले छाक टार्दै आएका छौँ ।’
 
स्रोत बलियो नभए पनि उनलाई आडभरोसा प्रदान गर्ने मनकारी व्यक्तिहरु पनि छन् । ती व्यक्तिहरु केन्द्रका अन्तिम विकल्प हुन् । उक्त संस्थाका लागि निरन्तर सहयोग गर्ने व्यक्तिहरु हुन्– डीआईजी रमेश खरेल, डा ढुण्डीराज पौडेल, एसएसपी शम्भु उप्रेती, बालगोपाल चुके दम्पती, भीमलाल आचार्य र शिक्षासेवी सरस्वती रिजाल । शर्मा भन्छन्, “संस्थामा यस्ता पात्रहरु जोडिँदै आएका कारणले हिम्मत बढेको छ । उनीहरु नै यस संस्थाका अन्तिम विकल्प हुन् ।”
 
मागेरै संस्था सञ्चालन गर्नुपरे पनि विद्यार्थीले केन्द्रको नाम राखेकोमा उनी सन्तुष्ट छन् । केन्द्रमै आश्रित रहेर एसएलसी दिएका रुपेश अहिले सामाजिक कार्यमा क्रियाशील छन् । जमुना र नम्रताले गाउँमै शिक्षण गर्छन् । सर्मिला स्टाफ नर्स पढ्दैछिन् भने चन्द्रबहादुरले एचए पढिरहेका छन् । यस्तै होमराजले एनपीआई भरतपुरमा सिभिल इन्जिनियरिङ र गणेशमानले एमबीबीएस पढ्ने लक्ष्यका साथ नारायणी मावि भरतपुरमा विज्ञान विषय पढ्दैछन् । 
 
केपी किरणको शैली पनि अचम्मकै छ । उनी केन्द्रमा तीन साताको लागि खाद्यान्न मौज्दात जुट्नासाथ पहाड चढिहाल्छन् । गाउँगाउँमा जोखिममा परेका, ओडारमा बस्ने, उपचार नपाएका चेपाङ समुदायका लागि उद्धार कार्य गर्दै आइरहेका छन् । 
 
केही साताअघिमात्रै ओडारमा बस्ने राप्ती नगरपालिका–१२ का रुपसिंहको उनकै सक्रियतामा उद्धार भयो । अहिले ओडारनजिकै रुपसिंहका लागि घर निर्माण भइरहेको छ । यस्तै सहाराविहीन दम्पती गुमासिंहलाई एक वर्षका लागि खाद्यान्न जुटाइदिए । कालिका–१०, मैतेसका पहिरोपीडित गुञ्जमानसहित सात परिवारको लागि उनकै नेतृत्वमा घर बन्यो । यस्ता अनगिन्ती उद्धारका काममा उनको योगदान रहँदै आएको छ ।   
 
चेपाङका सारथि बनेर आफूले केही योगदान गर्न पाएकोमा उनी सन्तुष्ट छन् । उनी भन्छन्, “सुरूमा हतोत्साही बने पनि समयको पद्चाप पछ्याउँदै अगाडि बढ्दा मज्जा आउँदोरहेछ । दुईजनाले हेपे पनि चारजनाले माया गरिदिन्छन् । परिवारजन र आफन्तले बहुलायो भनेर दिएको प्रतिक्रिया आज ऊर्जा बन्न पुगेको छ । म यसैमा खुसी छु ।”