विचार / ब्लग

नेतृत्वको अवसर र राजनीतिमा बाह्य प्रभाव

564 पटक पढिएको

– उपेन्द्र झा

24th Feb 2018, Saturday | २०७४ फाल्गुन १२, शनिबार २२:१३
माघ १८ गते भारतीय विदेश मन्त्री सुषमा स्वराजको दुई दिने नेपाल भ्रमणले नेपाली राजनीतिमा एउटा नौलो तरंग ल्याई दिएको छ । चीनियाँ प्रभावबाट नेपाली राजनीतिमा सशक्त रूपमा उदाएको एमाले र त्यसको पहलमा बनेको बाम गठबन्धन हालै देशमा सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा अत्यधिक सीट जीतेर बहुमतको सरकार बनाउन तयार बसेका छन् । आगामी सरकार बाम गठबन्धनको बन्ने निश्चित भएपछि त्यसको पूर्व सन्ध्यामा भारतीय विदेश मन्त्रीको एकाएक आगमनले जहाँ राष्ट्रवादी शक्तिलाई झस्काएको छ, उहीं समर्थक शक्तिहरू उत्साहित बनेका छन् । पक्ष विपक्षको विश्लेषणात्मक प्रतिक्रियाले राजनीतिक वृत गर्माएको छ । 
 
भारतीय विदेश मन्त्रीको भ्रमणबारेको सूचना परराष्ट्र मन्त्रालयले गोप्य राखेकोले यो भ्रमण एक्कासी कसरी भयो भन्ने सर्व साधारणमा कौतुहलता व्याप्त भयो । परराष्ट्र मन्त्रालयले सूचना गोप्य किन राख्यो ? अथवा परराष्ट्र मन्त्रालयलाई भारतीय विदेश मन्त्रीको भ्रमणबारे जानकारी थिएन भने भारतीय विदेश मन्त्रीको भ्रमण (अतिक्रमण) बारे सत्तापक्ष वा प्रतिपक्षको कुनै प्रतिक्रिया आएन । भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणको आगमनको केही घण्टा पूर्व सर्व साधारणले जानकारी पाए । 
 
चीनियाँ प्रभावको बाम गठबन्धनले सशक्त र स्थिर सरकार बनाउन निश्चित छ । विकासबाट जनतामा प्रभाव पार्ने बाम गठबन्धनको आगामी कार्य योजना पनि छ । अरू छिमेकीभन्दा आर्थिक सहायतामा चीन सवभन्दा अगाडी देखिएकोले राष्ट्रिय गौरवलगायत अन्य विकासका कामहरू द्य्रुतगतिमा अगाडि बढ्ने विश्वास सबैले लिएका छन् । यी सब यथार्थले बाम गठबन्धन सरकारको लोकप्रियतालाई कसैले रोक्न सक्दैन । प्रतिपक्षमा रह्ने लोकतान्त्रिक शक्ति गुट उपगुटमा विभक्त भएर चुनावमा अति कमजोर अवस्थामा आएका छन् । चुनावी परिणामले बाम गठबन्धनलाई मजबूत तथा लोकतान्त्रिक शक्तिलाई कमजोर बनाएदेखि राजनीतिक असन्तुलन बढेको छ । 
 
भारतीय विदेश मन्त्रीको भ्रमणको पूर्व सन्ध्यामा “आगामी सरकार जनवादी सरकार हुने” भन्ने अभिव्यक्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको मुखबाट आएदेखि लोकतान्त्रिक शक्ति केन्द्र सशंकित देखिएका छन् । भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमणमा आएपछि “माओवादी केन्द्र र एमालेको एकीकरणलाई प्रतिक्रियावादी शक्तिहरू भाँड्न सक्रिय भएको” भन्ने प्रचण्डको  अभिव्यक्तिले लोकतान्त्रिक शक्तिकेन्द्रलाई थप संदिग्ध बनाएको छ । 
 
भारतीय राजदूतावासको कूटनीतिक सम्बन्धको सक्रियताबाहेक भारतमा मोदी सरकारको उदय भएदेखि नेपाली राजनीतिमा भारतको खासै सक्रियता देखिएको छैन भन्ने समर्थक शक्तिको आकलन छ ।
 
नेपाललाई धर्म निरपेक्ष बनाउने शक्तिहरू मोदी सरकारलाई खासै रूचाएनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पहिलो अवसरमा नै ट्रमा सेन्टरको भाषणको कटु आलोचना भएको थियो । संविधानमा सबैको प्रतिबिम्ब झल्किने सुझावलाई आन्तरिक हस्तक्षेपको आरोप लगाएर शीर्ष दलहरू खुवै विरोध गरेका थिए । त्यसपछिका दिनमा मोदीको जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमणलाई रोक्न सुरक्षा व्यवस्थाको कारण देखाएर सरकारले अनेक व्यवधान खडा ग¥यो । कट्टर हिन्दू समर्थक रहेको भारतीय जनता पार्टीलाई बुझ्ने नेपालका राजनीतिक दलहरू उसको उदयदेखि नै विरोध गर्न थालेका थिए । मोदी सरकारलाई नरूचाउने उपरोक्त प्रमाणहरू यथेष्ट रहेका छन् । मधेशले गरेको नाकाबन्दीलाई पनि भारतले गरेको भनेर व्यापक विरोध भयो ।
 
मधेशको माँगलाई भारतले सम्बोधन गर्न किञ्चित समर्थन देखाएपछि ओली नेतृत्वको राष्ट्रवादी शक्तिहरूले त संसारभरि “नेपाली राजनीतिमा भारतीय हस्तक्षेप”को डंका नै पीटे । भारतको विरोध गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अन्धराष्ट्रवादी ताकतलाई संगठित पारि एमाले पार्टीलाई बलियो बनाउन प्रयोग ग¥यो भने अर्कोतिर नेपाललाई हडप्नै लागेको भारतीय हस्तक्षेप देखाएर चीनसंग प्रगाढ सम्बन्ध बनाउन सफल भयो । भारतले नाकाबन्दी लगाएर दैनिक उपभोग्य वस्तुको आपूर्तिमा रोक लगाएको भनेर चीनसंग पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको सहायता प्राप्त गरेको थियो ।
 
चीनसंग पहिलो खेपको सहायता प्राप्त गरि राष्ट्रवादी शक्तिहरू भारतप्रति बढि आक्रामक देखिएका थिए । तर देशप्रेम र देशहित चिताउने शक्तिहरू भारतको यसरी विरोध हुनुलाई अनर्गल भनि रहेका थिए । यस्ता क्रियाकलापहरू देशहितको लागि कदापि हुन सक्दैन भनेर आफ्ना विचारहरू लेखमार्फत स्पष्ट गरि रहँदा पनि आएको राष्ट्रवादी भेल रोकिएन । रोक्ने कारण पनि थिएन । रोकेको भए आज अजेय शक्तिको रूपमा उदाएको बाम गठबन्धन शक्तिशाली हुने थिएन ।
 
भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणले नेपाली राजनीति वृतमा कौतुहलता ल्याएको छ । आउने दिन मात्र जानकारी हुने भारतीय विदेश मन्त्री यसरी एक्कासी नेपाल आउने के कारण रह्यो होला ? आम जिज्ञासा पनि सकारात्मक र नकारात्मक दुवै देखिएका छन् । कसैले सकारात्मक त कसैले कूटनीतिक मर्यादा विपरितको भ्रमण भनेका छन् । कसैले बाम गठबन्धन तोड्न त कसैले यो भ्रमणबाट दुवै देशको मित्रता प्रगाढ भएको भनेका छन् । भारतीय विदेश मन्त्री दुई दिने भ्रमण सकेर १९ गते फर्केपछि पनि  प्रतिक्रिया आउने क्रम रोकिएको छैन । खास गरि नकारात्मक प्रतिक्रियाले बढि स्थान पाएको छ ।
 
राजनीतिक, सामाजिक, धार्मिक समानताको तथा भौगोलिक सुगमताको आधारमा भारतसंगको मैत्री सम्बन्ध शताब्दियौं पुरानो हो । प्राकृतिक रूपमा बनेको यो सम्बन्ध बेला बेलामा असन्तुलित भई विषम अवस्था पनि भोगेको छ भने गलती सच्चिएर सम्बन्ध सुधारिएको पनि छ । नेपालका राजनीतिक पार्टीहरूले भारतलाई आफ्नो स्वार्थमा बढि प्रयोग गरेका छन् ।
 
प्रधानमन्त्री, मन्त्री बनाउनेदेखि कर्मचारी सरूवा, बढुवा, नियुक्ति समेतमा भारतको प्रयोग गराउने राजनीतिक दलहरूले यसरी नेपाली राजनीतिमा भारतको दखल बनाएका थिए । भारतको सम्बन्धलाई लाभको कसौटीमा आक्ने, पूरा नहुँदा विरोध गर्ने चलन सधैं देखा परेको हो । भारतको विरोध वार्गेनिङको माध्यम पनि बनेको कतिपय उदाहरण छ ।
 
यसरी अर्थहीन साना कुरामा भारतमाथि आश्रित रह्ने राजनीतिक दलहरूले भारतको उपस्थितिबिना राजनीति नै गर्न नसक्ने अवस्था बनाएकोले भारतको उपस्थितिलाई हस्तक्षेप भन्नुको तात्पर्य के हो ? यसरी अनावश्यक सधैं प्रयोगमा ल्याउँदा भारतमा हेपाहा प्रवृति विकसित हुनु स्वाभाविक हो । भारतको काँग्रेस (आई) सरकारले नेपाली राजनीतिको संस्कारलाई राम्ररी बुझेका थिए । भक्तहरूले आह्वान गर्दा तुरून्त प्रकटिने, बरदान दिने र अन्तध्र्यान हुने नियमित प्रक्रिया थियो । यहाँका राजनीतिक भक्तहरूको भाषा, संस्कृति र व्यवहारको प्रष्ट अर्थ बुझ्ने काँग्रेस (आई) सरकारको पतन भएपछि नवोदित मोदी सरकारलाई नेपाली राजनीतिको भाषा, संस्कृति बुझ्न धेरै ढिला भयो । बुझ्दा बुझ्दै परिस्थिति प्रतिकूल भयो र नेपाली राजनीति विरोधको कित्तामा देखियो । 
 
मोदी सरकारको उदय हुनुभन्दा पूर्वदेखि नेपाली राजनीतिमा चीनको प्रभाव गहिरिन लागेको थियो । नेपाली राजनीतिमा भारतको उदासीनता बढेदेखि आर्थिक सहयोगका साथ चीनको सक्रियता बढ्नु स्वाभाविक थियो । चीनसंगको नवीन सम्बन्ध आर्थिक सहयोगको आधारमा बढेकोले यसको प्रगाढता दिनानुदिन बढ्दै गयो । मोदी सरकारको नेपालसंग सम्बन्ध नबनेकै अवस्थामा नाकाबन्दीको आरोप खेप्नु प¥यो । भारतसंग विरोध भई रहँदा चीनसंगको सम्बन्ध सुदृढ हुन पुग्यो । चीनले पनि एमालेलाई नेपालको सशक्त पार्टी बनाउन प्रशंसनीय भूमिका नै खेल्यो । परिणाम स्वरूप आज बाम गठबन्धन शक्तिशाली स्थिर सरकार दिन तयार बेसेको छ । 
 
चीनसंगको प्रगाढ मित्रता तथा भारतसंगको सम्बन्ध तनावको अवस्थामा रहेकोले बन्न लागेको शक्तिशाली बाम गठबन्धनको स्थिर सरकारले शक्ति असन्तुलनको आशंकामा भारतसंग सहकार्य गर्ने ईच्छा जाहेर गरेको छ । हिमाल पारिका अप्रत्यक्ष देउताभन्दा खुला सिमानाका दुश्मनबाट बढि खतरा हुने उद्देश्यले नै भारतसंग भावी बाम गठबन्धनको सरकारले सहकार्यको आह्वान गरेको छ । चीनको प्रभावमा चुल्र्लुम्म डुबेको बाम सरकार भारतसंग मैत्रीपूर्ण सहकार्यको कति सफल अभिनय गर्न सक्छ, यो हेर्न बाँकी छ ।
 
दुवै महाशक्ति देशसंग काखा र पाखा लगाउने परराष्ट्र सम्बन्धले नेपाली राजनीतिलाई सहज रूपमा चल्न नदिने कतिपय उदाहरण रहेकोले यस्तो असन्तुलनलाई हटाउन बाम सरकारको ठूलो चुनौती हो । केपी शर्मा ओलीले भारतसंग सहकार्य गर्ने अभिव्यक्ति सार्वजनिक गरे लगत्तै भारतको विदेश मन्त्रीले सद्भावपूर्ण भ्रमण गरि सहकार्य गर्न भारत तयार रहेको स्वीकृति दिएका छन् । भारतीय विदेश मन्त्रीको अप्रत्याशीत नेपाल भ्रमणबाट आउने नकारात्मक प्रतिक्रियाले एकतिर बाम गठबन्धनलाई आशंकित गरेको छ भने समर्थक शक्तिहरूले भारतको सक्रियता बढ्न लागेको आश गरेका छन् ।
 
नेपालको भूमिमा चीनको अतिशय प्रभाव भारतको लागि खतरा महसूस गर्ने भारतले सम्भवतः आफ्नो सक्रियता नेपालमा बढाएको हुन सक्दछ । यो बाम गठबन्धनको लागि अनुकूल प्रतिकूल के हुने भन्ने समयले देखाउला । 
 
मन नपर्ने मानिसको लुगा गन्हाउने उखान अनुसार तथा नेपालले एकपक्षीय व्यवहारका आधारमा सम्बन्धलाई मैत्रीपूर्ण बनाउन कठीन मात्र होईन, असम्भव देखिन्छ । अब शुरू हुने केपी शर्मा ओलीको कुशल नेतृत्वको अग्निपरीक्षा सफलता वा असफलता के नतिजा दिने आगामी दिनले तय गर्नेछ । राजनीतिक असन्तुलनले सहजता होईन, विषमता मात्र जन्माउने काम गर्दछ, विगतका अनुभवले देखाएको छ । बन्न लागेको बहुमत प्राप्त बाम सरकारको कार्यकाल सफलतापूर्वक सम्पन्न होस् हाम्रो शुभकामना !