जानी राखे राम्रो

हाम्रो सपना अब घर र गाडी हैन, पहुँच र पहिचान हो - ह्यारी भण्डारी

3780 पटक पढिएको

7th Mar 2018, Wednesday | २०७४ फाल्गुन २३, बुधवार २०:२३
नेपाली मूलका ह्यारी भण्डारी यतिखेर नेपालीको प्रतिनिधित्व गर्दै अमेरिकी राजनीतिमा अग्रसर छन्। फाट्ट फुट्ट औलामा गन्न सकिने नेपालीहरू अमेरिकी मूलधारमा समाविष्ट हुँदै गर्दाको अवस्थामा उनको यो कदम नेपालीमाझ गौरवको विषय हो । ३९ वर्षका ह्यारी  मेरिल्याण्ड राज्य, डिस्ट्रिक - ८ अन्तर्गत आगामी नोभेम्बर महिनामा हुने निर्वाचनमा डेमोक्र्याटिक  पार्टीका तर्फबाट स्टेट डेलीगेट्स (विधानसभा सदस्य) को उम्मेदवार हुन् । 
पर्वत जिल्लामा जन्मिएका ह्यारीको  पारिवारिक पृष्ठभूमि भने शैक्षिक जागरणले ओतपोत भएको रहेछ । उनकी हजुरआमाले त्यतिबेलाको समयमा नै उच्च शिक्षा हासिल गर्नु भएको थियो। 
 
भारतीय यूनिभरसिटीमा पढाउनु हुन्थ्यो उहाँ । हजुरबुवा रामदल भण्डारीले वि.सं २०१६ मा पर्वत जिल्लामा भूमे निम्न माध्यामिक विद्यालय स्थापना गर्नुभयो। सुन्दा किवदंती जस्तो लाग्छ तर गाउँलेहरूले किचलो गरेर विद्यालय खोल्न दिएका थिएनन् उतिबेला । गाउँलेको अगाडि ह्यारीका हजुरबुबाले विद्यालय खोल्न नदिएको झोकमा झुण्डेर मर्न लागेपछि बल्ल बल्ल गाउँले सहमत भएका रहेछन् ।
 
हजुरबुबाको शेखपछि बुबाले स्कुलकोलागि कडा मिहेनत गर्नुभयो। गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो बुबा। दिदी, नेपालमा पर्वत जिल्लाको पहिलो हेडमास्टर हुनु भयो। शैक्षिक पृष्ठभूमिको कारणले गर्दा पनि होला परिवारका हरेक सदस्यहरूलाई पढ्ने र केही गर्ने वातावरण सदैव रह्यो । 
 
एउटा अनौठो पारिवारिक प्रसंग ह्यारी भण्डारीले यो पंक्तिकारलाई  बताए -
कुरा पुरानो हो। जतिबेला ह्यारिकी आमा तिन महिने दुधे बालीका हुनुहुन्थ्यो । भारतबाट हजुरबुवा हजुरआमा र तीन महिने आफ्नी आमा नेपाल आउँदै गर्दा बिच बाटोमै औंलो लागेर चौतारीमा हजुरआमा बित्नु भएछ । त्यही चौतारीमै काखे छोरी भएको पनि होस हवास हराएर ह्यारिको हजुरबुबाले मृत श्रीमतीको सतगत गर्नु भएछ । तीन दिनपछि पो अहो ! मेरी सानी छोरी पनि थिई भन्दै उही चौतारीमा खोज्दै जाँदा बाटो हिँड्ने बटुवाले लगिराखेको भेट्टाएर फिर्ता ल्याउनु भएछ । तीन महिना मै टुहुरी हुनुभएकी आफ्नी आमा कान्ति कुमारी भण्डारीले जीवनमा ठुलो संघर्ष गर्नुपरेको ह्यारी बताउँछन् । अहिले पनि आफूले सक्नेसम्म अर्थ संकलन गरेर नेपाल पठाउने र सहयोग गर्ने गर्नुहुन्छ उहाँ । हजुरबुवा पनि समाजसेवी । 
 
विद्यालयकोलागि कैयौँ जग्गा जमिनहरू दान गर्नुभयो उहाँले । आफूलाई हजुरबुबाले डोका नाम्ला बनाउन सिकाउँदै गाउँमा बाड़न लगाएको, बनाउँदा कति पटक हात काटेको प्रसंग सम्झेर ह्यारी भावुक हुन्छन् र भन्छन् - 'सेवा भाव पनि वंशानुगत हुँदोरहेछ'। 'हजुरबुवा, बुबा र आमाको प्रेरणाले नै आज समाज सेवाप्रति अग्रसर छन् उनी।'   
 
सन् २००५ को अक्टोबर ३१ मा ह्यारी अमेरिका आएका थिए । सुरुका दिन अरूको जस्तै उनको पनि संघर्षमय नै थियो । ग्यास स्टेसनमा काम गर्दै आफ्नो पढाइलाई निरन्तरता दिए उनले । जोन हॉपकिन्स यूनिवर्सिटीबाट ग्र्याजुएशन पछि  यूनिवर्सिटी अफ मेरिल्याण्डमा पीएचडी गर्दैछन उनी। कार्भर भोकेशनल टेक्निकल हाईस्कुलमा अध्यापन गरिरहेका ह्यारी अमेरिकन र नेपाली समुदायमा सामाजिक अभियन्ताकोरुपमा पनि लोकप्रिय हुदैछन् । 
के कुराले अमेरिकी  राजनीतिप्रति आकर्षित गरायो ? भन्ने प्रश्नमा ह्यारी भण्डारीको जवाफ यस्तो छ  - 
"यहाँ अमेरिकन चाइनिज र अमेरिकन इण्डियनहरूले अमेरिकी राजनीतिमा गतिलो प्रभाव दिन थालेको र उनीहरूको आवाजको सुनुवाइ हुँदै गरेको देखेर म नेपालीको आवाज बुलन्द गर्न यहाँको  राजनीतिमा लागेको हुँ । मेरो कदमले आजका दिन थोरै होला तर भोलि अवश्य नै अर्को पुस्तालाई मार्ग निर्देश गर्न ठुलो सहयोग पुग्छ भन्ने विश्वास लिएको छु ।"
 
 नेपालमा हुँदा नेपाली काँग्रेसको वैचारिक सिद्धान्तलाई अवलम्बन गर्दै हिँडेका ती दिनहरू सम्झन्छन् ह्यारी । सन् २००४ मा लभली एंजेल बोर्डिंग स्कुलको प्रिन्सिपल हुँदा भोगेको नमिठो अनुभव पनि रहेछ । तात्कालिन माओवादीका चन्दा आतंकबाट भोग्नु परेको अनेक सास्ती पनि सम्झिए उनले ।   
 
नेपाल र नेपालीको मायाले नै अमेरिकी राजनीतिमा होमिएको बताउछन ह्यारी । यहाँ पनि नेपालीहरू नेपालकै  राजनीतिक र अनेक जातीय  संघसंस्था खोलेर अल्मलिनु भन्दा बरु एकजुट भएर नेपालीको हितकोलागि केही गर्न सके हुन्थ्यो भन्छन्  ।
 
यही आउँदो जुन २६ मा प्राइमेरी चुनाव हुँदैछ । यो चुनावमा ह्यारी भण्डारी सहित चारजना आफ्नै पार्टीका (डेमोक्र्याटिक) प्रतिनिधिहरूबिच प्रतिस्पर्धा हुनेछ। जसमा तीनजना विजयी हुनेछन् । 
 
आफ्नै पार्टी भित्रको विजय कतिको सम्भव छ भन्ने प्रश्नमा उनले आफू शतप्रतिशत विश्वस्त भएको बताए ।  इनकुमबेन्ट सँगै टिकट बनाएर चुनाव लडेको हुँदा उनले जित्ने आधार सशक्त देखिन्छ। स्मरण रहोस् - यो प्राइमेरी चुनावमा विजय भएपछि उनको प्रतिस्पर्धा आउँदो नोभेम्बर ९ मा विधान सभा सदस्यकोलागि हुनेछ । 
 
अर्को एउटा महत्त्वपूर्ण प्रश्न जुन सोध्नु जरुरी थियो । 
 
तपाईँले यो राजनीति फड़को लिँदै गर्दा नेपाली समुदाय कहाँ छ ? के भन्नुहुन्छ उनीहरूलाई ?
"अमेरिकामा पनि ४७ प्रतिशत नेपाली गरिब छन् । हामी कहाँबाट आयौँ भन्दा पनि कहाँ जाने महत्त्वपूर्ण कुरा हो । मेन स्ट्रीम नभई हुँदैन । अमेरिकन नेपाली दोस्रो पुस्ताको सपना घर, गाडी मात्र होइन । पहुँच र पहिचान हो । त्यो प्लेटफार्म तयार गर्न सकिएन भने दोस्रो पुस्ता अल्मलिने छ । आफ्नो समुदायको समस्याको सुनुवाइ र समाधानकोलागि आवाज बुलन्द गर्न हाम्रो प्रतिनिधित्व हुनै पर्छ ।"-ह्यारीले तितो सत्य बोले । 
 
आफू समुदायको हितमा लाग्न पाउँदा आनन्दको अनुभूति गर्छन् उनी। यो व्यस्त दिनचर्यामा पनि भ्याउन्जेल समुदायकोलागि गर्छन्।
 
"यो कथा होइन" हिमालय खबरको यो स्तम्भमा समुदायकोलागि आफ्नो योगदान ह्यारी भण्डारी यसरी सम्झन्छन् - 
 
"मोबाइलको फोनले रातको समयमा दश बज्न एकमिनेट देखाएको थियो, आफ्नो झिसमिसे उज्यालोेवाट सुरु भएको दिनचर्या सकेर म आफ्नो घर प्रवेश गर्न लाग्दै थिएँ ।  मोबाइलमा म्यासेज देखेँ। म्यासेजमा लेखिएको थियो –एचविजी, आज एक जना नेपाली युवक मेरिल्याण्डमा अकल्पनीय दुर्घटनामा परेर जीवन मरणको दोसाँधमा अस्पतालको शैयामा हुनुहुन्छ , तपाईँको सहयोगको ठुलो अपेक्षा छ । 
मैले तुरुन्त कल गरे र ती युवकलाई राखिएको स्थानमा पुगे । पुग्दा ती युवकलाई डाक्टरहरूले "क्लिनिकल्ली डेड"  घोषणा गरिसकेका रहेछन् । छेउमा भर्खरकी करिब अठ्ठाईस, उनन्तिस वर्षकी युवती रुँदै थिइन्। मृतककी श्रीमती प्रिक्सी गुरुङ्ग रहीछिन्  उनी । जसको जीवनमा पहाड खसेको थियो । आफ्नो जीवनमा अब सम्पूर्ण कुराले पूर्ण विराम लगाएको भन्दै अत्यन्त उदास मुद्रामा थिइन् उनी ।  
 
माहौल यस्तो थियो,जहाँ कुनै कुराको प्रश्न सोध्नुपनि चोट परेको हृदयमा  सुईरो घोचेको अनुभूति हुन्थ्यो । मैले कहिल्यै नभेटेका र नचिनेका व्यक्तिहरूको सामु कुनै कसर नराखी गर्नुपर्ने कामहरूको सूची बनाएँ। तुरुन्त डाक्टर र नर्सहरूसँग परामर्श गरेर निकटका व्यक्तिहरूसँग डेथ अर्थात् मृत्युको घोषणाको प्रक्रियाका बारेमा अगाडि बढेँ। डाक्टरहरूले क्लिनिकल्ली डेड भने पनि निकटका व्यक्तिले नमानेको खण्डमा मृत्युको घोषणा गर्न वर्जित छ । स्मरणीय छ, नेपालमा भूतपूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई एकसातासम्म मॢत  अवस्थामा टिचिङ्ग हस्पिटलमा राखिएको थियो । 
 
मर्ने त मरिगए। तर बाँच्नेको अगाडि सिङ्गो जीवन बाँकी थियो। सँगै उनको सहयात्रामा साथ दिन आएकी भर्खरकी युवती प्रिक्सी जसले आफ्नो नर्सिङ्ग विषयको पढाई तिनै मृतक व्यक्तिको साथ र सहयोगमा अघाडि बढाउँदै थिइन् । 
 
उनको त्यो पीडामा अर्को जटिलता थपियो शवलाई नेपाल लगेर सदगत गर्ने परिवारको चाहना । एयरलाईन्ससँग कुरा गरेर तोकिएको भन्दा झण्डै पचास प्रतिशत सस्तोमा शव नेपाल पठाउने व्यवस्था मिलाएँ । साथमा तिनै मानसिक रूपमा आफूलाई सम्हाल्न नसकिरहेकी बहिनी प्रिक्सीलाई पनि पठाउनु पर्ने भयो । सोचे, आफू चढेको प्लेनको मुनि आफ्नो प्रिय मान्छेको शव छ, माथिको सिटमा यात्रा गर्दा कस्तो अनुभूति होला ? तसर्थ अर्की एक जना बहिनीलाई समेत साथै लगाएर नेपालसम्म पुरयाउने चाँजोपाँजो मिलाएँ। 
 
गत वर्ष २०१७ को घटना थियो यो । मलाई यो अभियानमा धेरै नेपाली समुदायका दाजुभाइ दिदी बहिनीहरूले जिम्मेवारीपूर्वक रकम संकलनमा सहयोग दिनुभयो । उहाँहरूको सहयोगबाटै मैले आफ्नो जिम्माको काम फत्ते गर्न सकेँ। त्यसप्रति म आभारी छु। तर त्यो भन्दा पनि बढी ती कलिलो उमेरकी बहिनी प्रिक्सीको पिडालाई व्यवस्थिति तरिकाले कम गराउन सफल भएकोमा मलाई आनन्दको अनुभूति हुन्छ ।
 
मानव जीवन कहाँ गएर अनन्त सपनाहरूको पोकोलाई एउटा कुनामा थन्काएर सदाकोलागि बिदा हुनुपर्छ, हामी कसैलाई थाहा छैन । 
 
प्रवास, जब एउटा युवक वा युवतीले आफ्नो सबै सपनालाई चटक्क छाडेर परिवारजनका सदस्य भन्दा निकै टाढा मृत्युको अन्तिम श्वास फेरेको भन्ने सुन्छु, देख्छु अति दुख लाग्छ । हामी पनि एउटा सशक्त समुदाय हुन सकेको खण्डमा यस्ता आकस्मिक दुर्घटनामा परि चहराईरहेका घाउहरूमा सजिलै मलम लगाउन सक्छौँ होला ! अनि हाम्रा भावी पिढीकोलागि डायस्पोरामा सुसंस्कृत र सक्षम व्यक्ति बनाएर सुन्दर भविष्यको खाका कोर्न सक्छौँ होला !"
 
यी नै ह्यारी अहिले अमेरिकी राजनीतिको मूलधारमा  नेपालीले गौरव गर्न सक्ने एउटा इतिहास रच्न अग्रसर भएका छन् । आउनुस् हामी सबैले सक्दो सहयोग गरौँ । उनलाई  स्टेट डेलीगेट्स अर्थात् विधानसभा सदस्यमा निर्वाचित गराउन आर्थिक सहयोगको ठुलो आवश्यकता छ यसवखत। तपाँइ हाम्रो स्यानो सहयोग पनि उनको अभियानमा ठुलो  बन्नसक्छ ।
 
चुनावी अभियानकोलागि डेढलाख डलरको आवश्यकता छ उनलाई तर अहिलेसम्म ४४ हजार डलर मात्र जम्मा भएको रहेछ । अमेरिकावासी नेपालीले मन खोलेर सहयोग गर्दा ह्यारीको जीत सुनिश्चित हुनसक्छ । त्यो जीत हामी सबै नेपालीको हुनेछ ।
शुभकामना ह्यारी भण्डारी !
 
 
(यो कथा होइन - दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www. Himalyakhabar.com / bitubaral@yahoo.com )