मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

प्रधानमन्त्री के.पी. ओलीलाई खुलापत्र

प्रधानमन्त्री के.पी. ओलीलाई खुलापत्र


सम्माननीय प्रधानमन्त्री के.पी.ओलीज्यू, 
 
तपाइँ राजनीतिको मुलधारमा आएर देशको हर्ताकर्ता भएको नै २७ वर्ष पूरा भइसकेछ । त्यस पूर्व किशोर अवस्थादेखि नै अनेक यातना र लामो जेल जीवन बिताउँदै पञ्चायती निरंकुशताको विरुद्ध लड्नु भयो । तपाईंका कयौं हितैषी सहकर्मीहरु मारिए । त्यस बेलाको तपाईंको लडाईं सत्ताशक्ति र आफ्नो वैभवको लागि मात्र थिएन । विपन्न गरिबीको रेखामुनि रहेका करोडौं निमुखा जनताको पक्षमा न्यायपूर्ण र अग्रगामी शासन ल्याउने सपना पाल्नु भयो । विकास, समृद्धि र सामाजिक न्यायको पक्षपोषणको बलिदानी संघर्षमा होमिनुभएको थियो ।                                                                                                                                                                                                                                                                यतिखेर मुलुकले धेरै राजनैतिक उपलब्धि प्राप्त गरिसकेको छ । तर लामो संक्रमणकाल र कमजोर तथा उदासीन सरकारका कारण भ्रष्टाचार, दण्डहीनता, माफियातन्त्र, तस्करी, व्यापारिक सिण्डिकेट, कार्टेलिंग लगायतका अनगिन्ती विकृत्ति संस्थागत रुपमा मौलाएको छ । यसलाई कडाईका साथ नियन्त्रण नगरी विकास र समृद्धिको यात्रा तय हुनै सक्दैन । जनताको अधिकारको लामो लडाईं समाप्त भयो तर यस अवधिमा आम नेपाली जनता र सिंगो अर्थतन्त्र नै दोहन गर्ने भ्रष्ट असुर साम्राज्य निर्माण भइसकेको छ । जनताले तपााईलाई शक्तिशली कार्यकारी प्रमुखको रुपमा हेरिरहेको छ र निकै आशावादी छन् । नेपालको इतिहासले तपाईंलाई विगतका प्रधानमन्त्रीहरु जस्तो सत्ता टिकाउने, आफ्ना वरिपरिका स्वर्थसमूहको हितमा काम गर्ने र कुशासनको चक्रब्यूहमा रमाएर दोषजति अरुलाई लागाउने मौका दिने छैन । देशमा मौलाएको भ्रष्टाचार, कुशासन र राक्षसीरुप ग्रहण गरिसकेको माफियातन्त्रको पहाडलाई डोजर लगाउने महाअभियानको सुरुवात मात्र गर्नुहोस्, थेग्नै नसक्ने जनसमर्थनको लहर तपाईंसँग हुनेछ ।
 
देशप्रतिको महान जिम्मेदारीवाट तपाईंहरु च्युत हुनुभयो र फोहरी राजनीतिको दुष्चक्रमा मुलुक फेरि फस्यो भने याद गर्नुहोस् देशको भाग्य र भविष्यसँग जोडिएको यो ऐतिहासिक अवसरमात्रै गुम्ने छैन, हिंसा र अशान्ति मुलुकमा पुर्नोदय हुनेछ, देशको न्यायसमेत मर्नेछ । राजनीतिलाई नैतिकता र सदाचारको बाटोमा ल्याउनुहोस् । भ्रष्टाचार, दण्डहीनता, सस्थागत भइसकेको लुटतन्त्रलाई नियन्त्रण गर्न कठोर कदम चाल्नोस् नेपाली जनताको साथ र समर्थनको तरंग पैदा हुनेछ ।  मुलुक आत्मनिर्भर अर्थतन्त्र, विकास र समृद्धिको वाटोमा स्वतःस्र्फूत रुपमा अगाडि बढ्नेछ । 
 
विश्वका थुप्रै मुलुक बनाउने श्रेय पाएका राजनेताहरुको सूचीमा तपाईंको नाम अनन्तकालसम्म नेपाली सन्ततिहरुले स्मरण गर्नेछन् । इतिहासले सुम्पिएको युगान्तकारी कार्यभार पूरा गर्न नेपालको कार्यकारी प्रमुखको हैसियतले तपाईंले चाल्नुपर्ने प्रारम्भिक कदमहरु म बुँदागत रुपमा प्रस्तुत गर्दछु ।
 
१) पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा तपाईं प्रभावशाली गृहमन्त्री हुनुहुन्थ्यो । स्मरण रहोस्, वहाँ कमजोर सत्ता टिकाउने खेलमा नलागी ग्रामीण वस्तीको अन्तिम विन्दुसम्म केन्द्रले मात्रै हालीमुहाली गर्दै आएको बजेट वितरण गरी आम ग्रामीण जनतालाई पहिलोपटक आफ्नै सरकार भएको अनुभूति दिनुभयो । थोरै बजेटले पनि ग्रामीण वस्तीको मुहार फेरियो । छोटो समय सत्तामा रहे पनि वहाँ नेपाली जनतामाझ चीर स्मरणीय रहनु भएको छ । वहाँले देखाएको बाटो अवलम्बन गर्नुहोस् । 
 
२) राजनीतिलाई सदाचारको मार्गमा ल्याउन, नेता तथा सभासद्हरुलाई जनमुखी बन्न, पदीय दायित्व कटिबद्धताका साथ वहन गर्न र कुनै पनि स्वार्थ समूहहरुको एजेण्डा नवोक्न कडा निर्देशन दिनुहोस् । जनताले दिएको जनादेश जनतामा राज गर्न होइन, इमान्दार सेवक बन्ने कर्तव्यवोध गराउन आवश्यक प्रशिक्षण र कडा निर्देशन दिनुहोस् । फोहर नदी सफा गर्ने सुरुवात मुहानबाटै हुनुपर्छ । 
 
३) आचरण र कुसंस्कृति सच्याई सदाचार कायम गर्न दैनिक १२ देखि १४ घण्टासम्म काम गर्न तयार रहने कर्तब्यनिष्ट नेताहरुलाई मन्त्री बनाउनोस् । मन्त्रीहरुलाई उद्घाटन र अतिथि बनेर भाषण गर्ने  तथा भोज भतेरमा रम्ने प्रबृत्तिको अन्त्य गरी आफू मातहतका मन्त्रालय विभागमा सुशासन कायम गर्न, नीति निर्माण गर्न, जिम्मेदारी अब्बल ढंगबाट निभाउन कडाईका साथ निर्देशन दिनुहोस् । 
 
४) भारतसँगको व्यापारघाटा एकहजार अर्बको हाराहारीमा पुगिसकेको छ । लगानी र कालोधनको ठूलो हिस्सा भूमाफियामार्फत् जग्गा खरिद गरी कब्जा गर्ने र मूल्य कयौँ गुना वृद्धि गरी अकुत कमाउनेतर्पm माफियाहरु आकर्षित छन् । ५ करोडको जग्गा खरिद गर्ने तर ३० लाखमा खरिद गरेको देखाउन सहजै पाइने भएकोले खर्बौको कालो धन अर्थतन्त्रमा सहजै व्यवस्थापन भैरहेको छ । मालपोत कार्यालयमा कडाईका साथ नियन्त्रण गर्ने हो भने हो भने पनि पचासौं अर्बको राजश्व बढ्ने र लगानीको ठूलो हिस्सा उत्पादनको क्षेत्रमा लगानी हुने, रोजगारी ह््वात्तै बढ्ने र व्यापार घाटा ओरालो लाग्दै जाने छ । भूमिको अबिलम्ब वर्गीकरण गरी कृषि भूमिको संरक्षण गर्नुहोस् ।
 
५) शक्तिमा रहेका नेपाली नेताहरु अधिकांश समय विभिन्न स्वार्थ समूह र माफियाहरुसँग घेरिएर रहेका हुन्छन् । उनीहरुकै सल्लाह र उठबसका कारण पनि मुलुक भ्रष्टाचार र कुशासनको दलदलमा फसेको निष्कर्षमा आमनेपाली जनता पुगिसकेका छन् । यो प्रवृत्तिमा आमूल परिवर्तन ल्याउनुहोस् । आत्मबोध गर्नुहोस्, तपाईंको इच्छाशक्ति, जाँगर र कदमसँग मुलुकको भाग्य र भविष्य जोडिएको छ ।
 
६) वार्षिक १००० अर्ब रुपैयाँको रेमिटेन्सको नदी मुलुकमा प्रवाहित हुनुका कारण नेपालको अर्थतन्त्र चलायमान भएको यथार्थलाई आत्मसात् गरी त्यसलाई त्यसलाई दोहन र शोषण गर्ने माफिया सञ्जाल अन्त्य गर्ने पहल गरियोस् । त्यसलाई उत्पादक क्षेत्रमा लगानी गर्ने बातावरण बनाइयोस् । 
 
७) विकास निर्माणको क्षेत्रमा ठेकेदारहरुबाट हुने ढिलासुस्ती, कमिशन, ठूला परिमाणमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्ने कार्ययोजना ल्याउनुहोस्, त्यसलाई कडाईका साथ कार्यान्वयनमा लैजानोस् । विकास र समृद्धिको पथमा मुलुक जाने छ । 
 
८) निर्वाचनमा पदको लागि मरिहत्ते गर्ने तर निर्बाचित भइसकेपछि काम नगर्ने अल्छी स्वभावका जनप्रतिनिधिहरु जनताले बेहोर्दै आएका छन् । सुविधा र कमाउने लुपहोलको खोजीमा रहनेहरुको संख्यासमेत उल्लेख्य छ । सार्वजनिक पद ओगटेर समाजको श्रेष्ठता प्राप्त गरेको भ्रममा रमाउने स्थानीय निकायदेखि माथिसम्म पनि यो प्रबृत्ति देखिएको छ । उनीहरुलाई आवश्यक प्रशिक्षण र निर्देशन दिइ गतिशील बनाई स्थानीय सरकारको कार्यक्षमता वृद्धि गर्ने कार्ययोजना ल्याइयोस् । 
 
९) विकास र समृद्धिको योजना र प्राथमिकता योजनाविद्, जनप्रतिनिधि एवम् सरकारनै बढी जानकार छ, यहाँमात्र सुशासन कायम गर्न ऐतिहासिक अवसर पाएको तपाईं नेतृत्वको शक्तिशाली सरकारले यो ऐतिहासिक दायित्व पूरा गरोस् भन्ने कामना गर्दछु । तपार्इंहरु सत्ता र शक्तिमा बस्नेहरुले देशको सबैतिर फलिफाप भएको देख्नुहोला । दृष्टिदोषको कालो चश्मा उतार्नोस् । चेतनास्तर र पहुँचका हिसाबले सबैभन्दा पिंधमा रहेका आमनेपालीहरुलाई सोध्नुहोस् फोहरी राजनीतिको निष्कर्म खेलले मुलुक कसरी क्यान्सरग्रस्त भएको छ । 
 
अन्त्यमा, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी एवम् अग्रगामी संविधान निर्माणको चरण मुलुकले पार गरेको छ । अबको सरकारको मुख्य दायित्व सुशासन र विधि व्यवस्था कायम गर्नु हुनेछ । राज्यका सबै निकायहरु, कर्मचारीतन्त्र एवम् नियमनकारी निकाय, न्यायीक अंगसमेत भ्रष्टा र निकम्मा भएको अबस्था छ । राज्ययन्त्रहरुका कार्यक्षमता पूर्णरुपमा ह्रा्रस भइसकेको छ । राज्यका यी राज्यसंयन्त्र नवीकरण गर्ने र मुलुकमा व्यप्त विसंगतिको पहाड भत्काउने महत्वपूर्ण कार्यसूची पूरा नगरी विकास र समृद्धिको यात्रा निरर्थक दिवास्वप्न हुनेछ । 
 
सम्माननीय प्रधानमन्त्रीज्यू, विकास र समृद्धिको यात्राको महाअभियान्ता बन्ने अवसरलाई जुनसुकै कठिनाइसँग जुध्दै अगाडि बढ्नोस्, नेपाली जनता तपाईंको साथमा छ ।
 
गोकुलदास श्रेष्ठ, वर्ष ८०
अध्यक्ष 
जेष्ठ नागरिक समन्वय समिति  
रत्ननगर नगरपालिका, चितवन