मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कर्मकाण्ड धान्दै ‘आधुनिक पण्डित’

कर्मकाण्ड धान्दै ‘आधुनिक पण्डित’


चितवन । पूर्वी चितवनको रत्ननगर–१० बैरिया बस्दै आएका अमृत दुवाडी आधुनिक पण्डितका नामले चिनिन्छन् । २७ वर्षे यी युवा नयाँ पुस्ता भएरमात्र आधुनिक पण्डितले चिनिएका होइनन् । बढ्दो आधुनिकतासँगै सूचना प्रविधिको प्रयोग र आधुनिक पुस्ताको मागअनुसार कर्मकाण्ड गरिदिने भएकाले उनलाई उक्त उपाधि दिइएको हो । 
 
उसो त उनलाई हिन्दूशास्त्रअनुसार विधिसम्मत कर्मकाण्डमा ज्ञान नभएको भने होइन । शहीद लखन गाउँपालिका–९, नामजुङ, गोरखाका प्रख्यात पण्डित रामप्रसाद दुवाडीका सुपुत्र हुन् उनी । विवाह, वर्तबन्ध, श्राद्धलगायत ज्योतिषविज्ञानमा पोख्त उनले आफ्नै पिताको कर्मलाई निरन्तरता दिएका हुन् ।
 
उनी भन्छन्, ‘आधुनिक पुस्ताले रीति–थिति छाड्दै गए, दुव्र्यसनमा लाग्दै गए, विदेश जाने भूत पस्यो । तर, मैले आफ्नो धर्मसंस्कृति र बाबुबाजेको बिंडो थामेको हुँ ।’ गाउँघरमा युवा नै दुर्लभ हुन थालेपछि आफूले कर्मकाण्डलाई निरन्तरता दिएको उनी बताउँछन् । 
 
आफूलाई आधुनिक पण्डितको पगरी गुथाइदिएकोमा उनलाई कुनै पछुतो छैन । भन्छन्, ‘मैले सामाजिक सञ्जालमार्फत् पनि आफ्नो पेसालाई अगाडि बढाएको छु । भर्खरै स्काइभबाट पोर्चुगलमा न्वारान गराएँ । अस्तिमात्रै स्काइभबाटै काठमाडौँमा रहेका यजमानकोमा श्राद्ध गराएँ । प्रायः विदेशमा रहेकाहरुको कर्म यहीँबाट सम्पन्न गर्दै आएको छु ।’ 
 
बाबुबाजेले गरेको कर्मलाई सबैले अनुशरण गर्नुपर्ने उनी बताउँछन् । अहिले जजमान पेसामा पुस्तान्तरण हुन नसक्दा कतिपय गाउँमा पण्डितहरुको अभाव हुँदै गएको उनको बुझाइ छ ।  उनी बिहानै उठेर पूजाआरती गर्छन् । अनि आफ्नो पेसामा खटिन्छन् । उनका करिब एकसय घर यजमान छन् । उनलाई एकाह पुराण, लघु–रुद्री, विवाह, वर्तबन्ध र श्राद्ध कर्मका लागि सामाजिक सञ्जालबाट पनि यजमानहरुले सम्पर्क गर्छन् । लोप हुँदै जान लागेको कर्मकाण्ड पेसालाई निरन्तरता दिन सकेकोमा उनी सन्तुष्ट छन् । 
 
आधुनिक पण्डित भए पनि उनी संस्कृत अध्ययन नगरी यो पेसामा आएका भने होइनन् । उनी प्रारम्भमा पण्डित पिताको प्रेरणा, त्यसपश्चात् रामजानकी वेद विद्याश्रम, देवघाट हुँदै सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीबाट शास्त्री गरेका छन् । उनी भागवत् पुराणबाहेक सम्पूर्ण कर्मकाण्डमा निपूर्ण छन् । 
 
उनी आफ्नो जीवनमा तीन जनालाई आदर्श गुरु मान्छन् । पिता रामप्रसादलाई कर्म गुरु, भवानी तिमिल्सिनालाई वेद गुरु र नवराज सुवेदीलाई ज्योतिष गुरु मानेर अगाडि बढेको उनी बताउँछन् । भन्छन्, ‘धर्मकर्ममा लागेपछि आत्मसन्तुष्टि मिल्छ । धर्म उल्लंघन नगरी सभ्य रुपमा कर्म गर्दा मोक्ष प्राप्ति हुन्छ । धेरै आशा र प्रलोभन गर्नुहुँदैन । जुनसुकै पेसाबाट पनि सन्तुष्टि लिन सक्नुपर्छ ।’
 
कहिलेकाहीँ यजमानले पण्डितको बाध्यता नबुझिदिँदा भने उनलाई खल्लो महसुस हुन्छ । भन्छन्, ‘एकैदिन दुई÷तीन काम जुध्यो भने पण्डितले ढिलो ग¥यो भनेर गुनासो गर्छन् । कतै ‘टपरे बाहुन’ भनेर अपहेलना पनि गर्छन् । कहीँ बिहेका लागि बोलाएर अर्कै पण्डितको व्यवस्था गर्छन् । पण्डितको पनि समस्या होला भन्ने नबुझिदिँदा दुःख लाग्छ ।’ 
 
सधैँ एकनासले काम नहुँदा, शुक्र अन्न, वृहस्पति अन्न र अफसिजनमा भने यो पेसाबाट गुजारा चलाउन गाह्रो हुने अनुभव उनको छ । उनी भन्छन्, ‘कतिपय अवस्थामा एक महिना कर्म गरेर तीन महिनासम्म गुजारा चलाउनुपर्ने अवस्था पनि आउँछ । हरेश खानुहुन्न । सत्कर्म गरेपछि भगवान्ले उपाय लगाउँछन् ।’ 
 
पण्डित पेसाबाट सजिलै जीविकोपार्जन गर्न सकिने उनी बताउँछन् । पण्डितको पनि पारिश्रमिक निर्धारण हुनुपर्ने उनको धारणा छ । भन्छन्, ‘कतिपय यजमानले पारिश्रमिकबारे बुझिदिँदैनन्, पण्डित पनि बाँच्नुपर्छ भन्ने सोच्दैनन् । पण्डितले पनि एकदिनको निमेक माया मारेर काम गरेको हुन्छ । यजमानले यो वास्तविकताबारे बुझिदिनुपर्छ ।’