मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

उपचारदाता खोज्दै अपाङ्ग चेपाङ दम्पती

उपचारदाता खोज्दै अपाङ्ग चेपाङ दम्पती


चितवन । चितवनको कालिका नगरपालिका–८ अजिङ्गरेका बुद्धिबहादुर चेपाङको दम्पती नै अपाङ्ग हुन् । 
 
बुद्धिबहादुर आठ/नौ वर्षको हुँदा उनको देब्रे खुट्टा भाँचिएपछि उपचारको क्रममा पैताला नै गुमाए । घरमा खाने अन्न नभएपछि वन तरूल खन्ने क्रममा ढुंगा खसेर खुट्टामा बजारिएपछि उनी अपाङ्ग हुन पुगेका हुन् । 
 
श्रीमती सुन्तलीमाया भने बौद्धिक अपाङ्गता भएको धेरै समय बितिसकेको छ । तर, यी दम्पतीले अहिलेसम्म राम्रो उपचार पाउन सकेका छैनन् । कारण गरिबी र अभाव नै हो ।
 
अहिले बुद्धिबहादुर चेपाङ ग्याबिङ तारले बनाइएको जुत्ता लगाएर हिँड्छन् । पुरानो कपडा र चप्पल काटेर बनाइएको उनको जुत्ता करिब दुई किलो जति फलामको तारले बाँधेको छ । पटकपटक बनाइरहनु नपर्ने भएकोले फलामको तारले बाँधेर खुट्टा अड्याउने बाटो गरिएको उनले बताए ।
 
उनी भन्छन्, ‘तर, पुरानो घाउ बल्झिरहन्छ । बेलाबेलामा घाउ पाकेर दुःख दिएपछि उनी धेरैपटक स्वास्थ्य चौकी धाएँ । स्वास्थ्य चौकीको औषधिले छुँदै छोएन ।’ 
 
उनी भन्छन्, ‘उपचारको लागि ठूलो अस्पताल जान सकिँदैन । त्यही भएर दुखाइ सहेरै बस्नुपरेको छ ।’ उनलाई आफ्नोभन्दा पनि बढी चिन्ता त परिवारको छ । 
 
श्रीमती पनि बौद्धिक अपाङ्गता भएकीले काखमा भएका तीन भाई छोरालाई कसरी हुर्काउने भन्ने चिन्ता बुद्धिबहादुरको थाप्लोमा परेको छ । सुन्तलीमाया सधै आफ्नै सुरमा हुन्छिन् । ‘म आफैँ अपाङ्ग छु, काम गर्न सक्दिन । बुढीको हालत त्यस्तो छ’, उनले आफ्नो पीडा सुनाए । जग्गाजमिन नभए पनि घर भने जनता आवास कार्यक्रमले बनाइदिएको छ । 
 
बुद्धिबहादुर भन्छन्, ‘खुट्टा राम्रोसँग निको पार्न पाए दुःख गरेरै भए पनि केटाकेटीलाई राम्रोसँग लालनपालन गर्न सक्थेँ कि भन्ने लागेको छ ।’ 
 
यी दम्पती सरकारले दिँदै आएको अपाङ्ग भत्ताबाट अझै वञ्चित छन् । भन्छन्, ‘सरकारले दिने सुविधा पाए सामान्य घर खर्च चल्ने थियो । भत्ता माग्न जाँदा तपाईंजस्ता अपाङ्ग भएका व्यक्ति त कति छन् कति भनेर पठाउँछन् ।’ कालिका नगरपालिका बने पनि यहाँका गरिब चेपाङ समुदायका लागि केही फरक नभएको उनको बुझाइ छ । 
 
स्थानीय छिमेकी कुमार चेपाङ भन्छन्, ‘नगरपालिका नाममात्रैको हो । हामीलाई त गाविस हुँदा जस्तो थियो, अहिले पनि उस्तै छ ।’