मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

द्वन्द्वपीडित भन्छन्- ‘प्रमाणपत्र र खादा ओढाएर राहत मिल्दैन’

द्वन्द्वपीडित भन्छन्- ‘प्रमाणपत्र र खादा ओढाएर राहत मिल्दैन’


नेकपा माओवादी केन्द्र सरकारमा पुगे पनि जनआन्दोलनमा शहीद तथा बेपत्ताका परिवारले अझैसम्म राहत महसुस गर्न नपाएको पीडित परिवारले गुनासो गरेका छन् ।
 
माओवादी केन्द्रले चितवनको भरतपुरमा आयोजना गरेको शहीद परिवार तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रममा सहभागी पीडित परिवारले यस्तो गुनासो गरेका हुन् ।
 
जनसंघर्षबाटै देशको राजनीतिले कोल्टे फेरे पनि त्यतिबेला ज्यान गुमाएका र बेपत्ता पारिएकाको नाममा काम हुन नसकेको कालिका नगरपालिका वडा नं.४ पदमपुरका विजयसिंह गोलेले बताए । तीन छोरा र एक छोरीमध्ये कान्छा छोरा करूण र छोरी अनु जनयुद्धका क्रममा मारिएका थिए ।
 
गोलेले भने, “कसैको काख त कसैको सिउँदो नै रित्तिने गरी भएको जनसंघर्षले देशको राजनीतिबाहेक अन्य क्षेत्रमा परिवर्तनको महसुस गर्न पाएका छैनौँ ।” शहीद परिवारको सूचीमा नाम रहेका गोले अहिले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका छन् ।
 
पार्टीकै लागि ज्यानको बलि चढाएर हिँडे पनि सही मूल्यांकन हुन नसकेको उनको गुनासो छ । उनकी श्रीमती २०५८ सालदेखि नै जलबिन्दुका कारण दृष्टिविहीन भएकी छन् । उनलाई घर चलाउन समस्या छ । उनी भन्छन्, “जनयुद्ध भनेर हिँडियो तर अहिलेसम्म जीवन गुजाराको व्यवस्था पार्टीले गर्न सकेन ।”
 
माडी नगरपालिका वडा नं १ भंगताकी हेमाकुमारी क्षेत्रीले पार्टीले सधैँ अन्धकारमा रूमल्याउने काममात्रै गरेको गुनासो गरिन् । उनले भनिन्, “राज्यले शहीदको नाममा एकमिनेट मौनधारण गर्नेबाहेक अरू उपलब्धीमूलक काम गरेन् ।”
 
शहीद, बेपत्ता र घाइते परिवारका नाममा ठूला भाषण गर्नेको कमी नभए पनि वास्तविक पीडा बुझ्नेको कमी भएको हेमाकोे बुझाइ छ ।
 
समाज परिवर्तनको लागि बन्दुक उठाए ज्यान गुमाएकाको लागि राहतको महसुस अझैसम्म पनि गर्न नसकेको भन्दै भरतपुर अमृतनगरकी भागीरथी कोइरालाले दुःखेसो पोखिन् । विद्यालयबाटै युद्धमा लिएर गएको सम्झँदै उनले प्रश्न गरिन्, “त्यसरी गरेको संघर्षले नेताहरूले आफ्नो स्वार्थ पूरा गरे । बाँकी सोझासाझालाई के फाइदा भयो ?” बोलीमा जस्तो व्यवहारमा देखाउन सके सबैको हितमा हुने उनको भनाइ छ ।
 
भरतपुर–१२ आस्थाचोकका दयाराम दवाडीले पनि शहीद परिवारको पीडा सत्तामा पुगेपछि बिर्सने गरेको बताए । वास्तविक पीडा कस्तो हुन्छ भन्ने कुरा भोग्नेलाई मात्रै थाहा हुन्छ भन्दै उनले भने, “शहीद परिवार र बेपत्ता परिवारलाई खादा ओढाएर भुलाउने काममात्रै भइरहेको छ ।”
 
माओवादीले फागुनको दोस्रो सातादेखि शहीद सप्ताह मनाइरहेको छ । माओवादी केन्द्र, वैद्य नेतृत्वको माओवादी र विप्लव नेतृत्वको माओवादीले पनि आ–आफ्नो तरिकाले सप्ताह मनाइरहेका छन् । तर, शहीदको सपना साकार पार्नको लागि सप्ताह मनाएर, एउटा प्रमाणपत्र र खादा लगाइदिएकै भरमा पूरा नहुने बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष नीशा न्यौपानेले बताइन् ।
 
“राजतन्त्रको अन्त्यका लागि मात्रै थियो त माओवादी आन्दोलन ?” उनले प्रश्न गरिन् । माओवादी क्रान्तिको कार्यदिशालाई सही ढंगले अगाडि बढाउन नेतृत्व पंक्ति जवाफदेही हुनुपर्ने उनी बताउँछिन् ।
 
चितवनका प्रदेशसभा सदस्य घनश्याम दाहाल ‘अविनाश’ले महान् शहीदहरूको योगदानकै कारण देशमा परिवर्तन भएको दाबी गरे । शहीदको सपना पूरा गर्न चैत दोस्रो साताभित्र नेकपा एमालेसँग पार्टी एकता भइसक्ने उनले उद्घोष गरे ।
 
माओवादी पार्टीबाट अलग भएका मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा क्रान्तिकारीले भने आ–आफ्नै तरिकाले पार्टी एकताको तयारीमा जुटेका छन् ।